Hello NEw
जनप्रतिनिधिबीचको रस्साकस्सीले गाउँपालिकाको सेवा प्रभावित
महोत्तरी, २५ पुस । जनप्रतिनिधिबीचको रस्साकस्सीले सम्सी गाउँपालिकामा सरकारी सेवा प्रभावित भएका छन् । अध्यक्ष शेष फारुख र उपाध्यक्ष नगिना यादवको बेमेलले गाउँसभाका निर्णय कार्यान्वयन हुन नसक्दा गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सबै सेवा प्रभावित भएका हुन् ।
अहिले गाउँ कार्यपालिकाको कार्यालयमा ताल्चा भुण्डिएको छ । घरधनी रामभरत रायले सहमतिअनुसार पछिल्ला छ महिनायताको घरभाडा नपाएको भन्दै गत बुधबार नै ताल्चा झुण्ड्याइदिएपछि कार्यालयबाट दिइने सेवा अवरुद्ध छ । गाउँपालिकाभित्रका चार माध्यमिक, तीन आधारभूत र तीन मदर्शा (उर्दु भाषाको पठनपाठन हुने विद्यालय) सहित १० विद्यालयका ६६ शिक्षक अहिले आन्दोलित भएका छन् ।
चालू आर्थिक वर्ष २०७६र७७ को प्रारम्भदेखिकै तलब भत्ता नपाइएपछि कर्मचारी धर्नामा बस्नुपरेको नेपाल शिक्षक महासङ्घ गाउँपालिकाले जनाएको छ । कार्यालय र विद्यालयसँगै गाउँपालिका क्षेत्रमा स्वास्थ्य सेवा पनि अस्तव्यस्त भएको छ ।
गाउँपालिकामा लामो समयदेखि कार्यपालिकाको बैठक र गाउँसभा हुन नसक्दा कुनै योजना छानिने, आर्थिक व्यवस्थापन गरिने र कार्यालय सञ्चालनका काम व्यवस्थित हुन सकेका छैनन् । पछिल्लोपटक गत मङ्सिर १९ गते भएको गाउँसभा पनि विवादित भएपछि गाउँपालिका थप अस्तव्यस्त बनेको छ। विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा भारतीय सीमावर्ती यो गाउँपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार नै अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य निर्वाचित भएका हुन् ।
