Logo

Hello NEw

फागुनदेखि नारायणीमा पानी जहाज



भरतपुर, २६ माघ । नारायणी नदीमा आगामी फागुन महिनाबाट क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाज सम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै जहाज निर्माण शुरुआत भएको थियो ।

क्रुजसीपमा बिहानी खाना (ब्रेकफाष्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना (डिनर क्रुज) का लागि अनलाइन बुकिङ समेत खुला गरिँदैछ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने पनि व्यवस्था मिलाइँदैछ । जहाज भित्र नै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् ।

भुइँतलामा ९० वटा कुर्ची , बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए । दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ । क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीनरतीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट शुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् । नेपालमा व्यावसायिकरूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ ।

क्रुजसीपको सञ्चालनका लागि आवश्यक तीन जना क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी रहेका छन् । दीर्घकालीनरूपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने जनाइएको छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरेको हो । क्रुजमा दुई इञ्जिन रहेका छन् । क्रुजको गति प्रतिघण्टा ३५ किलोमिटर हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि १५ करोड हाराहारी खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्