Hello NEw
जाडो बिदा कार्यान्वयन गर्न अन्तरिम आदेश
इलाम, २८ पुस । उच्च अदालत विराटनगरको इलामस्थित इजलाशले महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुखले जारी गरेको जाडो बिदाको सूचना नै कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू शिवनारायण यादव तथा विष्णुप्रसाद कोइरालाको संयुक्त इजलाशले क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले दिएको पुस १६ देखि माघ ८ गतेसम्मको बिदा नै सदर गर्न अन्तरिम आदेश दिएको हो ।

क्याम्पस प्रमुखले जाडो बिदाको सूचना जारी गरेपछि पुनः अर्को मिति तोकेर क्याम्पस सञ्चालक समितिले अर्कै सूचना निकालेको थियो। आफ्नो अधिकारमाथि हस्तक्षेप भएको भन्दै प्रमुख गुरागाईंले गत २२ गते सञ्चालक समिति र सहायक क्याम्पस प्रमुख प्रेम लुइँटेललाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।
आइतबार भएको बहसपछि जारी अन्तरिम आदेशमा भनिएको छ, ‘सुविधा र सन्तुलनको दृष्टिबाट तथा छात्रछात्राहरूको सर्वोत्तम हितलाई मध्यनजर गर्दा पहिलो सूचनालाई अंगीकार गरी मिति २०७६र९र१० देखि क्याम्पसमा पठनपाठनलगायका कार्य सञ्चालन गर्नुरगराउनु भनी यो निवेदनको अन्तिम किनारा नलागेसम्म उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाउँमा अन्तरिम आदेश हुने ठहर्छ।’ क्याम्पस प्रमुखबाट जारी सूचनाबमोजिम क्याम्पसमा बिदा भइसकेपछि पुनः अर्को सूचना प्रकाशित गरी बिदा गरिरहनुपर्ने नदेखिएको अदालतको अन्तरिम आदेशमा उल्लेख छ ।
निवेदकको तर्फबाट अधिवक्ताहरू हिरण्यप्रसाद अधिकारी, खगराज कट्टेल र तारानिधि घिमिरे तथा विपक्षीको तर्फबाट मदन खड्काले बहस गरेका थिए।
प्रमुख गुरागाईंले यो वर्षको जाडो बिदा पुस १६ देखि माघ ८ गतेसम्म तोकिएको सूचना पुस १५ मा निकालेका थिए । आफ्नो कार्यकक्षमा आन्दोलनरत विद्यार्थीको तालाबन्दी भएका कारण उनले हस्तलिखित सूचना जारी गरेका थिए । तर, क्याम्पसकै लेटरप्याडमा पुस २२ देखि माघ १५ सम्म यो वर्षको हिउँदे बिदा तोकिएको सूचना पुस २० मा जारी गरिएको थियो ।
