Hello NEw
सप्तरीका सबै स्थानीय तहले गरे सेवा प्रवाह बन्द
राजविराज, २३ माघ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका छन् । मेयर शिवनारायण साहमाथि हातपात भएको विरोधमा बिहीबार जिल्लाका सबै स्थानीय तहले सेवा प्रवाह बन्द गरेका हुन् ।
डाक्नेश्वरी ५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमै केही व्यक्तिहरुको समूहले मंगलबार मेयर साहसहित कर्मचारीलाई रोकेर हातपात गरेको जिल्ला समन्वय समितिले जानकारी दिए ।
मेयर साहले डाक्नेश्वरी नगरपालिका ५ का अमरेन्द्र यादव, अर्जुन यादव, महेश्वरप्रसाद यादव, वडानम्बर ३ बस्ने राजीवकुमार राय, ज्योतिषकुमार राय, वडानम्बर ७ बस्ने गजेन्द्रप्रसाद साहलगायतका व्यक्तिले हेलमेट, बाँसको भाटा लिएर आफूसहित गाडीमा रहेका कर्मचारीमाथि हमला गरेको बताएका छन् ।
मेयरमाथि भएको हमलाको विरोध गर्दै राजविराजस्थित जिल्ला समन्वय समितिमा बसेको बैठकले बिहीबार जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरेको थियो । मेयरमाथि हमला गर्ने व्यक्तिलाई बिहीबार कारवाही प्रक्रिया अगाडि नबढाए लगातार स्थानीय तह बन्द गरिने जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए ।
