Logo

Hello NEw

चार सचिवको अवकाश माघ २२ मा, गृहका लागि तीव्र प्रतिस्पर्धा



काठमाडौं, १६ माघ । गृहमन्त्रालयका सचिव प्रेमकुमार राई, उपराष्ट्रपति कार्यालयका रामकुमार आचार्य, अर्थसचिव राजन खनाल र नेपाल ट्रष्टका गजेन्द्र ठाकुर २०७६ माघ २२ मा अवकाश हुँदैछन् । उनीहरु अवकाश हुने भएपछि गृह मन्त्रालयको सचिवका लागि भने सचिवहरुको तीव्र दौड सुरु भएको छ ।

गृहसचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइराला, अख्तियार दुरुपयोग अनुशासन आयोगका महेश्वर न्यौपाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भूमिब्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने गृहमन्त्रालयको सचिवको लागि विभिन्न नेताहरुकोमा धाइरहेका छन् ।

१ नम्बर प्रदेशका प्रमुख सचिव सुरेश अधिकारी, २ नम्बर प्रदेशका रामकृष्ण सुवेदी पनि गृहसचिवको लागि दौडधुपमा छन् । सचिव नै बढुवा नभएका कलकत्ताका महाबाणिज्यदूत एकनारायण अर्याल पनि गृहसचिवको दौडमा छन् । उनी माघ २२ गते ४ सचिव अवकाश भएपछि रिक्त सिटमा बढुवा हुँदैछन् ।

बढुवा हुनासाथ गृहमन्त्रालयमै पदस्थापन हुने ध्यानमा उनी छन् । उनी गृहप्रशासनमा तनहुँ, हेटौंडा र काठमाडौंको प्रमुख जिल्ला अधिकारी भइसकेका काठमाडौंको प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । र, गृहमन्त्रालयमा लामै समय महाशाखा प्रमुखका रुपमा काम गरेको दाबा प्रस्तुत गर्दै प्रेम राईपछि आफू नै काबिल भएको जिकिर गर्ने गर्दछन् ।

सचिव बढुवा हुनासाथ प्रदेशमा खटाउने चलन रहिआएको छ । तर यसअघि सूर्यप्रसाद गौतमलाई वर्तमान प्रधानमन्त्री केपी ओलीले बढुवा हुनासाथ प्रदेशमा नखटाई महालेखा नियन्त्रक बनाएको नजीर भएकाले अर्याल पनि पदोन्नति भएपछि गृहमै पदस्थापन नहोलान् भन्न नसकिने स्रोत बताउँछ । उनको दौडधुपले यस्तै संकेत गरेको छ।

त्यसो त विगतमा माओवादी केन्द्रका हरेक मन्त्रीले रुचाएका रामकृष्ण सुवेदी पनि गृहकै लबिङमा छन् । यी सबै विगतमा आफू एमाले वा माओवादी केन्द्र निकट भएको भन्दै नेताहरुको घर घरमा धाइरहेका छन् ।

गृहसचिव प्रेमकुमार राई आफ्नै जिल्ला संखुवासभा घर भएका भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई आफू अवकाश भएपछि गृहप्रशासन सुम्पन चाहिरहेका छन् । उनले प्रधानमन्त्री ओलीलाई यसमा कन्भिन्स पनि गरिसकेका छन् ।

जागिरे जीवनमा शिक्षा मन्त्रालयमै बिताएका गौतमसँग गृहप्रशासनको अनुभव छैन । सचिव गौतमले लोकसेवा आयोगले लिएको शिक्षा संकायको परीक्षामा श्रीमती इन्दिरा ढकाललाई पास गराएको आरोप लागेको थियो । महालेखा नियन्त्रकको कार्यालयका प्रमुख हुँदा लेखा समूहका कर्मचारीको सरुवामा घुस खाएको आरोप उनीमाथी लागेको थियो ।

महेश्वर न्यौपानेले प्रधानमन्त्री ओलीसँग काम गर्ने मौका नपाएकाले उनको क्षमताबारे जानकारी नभएकाले उनी गृहमा जाने संभावना कम छ । केदारबहादुर अधिकारीको पनि प्रधानमन्त्री ओलीसँग हिमचिम पातलै छ । उनी गृह नपाए अर्थमन्त्रालयको राजस्व सचिव ताकिरहेका छन् ।

माघ २२ मा प्रेम राईसँगै अर्थसचिव राजन खनाल पनि अवकाश हुने भएकाले अब ढुंगाना अर्थ मन्त्रालयकै सचिव हुनेछन् । अब अर्थमा पनि राजस्व सचिव छुट्टै नराखी ढुंगानामात्र एक सचिव हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्