Logo

नसुध्रिने मन्त्रीको टिकट काटिन्छ



नेकपाका युवा नेता योगेश भट्टराई सधैं केपी ओलीका स्थायी प्रतिपक्षजस्ता प्रतीत हुन्थे । योसाता स्थायी कमिटीको बैठक सकिएपछि हामीले भेट्दा उनी निकै प्रफुल्ल मुद्रामा प्रस्तुत भए । सांसद भट्टराईले भने- ‘प्रधानमन्त्रीले सरकारले गरेको काममा पनि काँध थाप्नुस् भन्नुभयो । हामी त त्यही भारी बोक्न नपाएर छटपटिरहेका थियौं, त्यसैले बोक्छौं भनेका छौं ।’

स्थायी कमिटीको बैठकपछि नेकपाका सबै नेताहरुको अनुहार उज्यालो बनेको भट्टराईले दाबी गरे । माधव नेपालको पनि भूमिका बैठकमा राम्रो देखिएको उनले सुनाए । साथै, अब आफ्नो कार्यशैली नसुधार्ने मन्त्रीहरुको टिकट काटिने भट्टराईले ठोकुवा गरे । प्रधानमन्त्रीले सरकारका कामबारे नियमित रिपोर्टिङ गर्ने आश्वासन दिएको उनले बताए ।

नेकपाको बैठकमा के कस्ता छलफलहरु भए ? राजनीतिक वैचारिकरुपमा बैठकले कस्तो बाटो अंगीकार गर्‍यो ? यिनै विषयमा युवा नेता भट्टराईसँग गरेको कुराकानीः

हालै सम्पन्न स्थायी कमिटी बैठकका उपलब्धी के के हुन् ? १, २, ३…

पहिलो, लामो समयपछि हाम्रो पार्टीमा धेरै राम्रो ढंगले खुला खुलस्त छलफल भयो । केही निष्कर्ष ननिस्किएको भए पनि मैले यसलाई उपलब्धी मान्थेँ । किनभने, पार्टीमा जिम्मेवार नेताहरुले आफ्नो कुरा बिना हिच्किचाहट राखे । यसले पार्टीलाई मन्थन गर्‍यो । पार्टी एकतापछि मात्र होइन, नेकपा एमालेमै पनि पछिल्लो समय यस्ता छलफल हुन सकेको थिएन । बैठकहरु बस्थे तर, ज्यादा औपचारिकतामा सीमित हुन्थे । नेताहरु आउने, एक दुईवटा भाषण गर्ने हिँड्ने । त्यसैलाई बैठक भन्थ्यौं हामी । तर, योपटक हामीले अन्तरकुन्तर, वादप्रतिवाद मात्र होइन, आरोपप्रत्यारोप पनि गर्‍यौं । त्यसैले यो राम्रो भयो ।प्रधानमन्त्रीले सरकारबारे नियमित पार्टी संगठनमा रिपोर्ट गर्छु, सरकारले गरेको काममा पनि काँध थाप्नुस् भन्नुभयो । हामीले भन्यौं, हामी त त्यही बोक्न नपाएर छटपटिरहेका थियौं ।अब तपाईले बोक्ने भारी दिनुभयो, बोक्छौं

दोस्रो, पार्टी एकीकरणमा ढिलाइ भएको हो भन्ने साझा निष्कर्षमा हामी पुग्यौं । त्यसका निम्ति पुस महिनाभित्र पार्टी एकीकरणका बाँकी काम सम्पन्न गर्ने भनेर कार्यदल बनायौं । अब कार्यदलले पार्टी एकताबारे स्पष्ट मापदण्ड तय गर्छ । विगतमा भएका सांगठनिक निर्णयहरुको पनि पुनरावलोकन गर्छ र एउटा प्रतिवेदन १० दिनभित्र अध्यक्षलाई बुझाउँछौं । उहाँहरुले त्यसको अध्ययन गरेपछि तुरुन्तै स्थायी कमिटी बैठक बसेर पुस मसान्तभित्र जिल्ला र तहसम्म एकीकरण सक्ने गरी कार्ययोजना बनाउँछौं ।

