Hello NEw
लोक सेवा कानुन विशेष : स्वच्छ सुनुवाई भनेको के हो ?

शाखा अधिकृत (उच्च अदालत पोखरा)
स्वच्छ सुनुवाई (Fair Trail)
“Everyone is entitled in full equality to a fair and public hearing”.
अवधारणा
न्याय सम्पादन प्रक्रियालाई निष्पक्ष एवम् पूर्वाग्रह रहित रुपमा सम्पादन गर्न आवश्यक पूर्वशर्तको रुपमा स्वच्छ सुनुवाईको अधिकारलाई लिने गरिन्छ । वैयक्तिक स्वतन्त्रताको संरक्षण एवम् व्यक्तिको आधारभूत अधिकारको संरक्षणका लागि स्वच्छ सुनुवाई सम्बन्धी अवधारणा विकास भएको हो । अनुसन्धान गर्ने प्रहरी प्रशासन समक्ष र अड्डा अदालतमा मुद्दाको सुनुवाइको क्रममा सामान्य नागरिक पनि राज्य समान रहन्छ ।
न्यायको रोहमा सबैको हैसियत समान हुनुपर्छ। सवैले समान अवसर प्राप्त गर्नुपर्दछ । राज्यबाट सवैको समान संरक्षण हुनुपर्दछ । न्याय गरेर मात्र हुँदैन, गरेको जस्तो पनि देखिनु पर्दछ । न्याय वस्तुगत तथ्यमा आधारित हुनुपर्दछ । स्वच्छ सुनुवाइ वैयक्तिक स्वतन्त्रताको संरक्षण र अन्तर्राष्ट्रिय मापदण्डको पालना हुनुपर्ने दायित्वका आधारमा पनि अपरिहार्य र महत्वपूर्ण छ ।
स्वच्छ सुनुवाई के हो?
न्यायिक वा अर्धन्यायिक निकायबाट भएको निर्णय वा कारवाहीमा प्राकृतिक न्यायका सिद्धान्तको उल्लंघन नगरेको, अधिकारक्षेत्र ननाघेको, कार्यविधिगत त्रुटी नगरेको, पदिय दायित्व पूरा गरेको, वदनियत राखेको वा अधिकारको दुरुपयोग नगरेको अवस्था स्वच्छ सुनुवाई हो ।
प्राकृतिक न्यायको सिद्धान्त स्वच्छ सुनुवाईको मूल मर्म र आधार हो। पूर्वाग्रह रहित, सक्षम र कानूनी रुपमा अख्तियारप्राप्त न्यायकर्ताबाट विवादको निरोपण गर्नु, विवादका सबै पक्षलाई उचित र पर्याप्त सुनवाईको मौका प्रदान गर्नु, विवादका पक्षले आफू विरुद्ध भैरहेको न्यायिक कारवाहीको बारेमा यथासक्य छिटो र स्पष्ट रुपमा सूचना पाउनु, आफ्नो कानून व्यवसायी मार्फत् प्रतिवाद गर्ने अवसरको सुनिश्चितता हुनु, आधार र कारण सहितको निर्णय हुनु नै स्वच्छ सुनुवाई हो ।
स्वच्छ सुनुवाई किन ?
- राज्य शक्तिको दुरुपयोग रोक्न र स्वेच्छाचारी प्रयोग हुन नदिन,
- कार्यबिधि र प्रकृया अनुसार कारवाही गर्न,
- निर्दोषलाई जोगाउन र अन्याय हुन नदिन,
- आफ्नो मुद्यामा आफै न्यायाधीश हुनु हुँदैन अर्थात न्याय सम्पादनमा पूर्वाग्रह देखिन् हुँदैन, अर्को पक्षलाई जानकारी नदिई उसका विरुद्ध निर्णय गर्नु हुँदैन, अर्थात सुनुवाइको मौका नदिई कसैका विरुद्ध निर्णय गर्नु हुँदैन र निर्णयमा आधार र कारण खुलेको हुनुपर्दछ भन्ने प्राकृतिक न्यायको सिद्धान्तलाई पालना गर्न,
- To ensure the proper administration of justice in civil and criminal proceedings.
