Logo

Hello NEw

नेपालको अन्तराष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति



नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
नेपाल दुई विशाल छिमेकी मुलुकहरू भारत र चीनबीचमा अवस्थित एक भूपरिवेष्टित राज्य हो । देशको अस्मितालाई जोगाइराख्न नेपाल कहिले तिब्बत र चिनसँग जुध्नुपर्यो त कहिले अङ्ग्रेजसँग । विगतमा ज्यादै कठिन दिनहरूमा पनि नेपाल कसैको अधीनमा रहेन आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रतालाई जोगाई राख्न सक्षम भयो । सन् १८१६ (वि.सं. १८७३) मा भएको सुगौली सन्धिभन्दा पछाडि नेपालको परराष्ट्र नीतिले नयाँ दिशा लिएको देखिन्छ भने बेलायतसित कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालको आधुनिक विश्वसँग नियमित सम्पर्क सुरु भएको मान्न सकिन्छ ।

राणाकालमा केवल भारत र बेलायत दुई देशसँगमात्र सम्बन्ध राखेको देखिन्छ । सोलोमन आइल्याण्ड र नेपालबीच सन् २०११ डिसेम्बर १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या १३३ पुगेको छ । नेपालको परराष्ट्र सम्बन्धको औपचारिक सुरुवात भने सन् १८५० मा जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरेसँगै प्रारम्भ भएको पाइन्छ । त्यस्तै सन् १९२३ मा चन्द्रशमसेरका पालामा ब्रिटिश सरकार र नेपालबीच शान्ति र मैत्री सन्धिमा हस्ताक्षर भएको थियो ।

वि.सं. २००७ सालको राजनैतिक परिवर्तनपश्चात् चीन, सोभियत सङ्घ र फ्रान्ससँग नेपालको दौत्य सम्बन्ध स्थापना भएपछि नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवेश गरेको हो । १४ डिसेम्बर १९५५ मा नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य बन्यो र यसैसाल एफ्रो एशियाली सङ्गठनको बाङ्गडुङ सम्मेलनमा भाग लियो । सन् १९६१ देखि असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा सम्मिलित भई सक्रिय सदस्यका रूपमा नेपालले आजपर्यन्त विश्वको विभिन्न मञ्चहरूमा भाग लिँदै आएको छ । असंलग्न शिखर सम्मेलनमा नेपालले उपनिवेशवाद, जातीवाद, रङ्गभेद नीति, भूपरिवेष्टित राष्ट्रहरूको पारवहन अधिकार आदि विषयहरूमा आफ्नो धारणा राख्दै आएको छ । असंलग्न परराष्ट्र नीतिकै कारण नेपालको अन्तर्राष्ट्रिय जगतमा कुनै पनि बाह्य दबाब रहेको छैन र यो नै नेपालको परराष्ट्र नीतिको आधार स्तम्भ बन्न पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घको घोषणा पत्रअनुसार नेपालले बेलाबेलामा निशस्त्रीकरण, रङ्गभेद नीति उपनिवेशवादको विरोध एवं कुनैपनि देशमा विदेशी फौजको हस्तक्षेप विनाशर्त हटाउनुपर्दछ भन्ने दृष्टिकोण राख्दै आएको छ । फलस्वरूप नेपाल दुई पटकसम्म सुरक्षा परिषद्को सदस्यमा समेत निर्वाचित भयो । संयुक्त राष्ट्रसङ्घले बेलाबेलामा गठन गरेको समितिहरूमा पनि नेपाल संलग्न भएको छ । असंलग्न परराष्ट्र नीतिले विश्व समुदायबीचमा नेपालको सकारात्मक प्रभाव पारेको छ । संयुक्त राष्ट्रसङ्घको युनेस्को, डब्लु.एच.ओ.जस्ता निकायहरूको सदस्यता पनि नेपालले पाएको छ । असंलग्न आन्दोलनको एक संस्थापक सदस्य भएको नाताले नेपाल विश्वशान्तिको कामना गर्दछ ।