तेस्रो, हाम्रो पार्टीमा आलोचना, आत्मालोचनाको प्रणालीहरु ध्वस्त भएका थिए, कमजोर भएका थिए । यस पटक नेतृत्वको सन्दर्भमा पनि पर्याप्त आलोचना भए, नेताहरुले पनि आफ्ना गुनासा र कतिपय सन्दर्भमा अरुका कमजोरी खुलस्त राखिदिनुभयो । जस्तो- कतिपय सन्दर्भमा मैले अध्यक्षले यस्तो गर्नुभयो, उस्तो गर्नुभयो भनें, अध्यक्षको सन्दर्भमा यो आलोचना भयो । अध्यक्षले पनि मलाई तपाईको पनि यी कमजोरी छन् भन्नुभयो । त्यो धेरै राम्रो भयो । यसले कम्युनिस्ट पार्टीको आलोचना-आत्मालोचनाको पराम्परालाई फेरि पुनर्स्थापित गर्न खोज्यो ।

चौथो, पुरानो एमाले र माओवादीबीच घुलमिल नै भएको थिएन । एकता गर्‍यौं, आ-आफ्नो बाटो हिँड्यौं । हामी प्रचण्ड कमरेडलाई भेट्न नजाने, माओवादी साथीहरु केपी ओली वा अरु कमरेडलाई भेट्न नआउने । माओवादी साथीहरु पेरिसडाँडातिर जाने, एमाले साथीहरु धुम्बाराहीतिर जाने यस्तै चलिरहेको थियो । तर, लगातार ११/१२ दिन पार्टी कार्यालयमै बैठक बसेर एकअर्कालाई राम्ररी चिन्ने मौका पायौं ।

त्यस अर्थमा अध्यक्ष प्रचण्डले मेरा लागि अहिलेसम्मकै सबैभन्दा उन्नत स्कुल हो भन्नुभएको छ यो बैठकलाई । केपी कमरेडले बैठक समापन गर्दा हामी सम्पूर्ण ढंगले केन्द्रीकृत भयौं र पार्टीलाई केन्द्रीकृत गर्‍यौं भन्नुभएको छ । नेताहरुले यो महसुुस गर्नु बैठकको उपलब्धी हो ।

पाँचौं, सरकारबारे हामी ज्यादा सार्वजनिक टिप्पणीहरु गरिरहेका थियौं । त्यो स्वभाविक किन थियो भने आन्तरिक प्लेटर्फमहरु जीवित नभएपछि बाहिर चर्चा हुन्थ्यो । त्यसलाई प्रधानमन्त्रीले हाम्रो कमजोरीका रुपमा पनि औंल्याउनुभयो र भन्नुभयो, किन बाहिर बोल्नुभयो ? हामीले भन्यौं, तपाईले भित्र बोल्ने वातावरण बनाउनुभएन, त्यसैले बाहिर बोल्यौं । भित्र बोल्ने वातावरण बनाउनुस्, बाहिर बोलिन्न ।

प्रधानमन्त्रीले त्यसलाई स्वीकार गर्नुभयो र सरकारबारे नियमित पार्टी संगठनमा रिपोर्ट गर्छु, सरकारले गरेको काममा पनि काँध थाप्नुस् भन्नुभयो । हामीले भन्यौं, हामी त त्यही बोक्न नपाएर छटपटिरहेका थियौं । त्यसैले तपाईले बोक्ने भारी दिनुभयो, बोक्छौं भनेका छौं । त्यसैले सरकारबारे पनि थप स्पष्ट भएको छ र यो बैठकले प्रधानमन्त्रीलाई सरकारलाई अझ चुस्त, गतिशील र फुर्तिलो बनाउन के-के सुधार गर्नुपर्ने रहेछ भन्ने पर्याप्त ज्ञान भएको छ ।

निष्कर्षमा भन्दा पार्टीभित्रका केही असमझदारी हटाउँदै, कम गर्दै थप एकतावद्ध, सुदृढ गरेको छ, पार्टी नेता कार्यकर्तामा आशावादिता जगाएको छ । कार्यकर्तामा भएको आशावादिता जनस्तरमा सञ्चार भयो भने हामीबारे भएको टीकाटिप्पणी मत्थर हुँदै जानेछ ।

माघ दोस्रो, तेस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने समझदारी भएको छ । फागुन र चैतमा देशव्यापी संगठनात्मक अभियानमा जान्छौं, त्यसको पूर्वाधार यो बैठकले तयार गरेको छ ।

तपाईले यो बैठकबाट उत्साहको सञ्चार भएको छ भन्नुभयो । तर, बैठकमा त नयाँ गुट पो जन्मिएको देखियो । वामदेव गौतमले फरक मत नै राख्नुभयो नि ?

