Logo

Hello NEw

मन्त्रालयले बाँडेको एम्बुलेन्स नचलाउँदै थन्किए, चलाउन मान्दैनन् चालकहरु



डोटी, २४ पुस । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बाँडेको १६ वटा एम्बुलेन्समध्ये अधिकांश एम्बुलेन्स सञ्चालनमा नआउँदै थन्किएका छन् ।

सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकहरुले त्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेको ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै मान्दैनन् ।

सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्सभन्दा पुरानै विभिन्न सङ्घ संस्थाले दिएका एम्बुलेन्स चलाउन सजिलो र सुरक्षित लाग्ने गरेको एम्बुलेन्स चालकहरुको भनाई छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले गएको कात्तिक २० गते सुदूरपश्चिममा १६ वटा एम्बुलेन्स वितरण गरेको थियो । मन्त्रालयले बाँडेका एम्बुलेन्स अहिले धामाधम बिग्रिन थालेको छ ।

डोटी अस्पतालका एम्बुलेन्स सामाजिक विकास मन्त्रालयले दिएको एम्बुलेन्सको ब्रेक नलाग्ने, ब्रेक लगाउँदा झट्का दिने, उकालोमा गाडी तात्तिएर अत्यन्त गन्हाउने, मोडमा घुमाउन गाह्रो हुने, अलिकति गति दौडाए पल्टिन खोज्ने लगायतका समस्या भएको बतायँछन् ।

निःशुल्क प्रदान गरिएका एम्बुलेन्समा ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई निःशुल्क र सुत्केरीलाई ५० प्रतिशत शुल्क लिएर सेवा दिन सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएका एम्बुलेन्स अति जोखिमपूर्ण र खर्चिला भएका कारण चलाउन सक्ने अवस्था नभएको एम्बुलेन्स पाएका यहाँका जिल्ला अस्पतालहरुले जनाएका छन् । कतिपय एम्बुलेन्सको ईसीजी मनिटर पनि खसिसकेको चालकहरु बताउँछन् । एम्बुलेन्स दिए पनि सबै सुविधा र साम्रगी भने नदिइएको स्वास्थ्य चौकी र अस्पतालका कर्मचारीहरुले गुनासो गरेका छन् ।

डाक्टर, नर्स र आईसीयू सहितको सुविधा हुने भनिए पनि एम्बुलेन्समा ईसीजी सेवामात्र रहेको चालकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्