Logo

Hello NEw

सहकारी घोटाला प्रकरण : ५३ विरुद्ध ठगी मुद्दा दाय



कपिलवस्तु, १४ माघ । सहकारीको १२ करोड रुपैयाँ घोटालामा संलग्नमाथि अदालतमा मुद्दा दायर भएको छ । कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको रकम हिनामिना गरेका ५३ जनालाई प्रतिवादी बनाई प्रहरीले मुद्दा दायर गरेको हो ।

सहकारीका कर्मचारी, कार्यसमिति तथा अन्य विभिन्न समितिका पदाधिकारी र लेखा परीक्षक सहित ५३ जना उपर सोमबार जिल्ला अदालतमा ठगी तथा संगठित अपराधमा मुद्दा चलाईएको हो । करिब दुई महिना लामो अनुसन्धानपछि मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ । सहकारीका अध्यक्ष रामेन्द्रसिंह रावल, उपाध्यक्ष जय प्रकाश पाण्डेय, सचिव देवेश जयसवाल, कोषाध्यक्ष प्रशान्त गुप्ता, लेखा समिति संयोजक बाबुराम भण्डारी लगायतको समितिलाई मुद्दा दर्ता गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०६७।०६८ देखि हाल सम्मका पदाधिकारीलाई मुद्धामा विपक्षी बनाईएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले ५३ जना उपर अभियोग पत्रका साथ अदालतमा मुद्दा दर्ता गराएका छन् । प्रतिवादी ५३ जना मध्ये सहकारीका प्रबन्धक अविनाश पाण्डेय, कर्मचारीहरु राजेश कान्दु, श्रवण कुमार गुप्ता र राकेश ठाकुर प्रहरीको नियन्त्रणमा छन् । प्रतिवादी मध्ये बाँकी ४९ जना फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्