Hello NEw
पशुपति क्षेत्रका मापदण्डविपरीतका पसल तथा टहरा हटाउन निर्देशन
काठमाडौं, ६ माघ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल-उपहार पसल तथा टहरा हटाउन निर्देशन दिएको छ ।
कोषले सोमबार दोस्रो पटक सूचना जारी गरेर विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्न मापदण्ड एवम् स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहरा एक साताभित्र हटाउन हटाउन निर्देशन दिएको हो ।
कोषले आफ्नो घर-टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्नै असर पर्नेगरी राखिएका पाली टहरा पनि हटाउन भनेको छ । सूचना प्रकाशित भएको एक साताभित्र पसल तथा टहरा नहटाए कोष आफैंले प्रचलित कानुनअनुसार हटाउने जनाइएको छ ।
पशुपति क्षेत्रका मूल सडक, सहायक सडकहरूका पेटी, डबलीहरू र खुला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथक्षेत्र र वनगणेश लगायत क्षेत्रमा अव्यवस्थित तबरले छाप्रा बनाई फूल, उपहारजन्य पसल व्यवसाय गर्ने र बसोबास गर्ने कार्यहरू भए गरेबाट यस क्षेत्रको सौन्दर्यतामा नकारात्मक असर पर्नुका साथै भक्तजन, तीर्थयात्री, पर्यटक र पैदलयात्रीको आवगमनमा समेत अवरोध पुग्न गएको छ, कोषद्वारा जारी सूचनामा भनिएको छ ।
