Logo

Hello NEw

सरकारी कर्मचारी बढी भ्रष्टाचारी, तलब वृद्धि गर्न अख्तियारको सुझाव



काठमाडौं, २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमान कम भएकै कारण भ्रष्टाचार बढेको भन्दै कर्मचारीको तलब वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार प्रस्तुत गरेको २९ औँ वार्षिक प्रतिवेदनले यस्तो सुझाव दिएको हो ।

आयोगले आव २०७५/७६ मा विशेष अदालतमा दायर भएका ३५१ मुद्दामा ८९४ लाई प्रतिवादी बनाउदै चार अर्ब पाँच करोड ३७ लाख ६३ हजार ८८ बराबरको बिगो माग दाबी गरिएको छ । प्रतिवादी बनाइएकामध्ये अधिकृत तहका कर्मचारी २५६, सहायक, सहयोगी कर्मचारी ३८४, निर्वाचित एवं मनोनित पदाधिकारी ९५, विचौलिया १५९ रहेका छन् ।

विद्यमान निर्वाचन प्रणालीले भ्रष्टाचार बढायो

आयोगले विद्यमान निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको निष्कर्ष निकाल्दै त्यसमा सुधारको आवश्यकता औँल्याएको छ । खर्चिलो निर्वाचन प्रणालीका कारण निर्वाचन पश्चात् महङ्गी बढ्नुका साथै भ्रष्टाचारसमेत बढ्नसक्ने तथ्य औँल्याइएको छ ।

भ्रष्टाचार न्यूनीकरणका लागि खर्चिलो निर्वाचन प्रणालीमा पुनरावलोकन आवश्यक रहेको छ । निर्वाचनका प्रमुख सरोकारवाला संस्था, राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारले प्राप्त गर्ने चन्दा र अन्य आय बैंकिङ प्रणालीबाट मात्र लिने व्यवस्था मिलाई आयव्यय बैंकिङ प्रणालीमा आवद्ध गरी पारदर्शिता कामय गर्नुपर्ने आयोगको सुझाव छ ।

यस्तै राष्ट्रसेवक कर्मचारीको तलबमान कम हुँदा भ्रष्टाचार नियन्त्रणमा कठिनाइ भएको आयोगको ठहर छ । सरकारलाई ८१ वटा सुझाव दिँदै आयोगले राष्ट्रसेवक कर्मचारीको तलबमानमा पुनरावलोकन गर्न सुझाव दिएको हो ।

मूल्यवृद्धि तथा खर्चभन्दा आम्दानी कम भएका कारण राष्ट्रसेवक कर्मचारीले घुस लिने गरेका भन्दै तलबमानमा वृद्धि भए भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने आयोगको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्