Logo

Hello NEw

आज २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस



काठमाडौं, २ माघ । वि.सं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो । वि.सं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो । दिवस मनाउन थालेपछि वि.सं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए । नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन् । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल रानीपोखरीको काम चार वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रम अघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा गरिदैछ ।

दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी चेतना जगाइएको छ । दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ । यस अवसरमा काठमाडौँ र ललिपुर महानगरपालिकाले पनि आज विशेष कार्यक्रम गर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्