Hello NEw
विदेशबाट उच्च आयात हुने १० बस्तुहरु
काठमाडौं, ७ माघ । आर्थिक वर्षको पहिलो पाँच महिनामा भारत लगायत अन्य मुलुकबाट ५ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको बस्तु आयात भएको छ । सो रकम गत वर्षको यसै अवधिको तुलनामा ४.२ प्रतिशतले कम हो ।
नेपालमा भारतबाट आयात हुने बस्तु सबैभन्दा उच्च छ । भारतबाट आयातित बस्तु गत वर्षको सोही अवधिको तुलनामा साढे ९ प्रतिशतले घटेको छ, यद्यपी चीनबाट हुने आयात भने १५.६ प्रतिशतले बढेको छ ।
नेपालमा आयात हुने बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा उच्च छ । साउनदेखि मंसिरसम्म आयातित कुल बस्तुमध्ये पेट्रोलियम पदार्थको हिस्सा १३.१ प्रतिशत छ । यस अवधिमा ७५ अर्ब ९२ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। गत वर्षको यसै अवधिमा ८७ अर्ब ७८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
पेट्रोलियम पदार्थपछि सवारीसाधन तथा तिनका पार्टपूर्जाको आयात उच्च छ । कुल आयातमा सो शिर्षकको बस्तु समूहले ८.७ प्रतिशत हिस्सा ओगटेको छ ।
पाँच महिनामा ५० अर्ब ६२ करोड रुपैयाँको सवारीसाधनरउपकरणरपार्टपूर्जारटायर आयात भएको छ। यो शिर्षकको आयात पनि गत वर्षको यस अवधिको तुलनामा कम हो । गत वर्ष यस अवधिमा ५६ अर्ब ७१ करोड रुपैयाँको सवारीसाधन तथा पार्टपूर्जाको आयात भएको थियो ।
आयात हुने उच्च बस्तुमध्ये रकमका आधारमा अन्य मेसिन तथा पार्टपूर्जाको स्थान तेस्रो अर्थात ५. ७ प्रतिशत हिस्सा छ । सो शिर्षकमा हुने आयातमा पाँच महिनामा ३२ अर्ब ८८ करोड रुपैयाँ बाहिरिएको छ । जुन गत वर्षको यस अवधिको तुलनामा २ अर्ब ७० करोड बढी हो ।
आयातित बस्तुमध्ये चौथो स्थानमा रहेको एमएस (मिल्ड–स्टिल) बिलेटले कुल आयातमा २.९ प्रतिशत हिस्सा ओगटेको छ । यस आर्थिक वर्षको पहिलो पाँच महिनामा १७ अर्बको एमएस बिलेट आयात भएको छ। गत वर्ष यस अवधिमा ३२ अर्बको आयात भएको थियो ।
आयातित बस्तुमध्ये पाँचो ठूलो हिस्सा रेडिमेड गार्मेन्टले ओगटेको छ । यस अवधिमा १५ अर्ब ८३ करोडको रेडिमेड गार्मेन्ट भित्रिएको छ । गत वर्ष यस अवधिमा १५ अर्ब ५१ करोडको आयात भएको थियो ।
औषधिले छैठौं स्थान लिएको छ । पाँच महिनामा १४ अर्ब ३८ करोड रुपैयाँको औषधि आयात भएको छ । गत वर्ष यस अवधिमा १५ अर्ब ७३ करोडको औषधि भित्रिएको थियो ।
१४ अर्ब ३३ करोडको एयरक्राफ्ट स्पेयरपार्टस् आयात भएको छ। यसको आयात पनि गत वर्षको तुलनामा ३ अर्ब ८३ करोडले कम हो । १२ अर्ब ६० करोड रुपैयाँको टेलिकम्युनिकेसन इक्वीपमेन्ट तथा पार्टपूर्जा आयात भएको छ । यो शिर्षकको आयात गत वर्षको यस अवधिको तुलनामा साढे ४ प्रतिशत बढी हो ।
आयातित बस्तुमध्ये नवौं स्थानमा हटरोल्ड क्वायल छ। यस आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ अर्ब १० करोडको क्वायल आयात भएको छ । गत वर्ष यस अवधिमा ९ अर्ब १६ करोडको आयात भएको थियो । आयातित बस्तुमध्ये चामलले दशौं स्थान लिएको छ। पाँच महिनामा १० अर्ब ९९ करोडको चामल आयात भएको छ । गत वर्ष यस अवधिमा १३ अर्ब २२ करोडको आयात भएको थियो ।
समीक्षा अवधिमा आयातित बस्तुमध्ये सुनको आयात सबैभन्दा उच्चदर ५२.९ प्रतिशतले घटेको छ । आयातित बस्तुमध्ये कच्चा पामआयलको वृद्धिदर सबैभन्दा उच्च २०३ प्रतिशतले बढेको छ । जुन उच्च आयातको सूचीमा १३ औं स्थानमा परेको छ । कच्चा पामआयल प्रशोधित भई निर्यात हुने गरेको छ । निर्यातमा पामतेलको हिस्सा सबैभन्दा उच्च छ ।
