Hello NEw
माघ १ देखि एक हप्तासम्म राष्ट्रिय योग दिवस

काठमाडौँ, २८ पुस । सरकारले ‘राष्ट्रिय एकताः योगको सान्दर्भिकता’ भन्ने नाराका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा मनाइँदै आए पनि नेपाल सरकारले २०७२ सालदेखि माघ १ गते राष्ट्रिय दिवस पनि मनाउन थालेको हो । माघ १ देखि ७ गतेसम्म केन्द्र, प्रदेश र स्थानीय तहमा समेत विभिन्न कार्यक्रम गरी दिवस मनाइनेछ ।
दिवसको तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
दिवसबारे जानकारी दिन आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले योगलाई जीवन दर्शनका रुपमा विकास गरी नेपाललाई योगको उर्वर भूमिका रुपमा आन्तरिक र अन्तरराष्ट्रियरुपमा परिचित गराउन राष्ट्रिय योग अभ्यासक्रम निर्माण गर्ने तथा प्राविधिक धार र उच्चशिक्षामा समेत योग विषयको पठनपाठन गराउने तयारी गरिएको बताए ।
