Logo

Hello NEw

कोरोना संन्त्रास : मृत्यु हुनेको संख्या ४२५ पुग्यो



काठमाडौं, २१ माघ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ४२५ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र २० हजार भन्दा वढीमा संक्रमित भएको छ भने विश्वका २४ मुलुकमा देखा परेको छ ।

चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ, तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहान समेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नुका साथै सवारी साधनहरु बन्द गरेको छ ।

विश्व स्वास्थ्य संगठनले गत बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्यूजील्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।

मंगोलिया, रसियाले सीमानाका बन्द गरेका छन्, र पपुवा न्यूगिनीले एसियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ ।

फिलिपिन्समा मृत्यु भएका व्यक्ति पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ ।

बेलायत, रसिया र स्वीडेनले पनि यस साता कोरोना भाइरसका कारण आफ्ना नागरिक संक्रमित भएको जनाएका थिए ।

अघिल्लो दिनको तुलनामा थप ६४ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कूल संक्रमित व्यक्तिको संख्या १७ हजार ५०० पुगेको छ ।व्यक्तिबाट व्यक्तिमा हावाबाट सर्ने भएका कारण यो भाइरस चाँडै फैलिने गर्दछ । त्यहीकारण करिब एक करोड १० लाख जनसंख्या भएको उहानमा जनवरी २३ देखि मानिसको आवातजावतमा कडाई गरिएको छ । उहान शहर हुवेई प्रान्तको राजधानी शहर पनि हो । हुवेई प्रान्तमा करिब ५ करोड मानिसको बसोबास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्