Logo

Hello NEw

बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू लेख्नुहोस् ?



१) बाह्य पदपूर्ति भनेको के हो ? यसका सबल र दुर्बल पक्षहरू के–के हुन् ? लेख्नुहोस्  ।

सेवाभित्रका कार्यरत कर्मचारी वा सेवाबाहिरका तर तोकिएको योग्यता पुगेका व्यक्तिहरूलाई प्रतिस्पर्धा गराएर रिक्त पदको पूर्ति गर्ने तरिकालाई बाह्य पदपूर्ति भनिन्छ । यसमा सबैलाई समान अवसर हुन्छ । तोकिएको योग्यता पुगेका सबै व्यक्ति यसमा सहभागी हुन्छन् ।

लिखित, अन्तर्वार्ताजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफल भएका व्यक्तिलाई मात्र नियुक्ति गरिन्छ । यो खुला प्रतिस्पर्धा हो । नेपालको निजामती सेवामा लोकसेवा आयोगले निजामती सेवा ऐन–२०४९ को दफा ७ अनुसार खुला प्रतिस्पर्धाको विज्ञापन गर्दछ र सफल उम्मेदवारलाई मात्र रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्दछ ।

सबल पक्ष
– नवीनतम ज्ञान, सीप, क्षमता र सोच भएका सक्षम व्यक्तिले सेवाभित्र प्रवेश पाउने,
– पुराना कर्मचारीको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्ने,
– यसले सक्षम र योग्य व्यक्ति पलायन हुनबाट रोक्दछ,
– सेवा प्रवेशमा समान अवसरको सिद्धान्त लागू हुन्छ,
– सेवामा नयाँले मौका पाउने हुँदा उत्पादन र उत्पादकत्व बढ्न जान्छ,
– पुराना कर्मचारीले भन्दा नयाँ कर्मचारीले महत्व पाउँछन् ।

दुर्बल पक्ष
– यो तरिका केही खर्चिलो हुन्छ, जस्तै : विज्ञापन खर्च, परीक्षा खर्च आदि ।
– पुराना र नयाँ कर्मचारीबीच समन्वय हुन केही समय लाग्न सक्ने,
– अनुभव नभएका नयाँ कर्मचारी उच्च तहमा पुग्दा पुराना अनुभवी कर्मचारी हतोत्साहित हुन सक्ने,
– तालिम कार्यक्रमको बढी आवश्यकता पर्ने,
– कर्मचारी छनोट कार्य जस्तै : लिखित परीक्षा, सोको नतिजा, अन्तर्वार्ता, अन्तिम नतिजा आदिजस्ता कार्यमा बढी समय लाग्न सक्ने ।

२) उत्प्रेरणाको अर्थ स्पष्ट गर्दै उत्प्रेरणा बढाउने उपायहरू विवेचना गर्नुहोस् ।

मानिसमा भएको अन्तरनिहित क्षमतालाई उजागर गरी कार्यान्वयनमा ल्याउने कार्य उत्प्रेरणा हो । यो मानव साधनसँग सम्बन्धित छ । यसले मानिसमा हुने निष्क्रिय गुणलाई सक्रिय गुणमा रूपान्तरण गर्न मद्दत गर्दछ । यो एउटा इच्छाशक्ति हो, जसले व्यक्तिविशेषलाई कार्यप्रति उन्मुख गराउँदछ । मानिसमा उत्प्रेरणा जागृत गर्न मौद्रिक र गैरमौद्रिक प्रोत्साहनको व्यवस्था गर्ने गरिन्छ ।

उत्प्रेरणा बढाउने उपाय:
मानिसमा उत्प्रेरणा बढाउन मौद्रिक र गैरमौद्रिक गरी दुईवटा उपायहरू अवलम्बन गरिन्छ । मौद्रिक उपाय मुद्रासँग सरोकार राख्छ भने गैरमौद्रिक उपाय मुद्राबाहेकका अरू विषयसँग सम्बन्ध राख्छ ।

