Hello NEw
सवारी लाइसेन्सको लिखित परीक्षा कम्प्युटर प्रणालीबाट,
काठमाडौं, २४ पुस । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा अब कम्प्युटर प्रणालीबाट लिने भएको छ । लाइसेन्सको लिखित परीक्षामा समेत अनियमितता भएको पाइएपछि विभागले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि लाइसेन्सको परीक्षा दिन चाहनेले अनलाइन फारम भर्नु पर्नेछ । फारम भरेपछि लिखित परीक्षाको मिति स्थान र समय पाइन्छ । सोही आधारमा सम्बन्धित यातायात कार्यालयमा गएर कम्प्युटरमार्फत लिखित परीक्षा दिन सकिने छ ।
विभागका अनुसार कम्प्युटरमा प्रश्न पहिले नै सेट गरिएको हुनेछ, त्यसको उत्तर परीक्षार्थीले दिनुपर्छ। कम्प्युटरमै तत्कालै पास फेल थाहा हुन्छ। त्यसपछि सो विवरण यातायातको सर्भरमा जान्छ। लाइसेन्स लिनेसँग कम्तीमा सवारीसाधनको यान्त्रिक अवस्था, गाडी भित्रको विभिन्न यन्त्र उपकरणको सामान्य ज्ञान हुनुपर्नेछ । लाइसेन्स लिनुअघि सवारीसाधनको बारेमा पनि जानकारी लिएर मात्रै चलाउने वातावरण बनाउन कम्प्युटर प्रणालीमार्फत परीक्षा लिन लागेका हो ।
विभागले अटोमेसनमा जानका लागि सफ्टवेयर तयार पारिरहेको छ । कम्प्युटरबाट परीक्षा दिनका लागि आवश्यक सबै पूर्वाधार बनाउन केही महिना लाग्ने हनुमान छ । विभागका अनुसार दैनिक सात हजारले परीक्षा दिन मिल्ने पूर्वाधार तयार पारिनेछ । ठूला सार्वजनिक सवारीसाधनका लागि दिइने लाइसेन्सको प्रयोगात्मक परीक्षा समेत केही परिवर्तन गर्न लागिएको समेत जनाएको छ ।
संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा नै व्यवस्था गरेर ठूला सवारीसाधनका लागि लिइने लिखित र प्रयोगात्मक दुवै परीक्षामा केही परिवर्तन गर्न लागिएको हो ।
यसका लागि तीन महिने कोर्ष नै राख्ने प्रस्ताव गरिएको छ। विभागका अनुसार सवारीको यान्त्रिक जानकारी र यात्रुसँग गर्ने व्यवहार लगायतका विषय समावेश हुनेछन् । सोही कोर्ष पढेर परिक्षार्थिले लिखित परीक्षा दिनुपर्ने हुन्छ ।
अहिलेको ट्रायलसँगै फिल्डमा टेष्ट समेत हुनेछ। ट्रायल पास गरेको करिब ६ महिना अवधिलाई ट्रायल पिरीयड (परीक्षणकाल) राखिने छ । ६ महिनामा राम्रो रिपोर्ट कार्ड भए मात्रै विभागबाट लाइसेन्स पाइन्छ। यो अवधिमा कुनै दुर्घटना भएमा लाइसेन्स लिन पुनः केही महिनाको ट्रायल पिरीयड दिइने छ।
