Hello NEw
नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै : ट्रान्सपरेन्सी इन्टरनेशनल
काठमाण्डौ – नेपालमा भ्रष्टाचार नियन्त्रणमा केही सुधार भएको देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्सु अर्थात् भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) ले नेपालमा भ्रष्टाचार घट्दो अवस्थामा रहेको देखाएको हो ।
बर्सेनि सार्वजनिक हुने सूचकाङ्कमा नेपाल यसपटक एक सयमा ३४ अङ्कका साथ १ सय १३ औँ स्थानमा उक्लिएको छ । गएको वर्ष नेपाल ३१ अङ्कसहित १ सय २४ औँ स्थानमा थियो ।
भ्रष्टाचारविरोधी निकायको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु, खासगरी नेपाली सेनामा सदाचारको पहललगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालमा भ्रष्टाचार कम हुँदै गएको सर्वेक्षणले देखाएको छ ।
तर सूचकाङ्कमा केही सुधार भए पनि नेपाल भ्रष्टाचार व्याप्त रहेका देशहरुकै श्रेणीमा रहेको छ ।
साथै सरकारको भ्रष्टाचारविरोधी प्रतिबद्धता भनिएअनुसार कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समूहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्यामा भने सुधार हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले पक्षपातरहित बजेट र सेवामा सरोकारवालाको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरणलगयातमा सुधार गर्दै भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिप्रति विश्वास जगाउन सरकारलाई सुझाव पनि दिएको छ ।
सीपीआईका अनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशका रुपमा ८७ अङ्कसहित डेनमार्क छ । सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ । सोमालियाले जम्मा ९ अङ्कमात्र पाएको छ ।
दक्षिण एशियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ । भुटान ६८ अङ्कसहित २५ औँ स्थानमा छ । यस्तै भारत र चीन ४१ अङ्कसहित ८० औँ स्थानमा छन् ।
यस्तै श्रीलङ्का ३८ अङ्कसहित ९३ औँ, पाकिस्तान ३२ अङ्कसहित १२० औँ, माल्दिभ्स २९ अङ्कसहित १३० औँ, बङ्गलादेश २६ अङ्कसहित १४६ औँ र अफगानिस्तान १६ अङ्कसहित १७३ औँ स्थानमा छन् ।
TI-Nepal-CPI-2019-Press-Release