Hello NEw
बिजुलीको तार भूमिगत गर्ने कार्य अवरुद्ध
काठमाडौँ, ३ माघ । बिजुलीका तार जमिनमुनि बिछ्याउने नेपाल विद्युत् प्राधिकरणको योजना अवरुद्ध भएको छ । सडक विभागको अनुमतिबिना काठमाडौँ उपत्यकामा तानिएका बिजुलीका तार जमिनमुनि बिछ्याएका कारण अवरोध सिर्जना भएको हो ।
सडक विभागको अनुमति नै नलिई ठेकेदारसँग सम्झौता भएर आवश्यक जनशक्ति र उपकरणसहित कार्यक्षेत्रमा आए पनि काम गर्न नपाउँदा तारलाई भूमिगत गर्ने योजना कार्यान्वयनमा ल्याउन समस्या देखिएको छ । प्राधिकरणले ठेक्का लगाएको कम्पनीले समयमै काम गर्न नपाएर ठूलै हर्जना तिर्नुपर्ने र सम्पूर्ण योजनाकै निर्माण लागत बढ्ने सम्भावना त्यत्तिकै देखिएको छ । जनशक्ति र उपकरणसहित एक महिनादेखि ठेकेदार कम्पनी काठमाडौँ आएर बसेको छ ।
विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य पुसको पहिलो हप्तादेखि नै सुरु गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युत्का तार भूमिगत गर्न आवश्यक जनशक्ति र उपकरणसहित ठेकेदार कम्पनी काठमाडौँ आइसके पनि तार भूमिगत गर्नका लागि सडक खन्न सडक विभागको अनुमति प्राप्त हुन नसकेका कारण काम अगाडि बढ्न नसकेको हो ।
नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच यससम्बन्धमा दुईपटक छलफल भइसकेको र सडकको कति किलोमिटर क्षेत्र र कति ठाउँमा प्वाल पार्ने हो, सो को विवरण सडक विभागले प्राधिकरणसँग मागि सकेको छ ।
प्राधिकरणले विद्युतीय प्रणालीको क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य सुरु गर्न लागेको हो । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई भूमिगत गर्ने प्राधिकरणले जनाएको छ । २०७८ मङ्सिरसम्म पहिलो चरणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट जोडिएका प्राधिकरणका ९० हजार ग्राहक लाइन छन् । उपत्यकामा प्राधिकरणका तीन लाख ६० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।
