Hello NEw
सभामुख पदपूर्ति आज हुने
काठमाडौं, १२ माघ । असोजदेखि रिक्त रहेको सभामुख पदका लागि आइतबार निर्वाचन हुँदैछ ।
यसका लागि दिउसो ३ बजेका लागि प्रतिनिधी सभाको बैठक बोलाइएको छ । सभामुखमा उम्मेदवारी दिने एकल उम्मेदवार नेकपाका नेता अग्निप्रसाद सापकोटा भएकाले उनी नै निर्वाचित हुने पक्का छ । लामो समय देखि रिक्त रहेको सभामुख पद राजनीतिक खिचातानीपछि पूर्ण हुन लागेको हो ।
सापकोटा सभामुख बनेपछि आइतबार नै उनले संसदको पहिलो बैठक पनि बसाउनेछन् । सापकोटाले पदवहाल गर्नु अघि भने संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको भुमिका निर्वाह गर्नेछन् । ठाकुरले नै सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन् ।
उता सर्वोच्च अदालतमा अग्नि सापकोटाविरुद्धको मुद्दा सुनुवाइ पनि आजै हुनेछ । यसअघि नै हत्या अभियोग लागेका व्यक्तिलाई सभामुख उम्मेदवार बनाउन नहुने भन्दै सापकोटाविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
अधिवक्ता दिनेशराज त्रिपाठीले सापकोटाविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । यससँगै उपसभामुख पद पनि रिक्त छ । शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली भएको हो । सभामुख र उपसभामुख दुई फरक पार्टीको हुनुपर्ने प्रावधान छ ।
