Hello NEw
४१ मेनपावर कम्पनी र सञ्चालकविरूद्ध अनुसन्धान सुरू, को-को परे ?
काठमाडौं, २ माघ । ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान थालेको छ ।
वैदेशिक रोजगारीमा पठाएबापत गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको प्रारम्भिक रिपोर्टपछि विभागले मेनपावर कम्पनी र त्यसका सञ्चालकको सम्पत्ति छानबिन सुरु गरेको हो ।
स्रोतका अनुसार विभागले मेनपावर कम्पनी र सञ्चालकलाई अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ । विभागबाट अनुसन्धान अधिकार पाएपछि ब्युरोले एकैसाथ ४१ वटै मेनपावर कम्पनीको सम्पत्ति खोज्न थालेको हो ।
अनुसन्धान थाल्ने सिलसिलामा ब्युरोले हालै ती सबै मेनपावर कम्पनीको सेयर, लागत, तथा सञ्चालकको विवरणसहितको प्रबन्ध पत्र उपलब्ध गराउन कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार समेत गरेको छ । यस्तै, आन्तरिक राजश्व विभागलाई कर बुझाए-नबुझाएको विवरण उपलब्ध गराउन ब्युरोले पत्राचार गरेको छ ।
स्रोतका अनुसार सञ्चालक र मेनपावरको बैंक खाता उपलब्ध गराउन राष्ट्र बैंकलाई पत्राचार गरिएको छ। ती मेनपावर कम्पनीले हालसम्म कति व्यक्तिलाई वैदेशिक रोजगारीमा कुन-कुन देश पठाएका छन्, सोको विवरण वैदेशिक रोजगार विभागसँग मागिएको छ ।
यी सबै पत्राचारको बोधार्थ ब्युरोले विभागमा दिएको स्रोतले बतायो । विभागले प्रभावकारी रूपमा ती मेनपावरमाथि अनुसन्धान गर्न ब्युरोलाई निर्देशन दिएको जनाइएको छ । अनुसन्धानको सुइँको पाएर प्रमाण लोप गराउन सक्ने आशंकामा ब्युरोले ती मेनपावर कम्पनी र सञ्चालकलाई उच्च निगरानीमा राखेको छ ।
कुनकुन मेनपावरमाथि हुँदैछ अनुसन्धान ?
अनुसन्धान थालिएका मेनपावर कम्पनीमा ट्रेन्स वर्ल्ड मेनपावर- प्रदर्शनीमार्ग, इन्टरनेशनल मेनपावर रिक्युमेन्ट- ग्वार्को, ब्लू ओसियन ओभरसिज- टोखा, खोजी रिक्युटमेन्ट सर्भिस- सानेपा, अल सेक्युर मेनपावर- सीनामंगल, संयोग ओभरसिज- तीनकुने, युनाइटेड एचआर सोलुसन- कोटेश्वर, निर्मल एचआर सोलुसन- चक्रपथ, सृष्टि ओभरसिज इम्पोइमेन्ट सर्भिस- नयाँ बानेश्वर, गुडविल इन्टरनेसनल, ह्याप्पी नेपाल इम्पोइमन्ट- बसुन्धरा, टाइगर ओभरसिज– धुम्बाराही, भर्टेक्स एचआर- चाबहिल, ओमेगा इन्टरनेशनल- पिंगलास्थान, एसभी एशोसिएट्स- महाराजगन्ज, पंगेनी ह्युमन रिसोर्सेज- सामाखुसी छन् ।
यस्तै, सदिक्षा ओभरसिज- सामाखुसी, मास ह्युमन रिसोर्सेज- गोंगबु, लिबर्टी एचआर कन्सलटेन्न- महालक्ष्मीस्थान ललितपुर, शेर्पा इन्टरनेशनल मेनपावर- सामाखुसी, ठैब राइज म्यानेजमेन्ट- अनामनगर, प्रिज्म ओभरसिज इम्पोइमेन्ट- लाजिम्पाट, खोपेरसी इन्टरनेसनल- टोखा, ग्रोथ प्रोसेस इन्टरनेसनल- बसुन्धरा, अल सामा इन्टरनेसनल इम्पोइमेन्ट- तीनकुने, डोस लिंक- सामाखुसी, एपोलो ओभरसिज सर्भिस- सामाखुसी, विज्ञान एभआर म्यानेजमेन्ट- चप्पल कारखाना छन् ।
यस्तै, वर्ल्ड मेनपावर आइएनसी- एमरोड, डि प्रोटोन मेनपावर सप्लायर्स- गौशाला, लालधनुष इन्टरनेसनल सर्भिस- बत्तीसपुतली, इन्टरनेसनल एचआर सोलुसन- काठमाडौं-८, इम्पोरियल ओभरसिज- सीनामंगल, राज ओभरसिज- काठमाडौं-३३, जस्मिन ओभरसिज प्रा.लि. (अभिनाश इन्टरनेसनल)- बसुन्धरा, अलरहिम मेनपावर- चप्पलकारखाना, लिभरपुल एचआर सोलुसन- स्वयम्भू, हाइटेक एचआर सोलुसन- मैतीदेवी, तिलिचो ओभरसिज-काठमाडौं-९, नाज ओभरसिज- बसुन्धरा र जी एन्ड पी इन्टरनेसनल ओभरसिज- बसुन्धरा रहेका छन् ।
सेतोपाटीबाट