उत्प्रेरणा बढाउने मौद्रिक उपाय
– मासिक तलब तथा भत्ताको व्यवस्था गर्ने,
– वार्षिक तलब वृद्धि ग्रेडको व्यवस्था गर्ने,
– तलब–भत्ता एवम् ग्रेडलाई समसामयिक बनाउने, तलबलाई ‘बेसिक पे’मा विभाजन गरी व्यवस्थित गर्ने,
– कर्मचारी सञ्चय कोषको व्यवस्था गर्ने,
– बिरामी हुँदा औषधोपचारको व्यवस्था गर्ने,
– उपदान एवम् निवृत्तिभरणको व्यवस्था गर्ने,
उत्प्रेरणा बढाउने गैरमौद्रिक उपाय
– सरुवा र बढुवाका स्पष्ट आधार तय गरी अनुमानयोग्य बनाउने,
– नोकरी एवम् सेवाको सुरक्षा गर्ने,
– अवकाशको स्पष्ट मापदण्ड लागू गर्ने,
– अधिकार प्रत्यायोजनलाई व्यवस्थित रूपमा लागू गर्ने,
– पदपूर्तिको वैज्ञानिक आधार तय गर्ने,
– निर्णयमा सहभागिता गराउने,
– पुरस्कार र दण्ड सजायलाई कार्यसम्पादनसँग
आबद्ध गर्ने,
बिदाको व्यवस्था गर्ने ।

अन्त्यमा, मानव साधन सङ्गठन सफलताको आधारशिला हो । यसको कुशल प्रयोग एवम् परिचालनबाट मात्र सङ्गठनले आफ्नो उद्देश्य प्राप्त गर्न सक्छन् । यसका लागि मानव साधनलाई मौद्रिक र गैरमौद्रिक उपायहरूको व्यवस्था गर्नुपर्छ । यस्ता उपायहरूबाट एकातर्फ कर्मचारीमा स्थिरता आउन र जवाफदेहिता बढ्न सक्छ भने अर्कोतर्फ सङ्गठनको काम–कारबाहीमा पारदर्शिता आउन सक्दछ ।

यसबाट सङ्गठनमा कार्यरत कर्मचारी थप उत्प्रेरित हुन सक्छन् । तबमात्र मानव साधन र उसको क्षमता उजागर हुन गई व्यावहारिक कार्यमा रूपान्तरण हुन्छ । यसबाट सङ्गठन र मानव साधन दुवैको विकास हुन गई उत्पादन र उत्पादकत्व अभिवृद्धि हुन जान्छ ।

३) शिक्षाबाट मानिसको जीवनमा पर्ने कुनै पाँच सकारात्मक प्रभाव उल्लेख गर्नुहोस् ।

मानिसमा ज्ञान, सीप एवम् क्षमता बढाउने माध्यम शिक्षा हो । शिक्षा हरेक मानिसको जीवनमा आवश्यक छ । शिक्षाले मानिसको जीवनमा सकारात्मक प्रभाव पार्दछ ।

जुन निम्न छन्:
१) शिक्षाले मानव जीवनमा नवीन ज्ञान, सीप एवम् प्रविधिको विकास गराउँदछ ।
२) शिक्षाले मानिसको सोचाइ, बोलाइ, लेखाइमा गुणात्मक वृद्धि गराउँदछ ।
३) शिक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखापर्ने रोजगारीका अवसर पक्डिन सक्ने क्षमता वृद्धि गर्दछ ।
४) मानिसले आफ्नो जीवनमा गर्नुपर्ने प्रत्येक कार्यलाई वैज्ञानिक ढङ्गले गर्न सहयोग गर्दछ ।
५) शिक्षाले मानवलाई राष्ट्रप्रति प्रेम गर्न तथा श्रमप्रति सम्मान गर्न अभिप्रेरित गर्दछ ।
समग्रमा शिक्षाले मानवजीवनमा ज्ञान, सीप, क्षमता अभिवृद्धि गरी संसार चिनाउन मद्दत गर्दछ ।

४) जनसङ्ख्या व्यवस्थापन भनेको के हो ? यसको व्यवस्थापन गर्ने उपायहरू के–के हुन् ? लेख्नुहोस् ।

