Hello NEw
विदेश भ्रमण र अध्ययनमा साढे ३१ अर्ब रुपैयाँ खर्च
काठमाडौं, ६ माघ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालीले विदेश घुम्न र अध्ययनमा साढे ३१ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको रिपोर्ट अनुसार साउनदेखि मंसिरसम्म नेपालीले विदेश भ्रमण र शिक्षामा गरी ३१ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् ।
भ्रमणको लागि १६ अर्ब ७६ करोड रुपैयाँ र शिक्षातर्फ १४ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले वैदेशिक अध्ययनको लागि जानेहरुको खर्चलाई पनि वैदेशिक भ्रमण व्ययमै राख्ने गरेको छ ।
तर, यो रकम गएको वर्षको ५ महिनाको अवधिमा २३ दशमलव ७ प्रतिशतले कम हो । गएको वर्षको सुरुको ५ महिनामा भ्रमण व्यय ४१ अर्ब ३४ करोड रुपैयाँ थियो । यसमध्ये भ्रमणमा १९ अर्ब २० करोड र शिक्षातर्फको खर्च २२ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।
