Hello NEw
बढुवा भएका ७१ जना उपसचिवलाई काठमाडौं बाहिरका स्थानीय तहमा पठाइने
काठमाडौं, २ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार बढुवा भएका ७१ जना उपसचिवलाई काठमाडौं बाहिरका स्थानीय तहमा पठाउने घोषणा गरेको छ। एक सय ८२ स्थानीय तह निमित्तले चलाइरहेको बेला मन्त्रालयले यस्तो घोषण गरेको हो ।
बुधबार बढुवा भएका ७१ जना उपसचिव प्रशासन सेवाका छन्। मन्त्रालयले प्रशासन सेवाका कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाउने गरेको छ । प्रशासन सेवाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउँदा सुब्बाले चलाएको स्थानीय तहमा सुब्बाको मातहतमा अन्य सेवाका अधिकृत तहका कर्मचारी बस्नु पर्ने बाध्यता रहेको छ। यस्तो बाध्यता हटाउन नयाँ उपसचिवलाई अनिवार्य रुपमा स्थानीय तहमा पठाउने सरकारले तयारी गरेको हो।
मन्त्रालयका अनुसार १ सय ८२ स्थानीय तहमा अहिले निमित्तले स्थानीय तह चलाएका छन् । यसैगरी एक दर्जनभन्दा बढी स्थानीय तहमा नायबसुब्बाले स्थानीय तह चलाएका छन् । कर्मचारी समायोजन ऐन २०७५ मा स्थानीय तह शाखा अधिकृत र शाखा अधिकृतभन्दा माथिल्लो तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने पर्ने प्रष्ट व्यवस्था छ ।
समायोजन ऐनमा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत शाखा अधिकृत तहको, नगरपालिकामा उपसखचिव सरहको, उपमहानगरपालिकामा सहसचिव सरहको तथा महानगरपालिकमा सहसचिव सरहको कर्मचारी प्रमुख प्रशासकीय अधिृकत हुने पर्ने व्यवस्था छ । काठमाडौं महानगरपालिकामा भने प्रमुख प्रशासकीय अधिृकत सचिव हुनु पर्ने व्यवस्था ऐनमा छ । तर प्रदेश २ र केही विकटी हिमाली जिल्लाका १ दर्जनभन्दा बढी स्थानीय तहमा नायबसुब्बाले प्रमुख प्रशासकीय अधिकृत चलाएका छन् ।
मन्त्रालयका अनुसार १ सय १७ वटा नगरपालिका र ६५ वटा गाउँपालिकामा निमित्तले चलाएका छन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत उपसचिव सरहको कर्मचारी हुनु पर्ने व्यवस्था भए पनि १सय १७ वटा नगरपालिकामा शाखा अधिकृत निमित्त प्रमुख प्रशासकीय अधिकृत भइ नगरपालिका चलाएको मन्त्रालयले जनाएको छ ।
प्रशासकीय अधिकृत संघको मातहतमा हुने व्यवस्था छ। त्यस व्यवस्था अनुसार मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षले चाहेर पनि आफ्नो स्थानीय तहमा प्रशासकीय अधिकृत फेर्न सक्दैनन् । यसबाट केही ठाउँमा स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतवीच टकराव सुरु भएको छ। आफूले प्रमुख प्रशासकीय अधिकृत फेर्न नसके पनि केही ठाउँमा स्थानीय तहका प्रमुखहरुले नै सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाइ सुब्बालाई निमित्तको जिम्मेवारी दिने गर्छन ।
