Logo

Hello NEw

सवारीसाधन व्यवस्थापनका लागि तीन तहको रुट प्रणाली



काठमाडौं, ७ माघ । यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ ।

एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो । रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन भने गर्न सकेको छैन ।

विभागका अनुसार प्राथमिक, द्वितीय र तृतीय गरी तीन तहको रुटको अवधारणा बनाइएको छ । प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ । जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारी साधनलाई चल्न दिइने छ । द्वितीय रुटमा मझौला सवारीसाधन सञ्चालन हुनेछन् । हाल नेपाल यातायात लगायतका मझौला सवारी साधनलाई द्वितीय रुटमा सञ्चालन गरिनेछ । यो रुट प्राथमिक रुटभन्दा छोटो हुनेछ ।

तृतीय तहको रुटमा साना सवारी सञ्चालन हुनेछन् । ट्याक्सी लगायतका सवारी यसमा चल्नेछन् । यी छोटा दूरीका रुट हुनेछन् । यो रुट प्रणाली लागू भएपछि अहिले जस्तो सबै सवारीसाधन एउटै रुटमा चल्न पाउने छैनन् । रुट प्रणालीको नयाँ रुट प्रणाली अनुसार एउटै रुटमा सबै गाडी गुड्न पाउने छैनन् । तोकिएको रुटमा तोकिएका सवारी गुड्नेछन् । जसले गर्दा ट्राफिक व्यवस्थापन सहज भई दुर्घटनामा कमी आउने अनुमान छ ।

सार्वजनिक सवारी व्यवस्थित र तोकिएको रुटमा मात्र चल्नेछन् । यातायात व्यवस्था विभागले उपत्यकाका सयौँ रुट व्यवस्थित गर्न छ वर्ष अघि नै ६६ वटा रुटमा झारेको थियो । हाल तीनवटा रुट थप गरी ६९ वटा पुर्‍याइएको छ । नयाँ रुटका सम्बन्धमा यातायात व्यवसायीसँग पनि छलफल भइसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्