Logo

Hello NEw

सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदै



काठमाडौं, ७ माघ । आउँदो १२ गते हुने प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । संसद सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने जनाइएको छ ।

आइतबार बसेको सत्तारुढ नेकपाको बैठकले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख पदका लागि उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरेको छैन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सोमबार राजीनामा दिएपछि नयाँ सभामुख चयनको प्रकिया अघि बढाउन सजिलो भएको हो ।

माघ १२ गते दिउँसो ३ बजे बस्‍ने बैठकमा सभामुखका लागि निर्वाचन हुनेछ । सोमबारको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले सभामुख पदको निर्वाचनको कार्यक्रम सोमबार नै प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका थिए ।

नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्‍नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा बिजनेस मा प्रवेश गर्न पाएको छैन । सभामुख चयनमा सहमति जुटाउन पटकपटक भएका प्रयास असफल भएपछि संसद्को बैठक सूचना टाँगेर स्थगित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्