Hello NEw
सहिद सप्ताह सुरु
काठमाडौं, १० माघ । आजबाट सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ ।
प्रत्येकवर्ष माघ १० गतेबाट सुरु हुने सहिद सप्ताहको पहिलो दिन आज सहिद शुक्रराज शास्त्रीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाईदैछ । नागरिकको हक हितका लागि लड्दा लड्दै वि.सं. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्डयाएर शास्त्रीको हत्या गरिएको थियो । शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा आज काठमाडौं महानगरपालिकाले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ ।
नेपाल सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ । सहिद सप्ताहमा माघ १३ गते धर्मभक्त माथेमाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना हुनेछन् । माथेमाको १९९७ माघ १५ गते सिफलमा हत्या गरिएको थियो । त्यसैगरी सोही वर्षको माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको माघ १५ गते शोभा भगवतीमा तत्कालिन राणाशासकहरुले गोली हानेर हत्या गरेका थिए । माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइनेछ ।