वामदेव कमरेडले केही असहमतिहरु प्रष्ट भाषामा राख्नुभएको छ । उहाँका कतिपय कुरामा म सहमत नहुन सक्छु । तर, आफ्ना कुरा राख्ने जुन साहस गर्नुभएको छ, त्यसको प्रशंसा गर्छु । कतिपय वैचारिक कुरा छन्, कतिपय प्रधानमन्त्रीको कार्यशैलीगत छन् । कतिपय चाहिँ प्रधानमन्त्री र उहाँबीचमा, अझै प्रष्टभन्दा केपी ओली र बामदेव गौतमको बीचमा विगतमा भएका समझदारीहरु र त्यो खल्बलिँदा उत्पन्न भएका प्रतिक्रियाका रुपमा पनि आएका छन् ।

यो पार्टी निर्माणमा वामदेव गौतमको अतुलनीय भूमिका छ, यसलाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन । उहाँ हाम्रो पार्टीको कुशल संगठक हो, जबरजस्त मास लिडर पनि हो र हिम्मतिलो नेता पनि हो । अप्ठ्यारो पर्दा पार्टीलाई धेरै काँध थाप्नु पनि भएको छ । कतिपय उहाँका अस्थिर सोचहरुले पार्टीलाई घाटा पनि भएको छ । शायद ७० वर्ष टेकेका वामदेवबारे ज्यादा टिप्पणी गर्नु उपयुक्त हुँदैन ।

हाम्रो प्रश्न, यो बैठकमा केपी र वामदेवबीच दुरी घट्ने संकेत देखियो कि झनै बढ्यो ?

यो बैठकले हाम्रो पार्टीको सिंगो स्थायी कमिटीका ४५ जना र पदेन साथीहरुसहित ५१ जनाको दुरीलाई घटाएको छ । बैठक सुरु हुनुभन्दा अगाडिको अवस्था हेर्दा बढ्छ कि भन्ने चिन्ता थियो । हामी अलि टाढाटाढा जाँदै थियौं तर, बैठकमा हामीले एकअर्कालाई माझ्यौं ।

जसरी साबुन र जाली लगाएर माझ्दै जाँदा भाँडाहरु टल्किन्छन्, उज्यालो हुन्छ । मलाई लाग्छ, यो बैठकमा हामीले एकअर्कालाई मस्काउँदा सबैको अनुहार उज्यालो नै भएको छ ।

तर, वरिष्ठ नेता माधवकुमार नेपालको अनुहारचाहिँ अँध्यारो भयो भन्छन् नि ? एशिया प्यासिफिक समिटलाई लिएर उहाँको व्यापक आलोचना भयो….

एशिया प्यासिफिक समिटबारे अरु कोही नेताभन्दा बढी जिम्मेवार माधव कमरेड हुनैपर्छ । किनभने उहाँ त्यसको संयोजक नै हुनुहुन्थ्यो । र, पार्टीको बैठकमा उहाँले जुन स्पष्ट पार्नुभयो, मेरो विचारमा त्यो पर्याप्त छ । उहाँको आत्मालोचित शैलीमा प्रष्टीकरण थियो ।

खासगरी सरकार र संसदको लोगो प्रयोग, कतिपय सल्लाह नभएका कार्यक्रम थपिनुजस्ता कमजोरी भएकै हो । यसमा माधव नेपाल र प्रधानमन्त्री दुबैजनाले स्पष्टीकरण दिनुभयो ।

उहाँहरुले के भन्नुभयो ? कसरी आत्मालोचना गर्नुभयो ?