प्रजातन्त्रको पुनस्थापनापछि आएको नेपाल अधिराज्यको संविधान, २०४७ ले देशको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रतालाई कायम राखी अन्र्तराष्ट्रिय सम्बन्ध निर्देशित हुने कुरा उल्लेख गरेको थियो । संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताको आधारमा नेपालको परराष्ट्र नीति सञ्चालन हुँदै आएको छ । छिमेकी मित्र राष्ट्रहरू र अरू सबै मुलुकहरूसित आर्थिक, सामाजिक एंव अन्य क्षेत्रमा समानताको आधारमा सहयोगात्मक सुसम्बन्ध कायम गरी नेपालमा शान्तिलाई अन्तर्राष्ट्रिय मान्यताको आधारमा संस्थागत गर्दै जाने नीति राज्यले अवलम्बन गर्नेछ भन्ने व्यवस्था गरी देशको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउन नेपाल प्रतिबद्ध रहेको प्रष्ट हुन्छ ।

नेपालको परराष्ट्र नीति र यसका मूल आधारहरू:
राणाकाल सुरु हुनुभन्दा अघि नेपाल अति दुर्गम मुलुकको रूपमा रहेकाले नेपालको वैदेशिक सम्बन्ध विस्तार हुन पाएन । पहिला राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले राणा शासनलाई अक्षुण र चिरस्थायी बनाउन अङ्ग्रेजहरूलाई खुशी पार्ने नीति अपनाएका थिए । यसै उद्देश्यले उनले भारतलगायत बेलायतको समेत भ्रमण गरेका थिए । जङ्गबहादुर राणाले अपनाएको नीतिलाई उनका उत्तराधिकारीहरूले पनि अपनाए । तर सन् १९४७ मा अङ्ग्रेजहरू भारतबाट फिर्ता हुन बाध्य भएपछि नेपालका राणा शासकहरू अनाथ र असहाय झैं बन्नुपर्यो । परिणामस्वरूप राणाशाहीको पतन भई नेपालमा प्रजातन्त्रको स्थापना भयो ।

२००७ सालसम्म भारत, बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिका गरी चार मुलुकहरूसँग दौत्य सम्बन्ध कायम भैसकेकाले राणाकालको अन्त्यतिर वैदेशिक सम्बन्ध विस्तारमा केही विविधीकरण देखिए पनि परराष्ट्र नीतिको ठोस आधार भने तयार भएको थिएन । राणाशासनको पतन भई प्रजातन्त्रको उदय भएपछि तत्कालीन एकलकाटे नीतिमा परिवर्तन आयो र नेपालले अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सक्रियताका साथ भाग लिन थाल्यो । संयुक्त राष्ट्रसङ्घको मूल्य र मान्यताप्रति आस्था, असंलग्नता एवं छिमेकी मुलुकहरूसँग मैत्रीपूर्ण सम्बन्ध नै नेपालको परराष्ट्र नीतिका प्रमुख आधारहरू हुन् ।

नेपालको परराष्ट्र नीतिका प्रमुख आधारहरूलार्इ निम्नानसुार उल्लेख गर्न सकिन्छः

१) असंलग्नता :
कुनै शक्ति राष्ट्रको सैनिक गठबन्धनमा संलग्न नरही अन्तर्राष्ट्रिय घटनाक्रमप्रति निरपेक्ष वा तटस्थ दृष्टिकोण अवलम्बन गर्नु नै असंलग्नता हो । असंग्लनता भनेको कुनै गठबन्धनबाट स्वतन्त्र रहनु हो । तर विश्व घटनाप्रति मौनदर्शक बन्नु कदापि होइन । नेपाल प्रारम्भदेखि नै असंलग्न आन्दोलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ ।

२) पञ्चशीलप्रति आस्था :
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको क्रममा पञ्चशीलको निम्न ५ बुँदाहरूलाई प्रमुख आधारका रूपमा लिइएको छ जुन नेपालको परराष्ट्र नीतिको एक महत्वपूर्ण आधार होः
क) एकले अर्को मुलुकको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने,
ख) अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने,
ग) समानता र पारस्परिक हित कायम गर्ने,
घ) अनाक्रमण (एकले अर्को मुलुकविरूद्ध आक्रमण नगर्ने)
ङ) शान्तिपूर्ण सहअस्तित्वको भावनालाई स्वीकार गर्ने ।

