Hello NEw
उपत्यकाका १८ वटा पेट्रोल पम्प अन्यत्र सारिदै
काठमाडौं, १ माघ । उपत्यकाका १८ वटा पेट्रोल पम्पहरु साबिकका ठाउँबाट अन्यत्र सारिने भएको छ । सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याउँदै यस्तो निर्णय गरेको हो । योजना अन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्ने सम्मका विषय समेत समेटिएका छन् । कार्ययोजना अनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ ।
उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ । कोटेश्वर–जडिबुटी चोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १२४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ ।
मन्त्रिपरिषदबाट पारित भएर कार्यान्वयन चरणमा रहेका उक्त योजनालाई ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी अल्पकालीन कार्ययोजना ०७६’ नाम दिइएको छ । गत १५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकबाट पारित योजना कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायमा पत्राचार गर्दै निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले गरेको पत्राचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयन गर्न पत्राचार गर्दै निर्देशन दिइसकेको छ ।
कार्ययोजनामा कुन काम कुन निकायले गर्ने र कति समयभित्र गरिसक्ने भन्ने तोकिएको छ । प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालय, सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, अन्य नगरपालिका तथा महानगरीय ट्राफिक प्रहरीलगायत सरोकारवाला निकायलाई कार्य योजनामा तोकिएको समयसीमाभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।
काठमाडौं उपत्यकामा घन्टौंसम्म ट्राफिक जाम हुने गरेको छ । सर्वसाधारणले ट्राफिक व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गर्दै आएको अवस्थामा सरकारले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गराएर कार्य योजना ल्याएको हो । कार्ययोजनामा ३७ विषयलाई उच्च प्राथमिकतामा राख्दै कुन निकायले कुन काम कहिलेसम्म गर्ने भनेर किटान गरिएको छ ।
कार्ययोजनामा पेट्रोल पम्प सार्ने, ट्राफिक बत्तीको मर्मत तथा नयाँ जडान गर्ने, पेडेस्ट्रिअन लाइट, खाल्टाखुल्टी पुर्ने, कोटेश्वरको जाम हटाउन विकल्प खोजिने, नदी करिडोरको निर्माणमा तीव्रता दिने, जथाभावी होर्डिङ बोर्ड र पोल हटाउने, सार्वजनिक सवारी साधनमा पिक एन्ड ड्रप प्रणाली लागू गर्ने, युटर्न गर्न नदिने, वान वे बढाउने, फुटपाथ व्यवस्थापन गर्ने, रेलिङ निर्माण गर्ने, जेब्राक्रस मर्मत तथा नयाँ निर्माण गर्ने, सडक लेनको मार्किङ गर्ने, सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान तथा मर्मत गर्ने, ओभर हेड ब्रिज निर्माण गर्ने लगायतका विषयलाई समेटिएको छ ।
यस्तै, सरकारले काठमाडौं उपत्यकामा सञ्चालित १८ पेट्रोल पम्पलाई सार्ने भएको छ । कार्ययोजनामा नेपाल आयल निगम र सडक विभागलाई तत्कालै यो काम सुरु गर्न निर्देशनसमेत दिएको छ । कार्ययोजनाअनुसार निगम र विभागलाई बज्रबाराही पेट्रोल पम्प (चापागाउँ), बालकुमारी पेट्रोल पम्प (चापागाउँ), टीकाभैरव डिजेल स्टोर (चापागाउँ), कनक पेट्रोल पम्प (कालिमाटी), कोत थुकु पेट्रोल पम्प (बालाजु), जयन्ती पेट्रोल पम्प (थापाथली), मायाराम भोलाराम पेट्रोल पम्प ९थापाथली०, बाबा पेट्रोल पम्प (कलंकी), श्यामा पेट्रोल पम्प (कलंकी) लाई अन्यत्र सार्न निर्देशन दिएको छ ।
यस्तै, त्रिशूल पेट्रोल पम्प (कलंकी), भ्याली रिकेश पेट्रोल पम्प (कोटेश्वर), कामाख्या पेट्रोल पम्प (कोटेश्वर), जुबी पेट्रोल पम्प (बौद्ध), बराल पेट्रोल पम्प (बौद्ध), साझा पेट्रोल पम्प (जावलाखेल), एचपी इन्टनेसनल (जावलाखेल), गायत्री पेट्रोल पम्प (जावलाखेल) र सीता पेट्रोल पम्प (महाराजगन्ज) पनि अन्यत्र सर्ने सूचीमा छन् ।