यसमा दुईवटा पक्ष छन् । सम्मेलन नेपालमा हुनु राम्रो हो । हिन्दु, वुद्धिष्ट, ईसाईका सम्मेलन नेपालमा हुनु आफैंमा राम्रो हो । यसले मुलुकको एक्पोजर हुन्छ । कतिपय देशका सरकार र राष्ट्रप्रमुख आए, उनीहरुसँग द्वीपक्षीय छलफल भयो, त्यसमा पनि नेपाललाई घाटा भएको छैन । १५००/२००० विदेशी आए, पर्यटन प्रवर्धन र आर्थिक गतिविधिका हिसाबले फाइदा नै भयो । विभिन्न धर्मका गुरुहरु एकै ठाउँमा जम्मा भएर शान्तिको अपील गरे, जहाँ भर्खर द्वन्द्व अन्त्य गरेर शान्ति आएको छ, यसलाई कसैले नराम्रो भन्नुहुँदैन र भनेको पनि छैन ।

तर, यसमा जुन तहबाट पार्टी र सरकारको नेतृत्व संलग्न भयो, त्यो हुनुपर्ने भन्दा ज्यादा भयो । त्यसअर्थमा नेतृत्वको तर्फबाट आत्मालोचना भएको छ । कमजोरी भयो भन्ने स्वीकार गरिएको छ ।

हामीले प्रतिवद्धता फेरि जाहेर गरेका छौं कि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै धर्म र जाति विशेषको पार्टी होइन । सबै धर्म, जात, भाषा, संस्कृतिमा आवद्ध नेपाली समुदायको साझा पार्टी हो । हामी सबैप्रति समान भाव राख्छौं । र, धर्मका आवरणमा नेपालभित्र हुने कुनै पनि चलखेल स्वीकार्य छैन भनेर आफ्नो बैठक समापन गर्ने क्रममा भनेका छौं ।

यसको शिक्षाका रुपमा आइन्दा यस्ता कार्यक्रमहरुका सन्दर्भमा संवेदनशील ढंगले सोची विचारी मात्र भाग लिने भनेर नेताहरुले भन्नुभएको छ । बैठकको निर्णय पनि त्यही भयो ।

यो बैठकमा माधवकुमार नेपालको पोजिसनचाहिँ कहाँ रह्यो त ? पूर्वएमालेमा ‘माधव गुट’ नै थियो, अहिले वामदेव भर्सेस ओलीजस्तो देखियो….एशिया प्यासिफिक समिटबारे धेरै प्रश्न त माधव नेपालमाथि नै उठ्यो । त्यो उठाउने हिजो माधव नेपाल समूहका भनिएकै साथीहरु थियौं । यदि उहाँलार्इ जोगाउनु थियो भने त हामीले नबोलेको भए हुन्थ्यो

हाहाहा…। स्वभाविकै हो कि दुईटा अध्यक्ष भइसकेपछि तेस्रो व्यक्तिको भूमिका सोचेजस्तो हुँदैन । पार्टीमा अध्यक्षहरु नै प्रधान हुन्छन् । बैठकमा लिड गर्ने, दिशानिर्देश गर्ने केपी कमरेड र प्रचण्ड कमरेड नै हो । त्यसमा बामदेव गौतम, झलनाथ खनाल, माधवकुमार नेपालदेखि नारायणकाजी श्रेष्ठलगायत सबैले सहयोग गर्नुभयो । अध्यक्षहरुकै कमजोरी औंल्याइदिनुभयो ।

दायाँबायाँ बसेका सचिवालयकै नेताहरुले कमजोरी औंल्याएपछि फ्लोरतिर बस्ने हामीलाई कलिकति सजिलो भयो । त्यो भूमिका माधव कमरेडले पनि गर्नुभयो ।

कसरी ?

खासगरी समापन गर्नै लाग्दा परिस्थिति भडि्कएला कि जस्तो अवस्था आउँदा उहाँले उठेर कसरी हल गर्ने सुत्रहरु प्रस्तुत गर्नुभयो । त्यसमा राजनीतिक प्रस्तावमा आएका सुझावहरुलाई समेटेर त्यसलाई पास गरौं, यसमा अध्यक्षहरुले हेर्नुस् र सचिवालयमा आएपछि पास गरौं भन्नुभयो ।

