Logo

Hello NEw

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि



काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठकको आजदेखि बस्दैछ । आजदेखि राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभागले जानकारी दिएका छन् ।

पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो । नेकपाको गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक छ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढवर्षमा पहिलो पटक बस्न लागेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । यसैगरी विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेका छन् । यसअघि पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रियसभाको निर्वाचन कारण सारिएको थियो ।

०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसयता बैठक हुन सकेको छैन ।

बैठक आजदेखि माघ २० गतेसम्म चल्नेछ । बैठकमा केन्द्रीय सदस्यलाई परिचयपत्रसमेत वितरण गरिने नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वर रिजालले जानकारी दिए ।

महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ । पार्टीको नीति, सिद्धान्त र योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ । केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर विधानमा उल्लेख गरिएको छ ।

बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट केन्द्रीय सदस्य काठमाडौं आइसकेका छन् । दुई पार्टी एकीकरण भएपछि ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला बैठकले सचिवालय बैठक र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्