Logo

Hello NEw

सामाजिक बिषयकाे प्रश्रप्रत्र आउट विद्यार्थीहरू आन्दाेलनमा,



वीरगन्ज १५ चैत्र— प्रदेश २ को नियमित तर्फको सामाजिक विषयको परीक्षा रद्द गरिएको भन्दै ८ जिल्लाका विद्यार्थीले ठाउँ/ठाउँमा विरोध जनाएका छन् । धनुषा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरुमा विद्यार्थीले परीक्षा रद्द भएकोमा टायर बालेर प्रदर्शन सुरु गरेका छन् ।  शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्यापछ्याप्ती भएपछि परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फको परीक्षा स्थगित गरेको थियो ।
(एसईई) परीक्षा सुरु हुनुभन्दा कम्तिमा १२ घण्टा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ वटै जिल्लामा शुक्रबारको सामाजिक विषयको परीक्षा पनि रद्द गरिएको छ । 

बिहीबार प्रश्नपत्र बाहिएर पछि समन्वय समितिले सुरक्षा समितिको बैठक डाकेर सर्तकता अपनाउने निर्णय गरेको थियो । तर बैठक सकिए लगत्तै राति नै प्रश्नपत्र आउट भएको खुलासा भयो । काठमाडौंको सेक्युरिटी प्रेसमा छापिएको प्रश्नपत्र सिलबन्दी गरेर सुरक्षा सहित प्रहरी कार्यालय हुँदै जिल्ला/जिल्लाका परीक्षा केन्द्रहरुमा पुर्‍याइन्छ । यसरी प्रश्नपत्र पठाउँदा पनि परीक्षाभन्दा पहिल्यै बाहिरिनुलाई गम्भीर रुपमा हेरिएको छ ।
‘प्रश्नपत्र यसअघिका वर्षमा पनि छिटपुट रुपमा आउट हुनेगरेको हो,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक निर्देशक बावुराम पौडेलले भने, ‘पहिले परीक्षा केन्द्रमै पुगेपछि बाहिरिन्थ्यो, विद्यार्थी परीक्षा हलमा पसिसकेकाले खासै असर पर्थेन, यसपाली नपुग्दै आउट भएको पाइएको छ, यसलाई गम्भीर रुपमा लिएका छौं ।’

प्रदेश २ मा दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ परीक्षार्थी सहभागी छन् । पुरानो पाठ्यक्रम र प्राविधिक धार तर्फका विद्यार्थीको परीक्षा भने सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
अन्य ६ वटा प्रदेशमा पनि छुट्टाछुट्टै प्रश्नपत्र भएकाले परीक्षा सञ्चालन भइरहेको छ । देशभर परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सहभागी छन् । यसवर्षदेखि परीक्षा सञ्चालन सम्बन्धित व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्