Hello NEw
चिसोले हुम्लामा पाँच जनाको मृत्यु
हुम्ला, १२ कमघ । हुम्लाका विभिन्न ठाउँमा चिसोका कारण पाँच जनाको मृत्यु भएको छ । मौसमी रुघाखोकीका कारण गत २७ पुसदेखि १० माघसम्म चंखेली र सर्केगाड गाउँपालिकामा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–३ उनापानिका ५५ वर्षीय रंगमल फडेरा रहेको वडाअध्यक्ष गजबहादुर रावतले बताए ।
यसैगरी, चंखेली गाउँपालिका– ६ मेल्छामको मासिधारा गाउँका ३९ वर्षीया जुनकला शाही, ६० वर्षीया प्याउली शाही, ६५ वर्षीया गौरीकला सार्की र ७० वर्षीय जसुराम सार्कीको मृत्यु भएको चंखेली गाउँपालिका उपाध्यक्ष विमला शाहीले बताइन् ।
उपाध्यक्ष शाहीका अनुसार चिसोका कारण दम तथा अन्य दीर्घ रोग भएका बिरामी बढी संक्रमित भएका छन् । मौसमी रुघाखोकीका कारण ज्वरो आउने, बेहोस हुने जस्ता लक्षण देखिएको उपाध्यक्ष शाहीले बताइन् ।
उनापानी गाउँमा औषधि नभएको र सर्केगार्ड गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि पनि सकिँदा झनै समस्या भएको स्थानीयले बताएका छन् । गाउँमा वृद्धवृद्धा र बालबालिका गरी ५०–६० जना बिरामी परेका छन् । समयमा उनीहरूको उपचार नभए यसले महामारीको रूप लिने देखिएको छ ।
जिल्लामा मौसमी रुघाखोकी फैलिएको खबर पाउने बित्तिकै हुम्लाका सबै गाउँपालिकाले उपलब्ध औषधि सबै स्वास्थ्य संस्थामा पठाई स्वास्थ्यकर्मीलाई स्टे बाई रहन निर्देशन दिइसकेको निमित्त प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले बताए ।
जिल्ला अस्पतालका अनुसार दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको संख्या बढ्दै गए उपचारका लागि औषधि र पूर्वाधारको समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ ।
राजधानीबाट