संगठन एकीकरणको सम्बन्धमा अघिल्लो दिन नै प्रचण्ड कमरेडले एउटा कार्यदल बनाउने भन्नुभएको थियो । त्यसमा माधव नेपालले कार्यक्षेत्र कसरी राख्ने भन्ने सन्दर्भमा व्याख्या गर्नुभयो । विगतको सिंहावलोकन गरौं र आगामी सन्दर्भमा पनि प्रष्ट मापदण्ड बनाउने कार्यादेश दिउँ र उहाँहरुको सुझावका आधारमा निर्णय लिउँ भन्नुभयो ।

साथै पार्टी पंक्तिलाई नेताहरुको मनमुटाव भयो, सिंगो स्थायी कमिटी विभाजित भयो भनेर निराशाजनक होइन, उत्साहजनक सन्देश दिउँ भन्नुभयो । केही कमजोरीका बाबजुद धेरै राम्रो ठाउँ छ र कार्यकर्तामा उत्साह छरेर जनब्यापी अभियानमा जाउँ भनेर माधव नेपालले प्रस्ताव गर्नुभयो र बैठक त्यही दिशामा गयो ।

त्यसैगरी वैचारिक बहसमा झलनाथ खनालले आफूलाई अग्रभागमा राखेर प्रस्तुत भयो । वामदेव गौतमले प्रस्तुत गर्नुभयो । नारायणकाजीजीले वैचारिक राजनीतिक विषयमा वडो प्रष्ट ढंगले आफ्नो विचार राख्नुभयो । यो सबैले माझामाझ गर्ने काम भयो । स्थायी कमिटी बैठकपछि जति साथीहरुसँग मेरो प्रत्यक्ष-अप्रत्यक्ष सम्वाद भएको छ, उहाँहरुमा उत्साह नै पाएको छु ।

तर, बैठकमा थुक र वीर्यसम्मका कुरा पनि आए । बहस अस्वस्थ पनि भएको हो ?

बैठक हुनुपूर्व र प्रारम्भमा हामीबीच अस्वस्थ बहस नै थियो । त्यो अस्वस्थताका बेलामा भएका बहसहरु हुन् । त्यसबाट त हामी एक स्टेप माथि आयौं नि ।

विगतमा एमालेभित्र माधव नेपाल र केपी ओली समूहवीच स्थायीजस्तै कित्ता छुटि्टएको थियो । तपाईहरुले एकोहोरो ओलीको आलोचना गर्ने र अर्को समूहले बचाउ गर्नेजस्तो देखिएको थियो । तर, अहिले तपाई खुसी देखिनुभयो । यसको रहस्य के हो ?

कमरेड प्रचण्ड अलि खुलस्त नेता पनि हुनुहुँदोरहेछ । उहाँले भन्नुभयो, पूर्वएमालेका साथीहरु आफ्नो आफनो अडानमा भएजस्तो, पूर्वमाओवादीका साथीहरु बीचबीचमा अलमलमा परेजस्तो लाग्यो ।

तपाईले सोधेको प्रश्नजस्तै उहाँले पनि भन्नुभयो । बैठकमा प्रस्तुतीहरु करिब-करिब त्यस्तै नै थिए । किनभने, हामी सबै मार्क्सवादीहरुलाई थाहा छ कि भौतिक परिस्थितिले चेतना बनाउँछ । भौतिक परिस्थिति नै त्यस्तो थियो । केपी ओली, एन्टी केपी ओली । माधव नेपाल, एन्टी माधव नेपाल । यसरी नै हामी आयौं । आखिर हामी रातारात त्यसबाट मुक्त त हुँदैनौं ।

तर, यो बैठकले धेरै हदसम्म नेताहरुलाई त्यो कित्ताबाट मुक्त गरेको छ । मान्छेहरु स्वतन्त्र ढंगले पनि सोचिरहेका छन् । जस्तो- एशिया प्यासिफिक समिटबारे धेरै प्रश्न त माधव नेपालमाथि नै उठ्यो नि । त्यो उठाउने हिजो माधव नेपाल समूहका भनिएकै साथीहरु थियौं । भीम रावलजीले उठाउनुभयो, रघुजी पन्त, धनश्याम भुसालजीले उठाउनुभयो, मैले उठाएँ ।

यदि माधव नेपाललाई जोगाउनु थियो भने त हामीले नबोलेको भए हुन्थ्यो । हिजो केपी ओलीसँग नजिक भएका भनिएका साथीहरुले त यसमा गम्भीर रुपमा कुुरा उठाएनन्, उठाउनुपर्थ्यो । तर, हामीले माधव नेपालका हिजोका सम्पूर्ण गुणहरु बिर्सिएका पनि होइनौं । माधव नेपालले पनि शायद यो कुरा बुझ्नुभएको छ ।

यो बैठक पुराना गुटहरुको हृयाङओभरबाट मुक्त थियो भन्ने तपाईको दाबी हो ?