३) संयुक्त राष्ट्रसङ्घप्रति आस्था :
संयुक्त राष्ट्रसङ्घप्रति आस्था र विश्वास राख्दै विश्व शान्ति र राष्ट्रराष्ट्रबीच मैत्री र सहयोग अभिवृद्धि गर्न यसको भूमिका र प्रभावकारिता बढाउनुपर्ने कुरामा जोड दिइँदै आएको छ । विश्वशान्तिको स्थापना गर्न संयुक्त राष्ट्रसङ्घअन्र्तगत लेवनान र इजरायलको सीमाक्षेत्र, युगोस्लाभिया र सोमालिया आदि मुलुकहरूमा शान्ति सेना खटाइएको छ ।

४) क्षेत्रीय सहयोग :
अभिवृद्धि गर्न जोड छिमेकी मुलुकहरूबीच सहयोग र समझदारी बढाउन सन् १९८५ मा स्थापित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) उपयुक्त हुने हुँदा यसको प्रभावकारिता र सुदृढीकरणका लागि नेपालले जोड दिंदै आएको छ । सार्क सचिवालयको स्थापना नेपालमा हुनुलाई यसै परिप्रेक्ष्यमा हेर्न सकिन्छ ।

५) निःशस्त्रीकरण :
शस्त्रास्त्रको हाडेबाजीलार्इ न्यनू गरी त्यस क्षत्रेमा भइरहकेो अथाह धनराशिलाई शिक्षा, स्वास्थ्य आदि क्षत्रेमा लगानी गरी सामाजिक सवोको स्तर बढाउनपुर्न एवं आणविक हातहतियार हटाउन नेपालले आफ्नो आवाज बलुन्द बनाएको छ ।

६) भूपरिवेष्टित मुलुकको हकहितको सुरक्षा :
नेपाल एक सानो तथा विकासोन्मुख मुलुक भएकोले सबै भूपरिवेष्टित मुलुकहरूले व्यहोर्नुपरेको समस्याको उचित रूपमा निराकरण गर्दै यी मुलुकहरूको हक हित सुरक्षित गर्नुपर्ने कुरामा जोड दिंदै आएको छ ।

७) साना तथा अविकसित मुलुकहरूको हकहितको सुरक्षा :
नेपाल एक सानो तथा विकासोन्मुख मुलुक भएकाले यसले आफूजस्ता मुलुकहरूको हकहित अभिवृद्धि गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा जोड दिंदै आएको छ ।

८) समस्याको शान्तिपूर्ण समाधान :
कुनै पनि अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान हुनुपर्ने कुरामा जोड दिंदै बल प्रयोग, धम्की तथा युद्ध कुनै पनि समस्याको स्थायी समाधान होइन भन्ने कुरामा नेपाल विश्वस्त छ ।

९) असल छिमेकीपनको भावना :
नेपाल दुई ठूलाठूला मुलुक (भारत र चीन) द्वारा घेरिएको सानो मुलुक भएकाले यी दुवै मुलुकसँग समान र सुमधुर सम्बन्ध कायम गर्दै विश्वका अन्य मुलुकहरूसँग पनि मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नीति नेपालले लिएको छ ।

१०) दबाब र भेदभावको विरोध :
नेपालले साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवाद, विस्तारवाद, जात तथा रङ्गभेदभाव, प्रभुत्ववाद आदिको खुल्ला रूपमा विरोध गर्दै स्वाधिनता एवं रङ्गभेदविरोधी आन्दोलनको समर्थन गर्दै आएको छ ।

११) स्वतन्त्र परराष्ट्र नीति :
नेपालले विश्व रङ्गमञ्चमा कसैको अनुयायी नभई आफ्नो न्यायिक मन र विवेकको प्रयोग गरी स्वतन्त्र रूपमा आफ्नो स्पष्ट अवधारणा राख्दै आएको हुँदा नेपाल असंग्लन राष्ट्र भए पनि विश्वघटनाहरूप्रति संवेदनशील हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्