स्वच्छ सुनुवाईका सिद्धान्तहरु
- समानताको सिद्धान्त (Principle of Equality of Arms)
- वैद्यताको सिद्धान्त (Principle of Legality)
- निर्दोषिताको अनुमानसम्बन्धी सिद्धान्त (Principle of presumption of Innocence)
स्वच्छ सुनुवाईका हकहरु:
- मनोमानी गिरफ्तारी विरुद्धको हक
- पक्राउ र अभियोगबारे तुरून्त जानकारी पाउने हक
- रोजेको कानुन व्यवसायीसँग परामर्श गर्न पाउने हक
- यातना विरुद्धको अधिकार र मानवीय व्यवहार पाउने हक
- आफू विरुद्ध आफै साक्षी हुन कर लगाउन नपाउने हक
- न्यायाधीश वा मुद्दा हेर्ने अधिकारी समक्ष चौबीस घण्टाभित्र उपस्थित हुन पाउने हक
- निर्दोषिता अनुमानको हक
- प्रतिरक्षाको तयारीका लागि पर्याप्त समय र सुविधा प्राप्त गर्ने हक
- दोभाषे सेवाको हक
- सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायाधिकरणबाट सुनुवाइ गराई पाउने हक
- सार्वजनिक स्वच्छ सुनुवाइको हक
- आफू विरुद्ध भएको कारवाहीको जानकारी पाउने हक
- अदालती काम कारवाहीमा गोपनीयता कायम गर्ने हक
- उचित समयभित्र पुर्पक्षको हक
- आफै वा आफूले रोजेको कानून व्यवसायीद्वारा प्रतिरक्षाको हक
- निःशुल्क कानूनी सहायताको हक
- गैरकानूनी तरिकाबाट प्राप्त गरिएको प्रमाण प्रयोग गर्न बन्देजको हक
- साक्षी बोलाउने र परीक्षण गर्ने गराउने हक
- पश्चातदर्शी कानूनहरुबाट मुक्ति पाउने हक
- दोहरो खतरामा प्रतिवन्धको हक
- फैसलाको उपलब्धता र पुनरावेदन एवम् पुनरावलोकनको हक
- न्यायको चरम दुरुपयोग भएको अवस्थामा क्षतिपूर्तिको हक
स्वच्छ सुनुवाईका आधारभूत मान्यताहरु:
- सबैलाई समान रुपमा न्यायमा सहज पहुँचको अधिकार हुने
- जातजाती, धर्म, वर्ण, लिङ्ग, सम्प्रदाय वा उत्पतिको आधारमा कसैलाई पनि भेदभाव नगरिने,
- कसै उपर लगाइएको अभियोगको छिनोफानो कानुनद्वारा स्थापित सक्षम, स्वतन्त्र एवं निष्पक्ष न्यायिक निकायबाट हुने,
- न्यायिक निकायबाट हुने काम कारवाही खुला इजलासबाट हुने तर विशेष प्रकृतिका मुद्दामा बन्द इजलासबाट सुनुवाइ हुन सक्ने,
- कसै उपर लगाइएको आरोप प्रमाणित नभएसम्म निर्दोष भएको अनुमान गरिने,
- कसैलाई पनि कसूर स्वीकार गर्न बाध्य नपारिने, आफूले व्यक्त गरेको कुरा आफ्नै विरुद्व प्रमाण लाग्न सक्ने,
- मुद्दाको सुनुवाइ जानकारी दिएर मात्र गरिने,
- मुद्दाको कारवाहीको सिलसिलामा आफूले रोजेको कानुन व्यवसायीबाट आफ्नो प्रतिरक्षा गराउन पाइने,
- कसै विरुद्व लगाइएको अभियोगको लिखित जानकारी अर्थात अभियोगपत्रको प्रतिलिपि त्यस्तो मुद्दाको सुनुवाइ हुनुभन्दा अघि नै सम्बन्धित सरकारी वकील कार्यालयबाट उपलब्ध हुने,
- आफ्नो प्रतिरक्षा गर्ने क्रममा आफूले रोजेको कानुन व्यवसायीसँग सल्लाह लिन पाइने र कानुन व्यवसायीसँग भएको सल्लाह सार्वजनिक नहुने,
- न्यायिक कारवाहीको प्रत्येक चरणमा सरकारी कामकाजको नेपाली भाषा नबुझ्ने समुदायको लागि बुझ्न सक्ने गरी अनुवाद गर्ने दोभाषेको सहयोग प्राप्त हुने।
निष्कर्ष:
नेपालको संविधानको प्रस्तावनामा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणालाई स्विकार गरिएको छ । स्वच्छ सुनुवाइ कानूनी राज्य र प्राकृतिक न्यायका सिद्धान्तको जगमा उभिएको छ। कानूनको पालनामा समानता, कानूनको सर्वोच्चता, कानूनको अस्तित्व र वैधता तथा स्वतन्त्र र सक्षम न्याय प्रणाली कानूनी राज्यका आधारभूत तत्वहरू हुन् । निष्पक्षता, सुनुवाइको उचित मौका र तर्कपूर्ण निर्णय प्राकृतिक न्यायका आधारभूत तत्वहरू हुन् । स्वच्छ सुनुवाइको सिद्धान्तलाई मूलतः फौजदारी कसूरमा मात्र सीमित गरिएको भए पनि देवानी कारवाहीमा समेत यसको उत्तिकै महत्व रहेको छ ।
यसर्थ स्वच्छ सुनुवाइले के भयो भन्ने भन्दा पनि कसरी भयो भन्ने कुरासँग अर्थ राख्दछ । यसले मूलतः प्रक्रियागत स्वच्छता, सुनुवाइको अवसर, प्रतिवादको अवसर, प्रतिनिधित्वको अवसर, जवरजस्ती विरुद्धको अवसर, प्राकृतिक न्यायको अवलम्बन तथा पालना, निष्पक्षता, इमानदारिता तथा पक्षपात तथा स्वार्थरहित व्यवहारसँग सरोकार राख्दछ । खासगरी कानूनको दृष्टिमा समानता, कानूनद्वारा समान उपचारको हक र न्यायमा समान पहुँचको अधिकार सुनिश्चित गर्नु नै स्वच्छ सुनुवाइको मूल ध्येय हो ।