धेरै हदसम्म मुक्त थियो तर, सम्पूर्ण ढंगले मुक्त भइसकेको छैन ।

तपाईले अब सरकारलाई काँध थाप्ने भन्नुभयो, सरकारले गरेका गलत कामको पनि काँध थाप्ने हो ?

यसमा हामी प्रष्ट छौं र प्रधानमन्त्रीलाई उहाँको सामुन्ने नै भनेका छौं, नराम्रा कामको समर्थन हुँदैन है कमरेड । त्यो अपेक्षा नगर्नुहोला । जुन कुरा जनताले रुचाएका छैनन्, पचाएका छैनन्, जुन कुरा स्थापित सिद्धान्तभन्दा विपरीत हुन जान्छ, जुन कुराले हाम्रो जनमतमा धक्का पुग्छ, त्यसमा समर्थन हुँदैन ।

अब यो बैठकपछि सरकारको परफर्मेन्समा सुधार आउला ? सरकारको कार्यशैलीमा सुधार आएपछि मात्रै यो बैठकलाई उपलब्धीपूर्ण मान्नुपर्ने हो कि ?

यो बैठकले प्रधानमन्त्री र मन्त्रीहरुलाई जबरजस्त सन्देश दिएको छ । खासगरी कतिपय मन्त्रीको नामै लिएर टिप्पणी भएका छन् । यदि उहाँहरुले आफ्नो कार्यशैली, सोचहरु बदल्नुभएन भने टिकट काटिन्छ भन्ने सन्देश दिएको छ ।

अब बस्ने केन्द्रीय कमिटीको बैठकले ती मन्त्रीहरुको टिकट काट्छ ?

टिकट काट्ने काम प्रधानमन्त्रीको हो । तर, प्रधानमन्त्रीलाई त्यसको निम्ति आधार यो बैठकले तयार गरिदिएको छ । प्रधानमन्त्रीले मैले फालेको भन्न नपर्ने गरी पार्टीले फाल्यो नि त । पार्टीले राम्रो मानेन भन्ने आधार दिएको छ ।

यहीवीचमा दिगम्बर झाको राजीनामा आयो । यो बैठकमा भएको छलफलकै रिफेक्सन हो कि संयोगमात्र ?

दिगम्बर झाको कुरा बैठकमा गम्भीरताका साथ उठ्यो । प्रधानमन्त्रीजीले हरबखत सुशासनको कुरा गर्नुहुन्छ, भ्रष्टाचारमुक्त समाजको कुरा गर्नुहुन्छ, हरेक अफिसमा पोस्टर राख्न लगाउनुभएको छ । यो राम्रो कुरा हो र यो मिसनमा हाम्रो साथ समर्थन छ ।

तर, त्यस्तो राम्रो दिशामा जान्छु भन्ने प्रधानमन्त्री र सरकारले दिगम्बर झा जस्तालाई नियुक्ति दिनु विडम्वनापूर्ण थियो । त्यसैले हामीले भन्यौं कि तपाईको उद्घोष र यो सुहाएन ।

हाम्रा ४३ जना केन्द्रीय सदस्यहरुले यही विषयलाई प्रधान बनाएर लिखित ज्ञापनपत्र नै दिनुभयो । सार्वजनिकरुपमा पनि प्रश्न उठ्यो । त्यसैले दिगम्बर झा आफैं हट्नु वा सरकारले हटाउनु बाहेक अर्को विकल्प थिएन ।

बैठकमा वाइडबडीको पनि कुरा उठ्यो ?

