Hello NEw
सडक विभागका महानिर्देशक सचिव बन्नै मान्दैनन्
काठमाडौ । सरकारले फागुन २६ गते आइतबार दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सचिवमा बढुवा हुनेहरुमा प्राविधिकतर्फका सहसचिव माधव वेलवासे र प्रशासनतर्फ सहसचिव देवकुमारी गुरागाइ छन् । तर सचिव बढुवाका लागि एक नम्बरमा सिफारिस भएका रविन्द्रनाथ श्रेष्ठ भने सचिव भएनन् ।
महानिर्देशक श्रेष्ठ सचिव बन्नै चाहन्नन्
आफुभन्दा कनिष्ठ सहसचिव सचिवमा बढुवा भएपनि सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ भने सचिव हुन अस्वीकार गर्दै आएका छन् । लोकसेवा आयोगले वरिष्ठताका आधारमा सहसचिव श्रेष्ठलाई चौथो पटक सचिवका लागि सिफारिस गरेको छ । शुरुको दुइ पटक वरिष्ठताका आधारमा तीन जनाभित्र पर्नेगरि र पछिल्लो दुई पटक एक नम्बरमा सचिव बढुवाका लागि सिफारिस गरेको हो । तर आइतबार पनि सरकारले उनी भन्दा कनिष्ठ माधव वेलवासेलाई सचिवमा बढुवा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार सहसचिव तथा विभागका महानिर्देशक श्रेष्ठकै चाहनामा उनलाई सचिवमा बढुवा नगरिएको हो । सडक विभागको महानिर्देशक रोजेर उनले सचिवमा बढुवा हुन नचाहेको प्रधानमन्त्री कार्यालयले जनाएको हो ।
बढुवा सिफारिस प्रक्रिया
एक जना सचिव बढुवाका लागि लोकसेवा समेत सहभागी भएको बढुवा शाखाले वरिष्ठ सहसचिवहरुमध्येबाट तीन जनाको नाम सिफारिस गर्छ । त्यसरी सिफारिस गर्दा कासमुलाई मुख्य आधार बनाइन्छ । सिफारिस गर्दा सबैभन्दा बरिष्ठलाई १ नम्बरमा सिफारिस गरिन्छ । त्यसमध्येबाट सरकारले एक जनालाई सचिव बनाउँछ । तर सरकारसँग एक नम्बरमै सिफारिसलाई सचिव बनाउनु पर्ने बाध्यता भने हुँदैन ।
सहसचिव श्रेष्ठ अहिलेसहित चौथो पटक सचिव बढुवामा सिफारिस भएका छन् । दुई पटक वरिष्ठ तीन जनाको सुचीमा परेका छन् । भने दुई पटक एक नम्बरमा सिफारिस भएका हुन् । तर हरेक पटक उनी सचिव भएका छैनन् ।
किन सचिव बन्न चाहँदैनन् महानिर्देशक श्रेष्ठ
रविन्द्रनाथ श्रेष्ठ अहिलेको प्राविधिक तर्फको सबैभन्दा बरिष्ठ सचिव हुन् । उनी यसअघि नै सडक विभागको महानिर्देशक बन्न चाहेका थिए । तर प्रचण्ड नेतृत्वको सरकारले गोपाल सिग्देललाई विभागको महानिर्देशन बनायो । सिग्देललाई विभागको महानिर्देशक बनाएपछि सहसचिव श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएर गए । वर्तमान सरकार गठन लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक विभागको महानिर्देशकबाट गोपाल सिग्देललाई मन्त्रालय ताने र श्रेष्ठलाई विभागको महानिर्देशक बनाएर पठाए ।
उनी विभागको महानिर्देशक हुँदा वरिष्ठ सहसचिवको सुचीमा आइसकेका थिए । विभागको महानिर्देशक भएलगत्तै लोकसेवाले उनलाई वरिष्ठताका आधारमा सचिव बढुवामा सिफारिस ग¥यो । त्यसयता ४ पटक सचिवमा बढुवाको सिफारिस भइसकेका छन् । तर सचिव बन्न मानिरहेका छैनन् ।
