Hello NEw
आर्थिक हिसाब माग्दै विद्यालयमा तालाबन्दी
सिरहा, २४ पुस । लक्ष्मीपुर पतारी गाउँपालिका–५ पथलगारास्थित आधारभूत विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षले तालाबन्दी गरेका छन् । अध्यक्ष विजयकुमार यादवले अध्यापनमा सुधारका साथै विद्यालयको आर्थिक हिसाब सार्वजनिक गर्न माग गर्दै बुधबार तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि शिक्षकले हाजिरी गर्न नपाए पनि पढाइ भने नियमित नै छ ।
अध्यक्ष यादवले गत पुस १३ गते प्रशासन कक्षमा ताला लगाएका छन् । एक हप्ता शीतलहरमा बिदा गरिएको थियो । आइतबारदेखि विद्यालय खुले पनि ताला खुलेको छैन । भवन निर्माण र खाजा कार्यक्रममा प्रधानाध्यापक राजदेव यादवले अनियमितता गरेको अध्यक्ष यादवको आरोप छ । कक्षा १ देखि ५ सम्ममा १७२ जना विद्यार्थीले नामाकंन गराएका छन् । जसमध्ये अधिकांश दलित समुदायको रहेको यादवले बताए ।
०७४ सालमा विद्यालयमा दुईकोठे भवन फर्निचरसहित निर्माणमा भ्रष्टाचार भएको छ । यस विद्यालयमा आर्थिक वर्ष ०७३/०७४ मा दुई कोठे भवन फर्निचरसहित १७ लाख ९९ हजार १५३ रुपैयाँ लागतमा निर्माण भएको छ । बनेको एक वर्ष नपुग्दै भवनको पलास्टर उप्किन थालेको छ । पूरा फर्निचर अहिलेसम्म खरिद गरिएको छैन । विद्यालयमा दुई वर्षदेखि सामाजिक परिक्षण समेत भएको छैन् ।