सबै कुरा उठेका छन् । सरकारका कामबारे जनस्तरमा उठेका सवालमा प्रष्ट गर्नुपर्छ भनेका छौं । प्रधानमन्त्रीले पनि सम्बन्धित मन्त्रीबाट प्रष्ट पार्ने कार्यक्रम राखौं भन्नुभएको छ । यो उचित नै हुन्छ ।

प्रधानमन्त्रीले निर्मला हत्याकाण्डबारे गम्भीरताका साथ कुरा राख्नुभएको छ । आवश्यक पर्‍यो भने अन्तराष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँछु भन्नुभएको छ ।

वाइडबडीका सन्दर्भमा प्रतिपक्षी दलका नेताले संसदमा नै छानविनको माग गर्नुभएको छ । त्यसो हो भने मैले छानविन गराउँछु भन्नुभएको छ प्रधानमन्त्रीले ।

अलिकति, वैचारिक राजनीतिक एजेण्डाबारे कुराकानी गरौं । स्थायी कमिटी बैठकमा सरकार र पार्टीबारे जति माथापच्चिसी भयो, वैचारिक राजनीतिक बहसचाहिँ त्यति भएन भन्ने कतिपय नेताको गुनासो छ नि ?

लामो समयपछि बसेको स्थायी कमिटी बैठकमा हामीले अध्यक्षहरुबाट प्रस्तुत राजनीतिक प्रतिवेदनलाई नै आधार बनाएर छलफल गर्‍यौं ।

विषयवस्तुको अपरिहार्यता र गम्भीरताका हिसावले दुईवटा विषय महत्वपूर्ण थिएःयो बैठकले प्रधानमन्त्री र मन्त्रीहरुलाई जबरजस्त सन्देश दिएको छ । खासगरी कतिपय मन्त्रीको नामै लिएर टिप्पणी भएका छन् । यदि उहाँहरुले आफ्नो कार्यशैली, सोचहरु बदल्नुभएन भने टिकट काटिन्छ भन्ने सन्देश दिएको छ

एउटा, केन्द्रमा भएको पार्टी एकतापछि पार्टीब्यापी हिसावले एकीकरणमा भइरहेको ढिलाइ र त्यसले उत्पन्न गरेका समस्याहरु । आजको दिनमा संगठनात्मक हिसावले महत्वपूर्ण चुनौती यही थियो । दोस्रो, सरकार निर्माण भएको करिव १० महिना भएको थियो र यो अवधिमा सरकारबारे पार्टीमा खुला छलफल भएको थिएन ।

त्यसैले यो दुबै विषय महत्वपूर्ण थिए र प्रतिवेदनलाई आधार बनाएर यसबारे नै छलफल गर्‍यौं । तर, यो बैठकमा पार्टीले लिनुपर्ने वैचारिक राजनीतिक कार्यदिशामा पनि धेरै महत्वपूर्ण बहस भएको छ ।

विशेषगरी दुई पार्टी अलग अलग भएका बेलामा हामीले आआफ्नो महाधिवेशनबाट पारित गरेका दस्तावेजहरुको कतिपय पक्ष अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समावेश हुन सकेको थिएन ।

आफ्ना-आफ्ना निष्कर्ष हामीले प्रतिवेदनमा राख्ने कुरा भएन । तर, दुबैको साझा निष्कर्ष त राख्नुपर्ने हो । त्यस हिसावले हेर्ने हो भने प्रस्तुत प्रतिवेदन एक कदम पछाडि थियो ।

एमालेले नवौं महाधिवेशनमा जे भनेका थियौं र माओवादीको हेटौंडा महाधिवेशनमा जे भनिएको थियो, वैचारिक राजनीतिक हिसावले यो प्रतिवेदन त्योभन्दा एक कदम पछाडि फर्किएको थियो । त्यसलाई सोझ्याउनु पनि यो बैठकको महत्व थियो ।

अध्यक्षको प्रतिवेदन ‘एक कदम पछाडि फर्केको’ भन्नुभयो, कसरी ? यसबारे थप प्रष्ट्याइदिनु न 

हामीले एमालेमा लामै वैचारिक राजनीतिक बहस गर्दै आयौं । आठौं महाधिवेशनमा घनश्याम भुसालजीलगायत हामी १८ जना साथीहरुले लिखित दस्तावेज पेश गरेका थियौं । त्यसमाथि ब्यापक छलफल भएको थियो र त्यसलाई पनि वैचारिक बहसको आधार बनाउने भन्ने निष्कर्ष निकालिएको थियो । नवौं महाधिवेशनमा आइपुग्दा पार्टीको आधिकारिक दस्तावेज नै त्यही भयो ।

