Logo

Hello NEw

निजामती सेवालाई समावेशी बनाउने पदपूर्तिसम्बन्धी व्यवस्था सहित यसको विशेषता र समस्याहरू उल्लेख गर्नुहोस्



१. निजामती सेवालाई समावेशी बनाउन कस्तो किसिमको पदपूर्तिसम्बन्धी व्यवस्था अपनाइएको छ ? निजामती सेवामा पदपूर्तिसम्बन्धी व्यवस्थाका विशेषता र समस्याहरू उल्लेख गर्नुहोस् ।

निजामती सेवामा रिक्त भएका पदहरू नयाँ कर्मचारी भर्ना गरेर तथा पुराना कर्मचारीको बढुवा गरेर कर्मचारी आपूर्ति गर्ने कार्य पदपूर्ति हो । आन्तरिक र बाह्य पदपूर्ति गरी पदपूर्ति दुईप्रकारका हुन्छन् । नेपालमा निजामती सेवालाई समावेशी बनाउन बाह्य पदपूर्ति अर्थात् खुला पदपूर्तिअन्तर्गत पूर्ति हुने पदहरू सहसचिव १० प्रतिशत, उपसचिव १० प्रतिशत, शाखा अधिकृत ७० प्रतिशत, नायव सुब्बा ४० प्रतिशत र खरिदार पदमा ७० प्रतिशतको व्यवस्था छ र यही खुला प्रतियोगिताबाट पूर्ति हुने प्रत्येक पदमा रिक्त पदको ४५ प्रतिशत पद छुट्ट्याई सो पदलाई सतप्रतिशत मानी देहायका उम्मेदवारबीचमा मात्र प्रतिस्पर्धा गराएर पदपूर्ति गर्ने व्यवस्था छ :

क. महिला     ३३ प्रतिशत 
ख. आदिवासी/जनजाति     २७ प्रतिशत 
ग. मधेसी    २२ प्रतिशत 
घ. दलित     ९ प्रतिशत 
ङ. अपाङ्ग    ५ प्रतिशत 
 च. पिछडिएको क्षेत्र    ४ प्रतिशत 
पिछडिएको क्षेत्रमा डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा, जाजरकोट र अछाम गरी ९ जिल्ला राखिएको छ ।

पदपूर्तिसम्बन्धी व्यवस्थाका विशेषता:
–    पदपूर्ति कार्यमा लोकसेवा आयोगको संलग्नता,
–    लोकसेवा आयोगले रिक्त पदको माग सङ्कलन गरी विज्ञापन गर्ने, पदपूर्तिको प्रतिशत निर्धारण गर्ने,
–    निजामती सेवामा कार्यरत अनुभवी कर्मचारीका लागि आन्तरिक पदपूर्ति अर्थात् बढुवाको व्यवस्था, 
–    सक्षम एवम् नयाँ जनशक्तिका लागि खुला प्रतिस्पर्धा अर्थात् बाह्य पदपूर्तिको व्यवस्था,
–    निजामती सेवामा कार्यरत कर्मचारी पनि खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था,
–    निजामती सेवालाई समावेशी बनाउन खुला प्रतिस्पर्धाको ४५ प्रतिशत आरक्षणको व्यवस्था,
–    दर्खास्त सङ्कलन, दर्खास्त रुजु र स्वीकृति, शैक्षिक योग्यता एवम् पाठ्यक्रम निर्माण, परिमार्जन तथा संशोधन, प्रश्नपत्र निर्माण, लिखित परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, लिखित परीक्षा नतिजा, अन्तर्वार्ता हुँदै योग्यताक्रम सिफारिसका सबै कार्य लोकसेवा आयोगले गर्ने हुँदा पदपूर्ति गर्ने कार्य निष्पक्ष भएको,
–    तोकिएको उमेरभित्रैका व्यक्ति पदपूर्तिमा सहभागी हुन पाउने, सेवाभित्रका कर्मचारीलाई उमेरको हद नलाग्ने, 
–    प्रत्येक पदमा चाहिने शैक्षिक योग्यता र अरू आवश्यक योग्यता तथा सर्तहरू विज्ञापन हुँदा नै स्पष्ट गरिने,

पदपूर्तिसम्बन्धी व्यवस्थाका समस्या:
नेपालको निजामती सेवामा पदपूर्ति कार्यलाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि निजामती सेवाको पदपूर्ति कार्य समस्यामुक्त हुन सकेको छैन, पदपूर्ति कार्यमा देखिएका समस्यालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
–    निजामती सेवामा कुल दरबन्दी सङ्ख्या, कार्यरत कर्मचारी सङ्ख्या र रिक्त पद सङ्ख्या अपडेट हुन नसक्नु,
–    रिक्त पदको सूचना लोकसेवा आयोगमा समयमै नगर्नु,
–    कतिपय अवस्थामा रिक्त पद लुकाउने प्रयास गर्नु,
–    रिक्त पदपूर्ति गर्ने प्रक्रिया छिटोछरितो हुन नसक्नु,
–    पदपूर्तिको विज्ञापनका लागि एक वर्ष कुर्नुपर्ने अवस्था हुनु, 
–    पदपूर्ति गर्ने कार्यमा सरकारी कार्यालयबीच कार्यगत समन्वय हुन नसक्नु,
–    कर्मचारीको व्यक्तिगत अभिलेख व्यवस्थित हुन नसक्दा वास्तविक रिक्त पद पहिचानमा समस्या हुनु,
–    खुला परीक्षा प्रणाली बढी सैद्धान्तिक हुनु,
–    लोकसेवा आयोगले लिने परीक्षाको पाठ्यक्रम र सेवा प्रवेशपछि गर्नुपर्ने कार्यबीच तालमेल हुन नसक्नु,
–    स्वदेश विदेशमा पढेका, घुमेका, बुझेका, उच्च अङ्क ल्याएका नवप्रतिभालाई पदपूर्ति व्यवस्थाले आकर्षण गर्न नसक्नु,
–    बढुवा प्रणाली पारदर्शी र अनुमानयोग्य हुन नसक्नु,
–    आरक्षणबाट गरिने पदपूर्तिले लक्षित वर्गलाई फाइदा पु¥याउन नसक्नु, कतिपयले दोहोरो तेहेरो सुविधा पाउनु, कतिपयले पाउँदै नपाउनु, 

अन्त्यमा, निजामती सेवा मुलुकको आर्थिक, सामाजिक रूपान्तरण गर्ने सरकारको एक स्थायी संयन्त्र हो, त्यसैले यो चुस्त, दुरुस्त, जनमुखी एवम् प्रभावकारी हुनुपर्छ । यसका लागि सक्षम एवम् उत्प्रेरित जनशक्ति आवश्यक पर्ने भएकाले त्यस्ता जनशक्तिलाई पदपूर्ति प्रक्रियामा सुधार ल्याएर निजामती सेवामा प्रवेश गराउनुपर्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्