Logo

सारवान कानून र कार्यविधि कानूनको परिचय दिई यसका मुलभूत भिन्‍नताहरु



सारवान कानून र कार्यविधि कानूनको परिचय दिई यसका मुलभूत भिन्‍नताहरु उल्लेख गर्नुहोस् ।

सारवान कानून (Substantive law)
व्यक्तिका हक अधिकारको सृजना गर्ने कानूनलाई सारवान कानून भनिन्छ। यसले वास्तविक न्यायको अनुभूति दिलाउँछ । यसले हकदैयाको सृजना गर्दछ। यसले व्यक्तिको हक, अधिकार, पद, प्रतिष्ठा, धन, सम्पत्ति आदिको हरण भएमा दिलाउँछ। व्यक्तिको स्वतन्त्रता र समानताको संरक्षण गर्दछ ।

व्यक्तिको स्वतन्त्र रुपमा बाँच्ने, हिडडुल गर्ने, धन सम्पत्ति आर्जन गर्ने, भोग र उपयोग गर्ने अधिकारको प्रत्याभूति गर्दछ। शान्तिपूर्ण जीवनयापनद्वारा आफ्नो व्यक्तित्व विकास गर्ने अवसर उपलब्ध गराउँदछ। यसले आफ्नो अधिकारको संरक्षण गर्ने क्रममा अरु व्यक्तिको अधिकारको सम्मान गर्नुपर्ने कर्तव्य र दायित्व पनि निर्धारण गर्दछ।

कार्यविधि कानून (Procedural Law)
सारवान कानूनद्वारा सृजना गरिएका हक अधिकारको हनन भएको अवस्थामा सोको उपचार वा प्रचलनको लागि अवलम्बन गरिने कानूनलाई कार्यविधि कानून भनिन्छ। विशेष गरी मुद्दा मामिला वा विवादको निरोपणका रोहमा साधिकार निकायबाट बाध्यात्मक रुपमा पालना वा लागू गरिने कानून नै कार्यविधि कानून हो ।

कार्यविधि कानूनको उपेक्षा गरिएको वा सोको पालना वा अवलम्बन नगरिएको निर्णयले वैधता पाउन सक्दैन अर्थात त्यस्तो निर्णय त्रुटीपूर्ण मानिन्छ। कार्यविधि कानूनले विवादको निरोपण प्रकृयामा एकरुपता कायम गर्नुको साथै निर्णय प्रकृयामा सरल र बोधगम्य मार्गदर्शन गर्दछ । यसबाट न्यायिक प्रकृयाको निश्चितता तथा स्वच्छ न्यायको प्रत्याभूति हुन्छ ।

सारवान कानून र कार्यविधि कानून विच भिन्‍नताहरु:

सारवान कानून (Substantive law)
१) यसले व्यक्तिको हक अधिकार र दायित्व सृजना गर्छ ।
२) यसले अपराधको घोषणा र सजायको निर्धारण गर्छ ।
३) यो वास्तविक न्याय हो ।
४) यसमा कुनै विशेषणको आवश्यकता हुदैन ।
५) यसको स्वतन्त्र अस्तित्व हुन्छ ।
६) यो कानूनको उत्पत्ति कार्यविधि कानून भन्दा पहिला हुन्छ ।
७) यो साध्य (Ends) हो ।
८) यसमा क्षेत्राधिकाको प्रश्‍न उठ्न सक्दैन ।
९) यो अदालती कारवाहीसँग सम्बन्धित हुदैन ।
१०) उदाहरणः संविधान, मुलुकी संहिताहरु, ऐनहरु

कार्यविधि कानून (Procedural Law)
१) यसले हक अधिकार प्रचलन गराउनका लागि प्रक्रिया निर्धारण गर्छ।
२) यसले सजाय दिलाउने प्रकृया निर्धारण गर्छ।
३) यो वास्तविक न्याय नभई न्याय प्राप्त गर्ने माध्यम हो।
४) यसमा छिटो छरितो, सरल, सुलभ, कम खर्चिलो आदि जस्ता विशेषण रहन्छन्।
५) यसको स्वतन्त्र अस्तित्व हुदैन।
६) यो कानूनको उत्पत्ति सारवान कानूनभन्दा पछि हुन्छ।
७) यो साधन (Means) हो।
८) यसमा क्षेत्राधिकारको प्रश्‍न उठ्न सक्छ।
९) यो अदालती कारवाहीसँग सम्बन्धित हुन्छ।
१०) उदाहरणः मुलुकी कार्यविधि संहिता, नियमावलीहरु, कार्यविधिहरु

निष्कर्ष: सारवान कानूनले सृजना गरेका हक र अधिकारहरु हनन भएमा कार्यविधि कानूनले प्रचलन गराउन सघाउने हुँदा यी दुवै कानून एक अर्काका परिपुरक हुन् एकको अभावमा अर्को अधुरो रहन्छ । सारवान कानूनलाई रुखमा फलेको फल र कार्यविधि कानून त्यसलाई टिप्न जाने भर्‍याङसँग तुलना गर्न सकिन्छ। सारवान कानूनको उद्देश्य पूर्ति गर्ने माध्यम नै कार्यविधि कानून हो । तसर्थ यी दुईको सम्बन्ध अन्योन्याश्रीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्