हामीले त्यसमा भनेका थियौं, नेपाली समाजको सामाजिक संरचना बदलिएको छ । अब नेपाली समाज मुलभूतरुपमा सामन्ती समाज रहेन । समान्तवादका केही अवशेष हुन्छन् । चरम पुँजीवादको विकासमा पनि समान्तवादका केही अवशेष हुन्छन् । जस्तो- बेलायतको संसदमा बडामहारानीको गुणगान गाइन्छ, अमेरिकामा पनि भूतप्रेतप्रति विश्वास गरिन्छ । यसलाई पनि समान्तवादका अवशेष मान्न सकिन्छ । धार्मिक सांस्कृतिक हिसावले सामन्तवाद पर्याप्त देख्न सकिन्छ । तर, उत्पादन सम्बन्धका हिसावले ती देशहरु सामन्तवादी होइनन् ।

त्यसैगरी नेपाल पनि अब पुँजीवादी समाज हो र पुँजीवादभित्र एउटा दलाल पुँजीवादी समाज हो भन्ने हाम्रो निष्कर्ष थियो । साथै हामीले २०६२/६३ को आन्दोलनलाई राजनीतिक जनक्रान्ति भन्यौं र जनवादीका क्रान्तिका मूल्य कार्यभार सम्पन्न भए, अब यो जनवादी क्रान्तिले दिएका उपलब्धीको रक्षा गर्दै समाजवादका आधार तयार गर्ने र समाजवादको दिशामा अगाडि बढ्ने भन्ने हाम्रो नवौं महाधिवेशनको निष्कर्ष थियो । यसमा हामी सबै एकमत थियौं । पार्टीको महाधिवेशनमा कुनै फरक मत थिएन ।

माओवादीकहाँ पनि हेटौंडा महाधिवेशनमा कुनै फरक मत थिएन । त्यो साझा निष्कर्ष नै थियो ।

तर, यसपटक अध्यक्षहरुको प्रतिवेदन आउँदा कताकता जनवादी क्रान्ति नै हाम्रो आजको मुख्य ध्येय हो भन्ने जस्तो अर्थ लाग्ने गरी आयो ।

पछि अध्यक्षहरुले व्याख्या गर्ने क्रममा केही स्पष्ट भएको छ । ‘हामीले जनवादी क्रान्तिका मुख्य कार्यभार पूरा गरेका हौं, अब राष्ट्रिय र उद्यमशील पुँजीको विकास गर्दै मुलुकलाई स्वाधीन अर्थतन्त्रका रुपमा रुपान्तरण गर्दै, समाजमा भएका वर्गीय, जातीय, लैङ्गकि विभेद अन्त्य गर्दै, सामाजिक न्यायसहितको समतामुलक समाज निर्माण गर्दै समाजवादी दिशामा अगाडि बढ्ने’ अब हाम्रो कार्यदिशा योे हो ।

जनताको जनवाद एक किसिमले अब तत्कालीन कार्यनीति जस्तो भयो । समाजवाद हाम्रो कार्यक्रम र लक्ष्य भनेर व्याख्या गरेका छौं । यसमा हाम्रो समझदारी छ कि यसमा कुनै वैचारिक भिन्नता भएछन् भने महाधिवेशनमा एउटा प्रक्रियाबाट छलफल गरौंला ।

भनेपछि स्थायी कमिटीमा वैचारिक राजनीतिक विषयमा पर्याप्त छलफल भएन भन्ने सही होइन ?

छलफल भयो । जोडका साथ छलफल किन भएन भने यो बैठकमा मुख्य कुरा त्यो थिएन । मुख्य कुरा पार्टी संगठनको एकीकरण नै थियो । सरकार सञ्चालनका सन्दर्भमा देखिएका समस्याहरुलाई सामूहिक हिसावले बुझ्ने र सरकारलाई सफल बनाउन प्रयत्न गर्ने नै थियो । यो उद्देश्यमा हामी एक हदसम्म सफल भएका छौं ।

प्रतिक्रिया दिनुहोस्