उपलब्ध साधन–स्रोतअनुसार जनसङ्ख्याको सही वितरण गर्ने कार्यलाई जनसङ्ख्या व्यवस्थापन भनिन्छ । जनसङ्ख्या निरन्तर परिवर्तन भइरहने हुन्छ, यसलाई साधन स्रोतअनुसार व्यवस्थित गर्नुपर्दछ । साधन स्रोतले धान्न नसक्ने जनसङ्ख्या नियन्त्रण गर्नुपर्दछ भने साधन–स्रोत परिचालन गर्न आवश्यक पर्ने जनसङ्ख्या वृद्धि गर्नुपर्दछ ।

यो नै जनसङ्ख्या व्यवस्थापन हो । साधन–स्रोतको उपलब्धता र अभावले जनसङ्ख्या वृद्धि र नियन्त्रणको कार्यलाई प्रभाव पार्दछ । त्यसैले साधन–स्रोतको तत्काल आपूर्ति गर्दा र भावी योजना बनाउँदा जनसङ्ख्या स्थिति विश्लेषण गर्नुपर्दछ ।

जनसङ्ख्या व्यवस्थापन गर्ने उपाय;
साधन–स्रोतको उपलब्धताअनुसार जनसङ्ख्या वृद्धि गर्ने तथा अभावअनुसार जनसङ्ख्या नियन्त्रण गर्ने कार्य जनसङ्ख्या व्यवस्थापन हो । प्राकृतिक साधन–स्रोत मासिँदै वा साघुरिँदै गइरहने तर जनसङ्ख्या निरन्तर वृद्धि भइरहने हुँदा जनसङ्ख्या नियन्त्रण गर्ने कार्य जनसङ्ख्या व्यवस्थापनको प्रमुख क्षेत्र बनेको छ । त्यसैले जनसङ्ख्या व्यवस्थापनअन्तर्गत जनसङ्ख्या वृद्धि नियन्त्रण गर्नु अहिलेको आवश्यकता देखिन्छ ।

निम्न उपाय अवलम्बन गरेर जनसङ्ख्या नियन्त्रण गर्न सकिन्छ:
– उपयुक्त उमेरमा विवाह गर्ने, बालविवाह तथा बहुविवाह रोक्ने,
– चार÷पाँच वर्षको जन्मान्तरमा बच्चा जन्माउने,
– छोराछोरी दुवै सन्तान हुन् । दुवैको बराबरी अस्तित्व स्वीकार गरी लैङ्गिक समानता कायम गर्ने, छोरा र छोरीबीच विभेद नगर्ने,
– महिलाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने,
– परिवारनियोजनका स्थायी र अस्थायी साधनलाई सर्वसुलभ बनाउने,
– जनसङ्ख्या नियन्त्रण गर्ने किसिमका जनचेतनामूलक कार्यक्रम लागू गर्ने,
– बसाइँ–सराइ व्यवस्थित गर्ने ।

५) सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ अनुसार मुलुकको प्रशासनिक कार्यसम्पादन गर्दा नेपाल सरकारले के–कस्ता नीति अख्तियार गर्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताका रूपमा रूपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिन तर्जुमा गरिएको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ को दफा ७ मा संविधान तथा अन्य प्रचलित कानुनमा व्यवस्था भएका नीति एवम् समय–समयमाअख्तियार गरिएका नीतिका अतिरिक्त मुलुकको प्रशासनिक कार्यसम्पादन गर्दा नेपाल सरकारले देहायका नीति अख्तियार गर्ने व्यवस्था छ;

क) आर्थिक उदारीकरण,
ख) गरिबी निवारण,
ग) सामाजिक न्याय,
घ) प्राकृतिक तथा अन्य सार्वजनिक स्रोतको दिगो तथा कुशल व्यवस्थापन,
ङ) महिला सशक्तीकरण तथा लैङ्गिक न्यायको विकास,
च) वातावरणीय संरक्षण,
छ) जनजाति, दलित, आर्थिक तथा सामाजिक रूपमा पिछडिएका वर्गको उत्थान,
ज) दुर्गम क्षेत्रको विकास तथा सन्तुलित क्षेत्रीय विकास,

यसरी अख्तियार गरेका नीतिलाई कार्यान्वयन गर्न नेपाल सरकारले समय–समयमा आवश्यक कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गर्ने व्यवस्था छ ।

स्रोत : गोरखापत्र -हेमचन्द्र शर्मा

प्रतिक्रिया दिनुहोस्