Logo

Hello NEw

नेपाल राष्ट्र बैंकको उद्देश्य, काम, कर्तव्य र अधिकारहरु



बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि नेपालको केन्द्रीय बैंकको रुपमा नेपाल राष्ट्र बैंक रहेको छ । मुलुकका सबै बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंककै निर्देशनमा सञ्चालन हुन्छन् । सरकारको आर्थिक गतिविधि हेर्ने काम पनि राष्ट्र बैंकले गर्छ भने मुद्रा व्यवस्थापनको काम पनि नेपाल राष्ट्र बैंकले नै गर्ने गर्दछ ।

नेपाल राष्ट्र बैंक तत्कालीन राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई मौद्रिक अधिकार र नियामक संस्थाको रुपमा लिने गरिछ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, नीतिको सञ्चालन गर्ने, सरकारको बैंक तथा बैंकहरुको बैंकका रुपमा भुमिका निर्वाह गर्ने गर्दछ ।

हरेक मुलुकमा एउटा मात्र केन्द्रीय बैंक रहन्छ जसको अर्थ कुनै पनि मुलुकको मौद्रिक प्रणालीको नियामक तथा सुपरिवेक्षकीय निकाय हो । नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्काशन गरिएको थियो । राष्ट्र बैंक ऐन २०१२ अनुसार नेपाल राष्ट्र बैंक स्थापनाका उद्देश्यहरु निम्नानुसार छन् ।

नेपाल राष्ट्र बैंकका उद्देश्यहरु:
१) अर्थतन्त्रको दिगो विकासको निमित्त मुल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
२) बैंकिङ तथा वित्तीय क्षेत्रका स्थायित्व र आवश्यक तरलतालाई प्रर्वद्धन गर्ने,
३) सुरक्षित, स्वस्थ्य तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,
४) बैंकिङ तथा वित्तीय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन
गर्ने ।
५) नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बद्र्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने ।

यी उद्धेश्य हासिल गर्न बैंकलाई सोही ऐनले नेपाली नोट तथा सिक्का निष्कासन र व्यवस्थापन गर्ने, मौदि«क नीति तर्जुमा र कार्यान्वयन गर्ने, विदेशी विनिमय नीति निर्माण गर्ने र विदेशी विनिमय सञ्चिति व्यवस्थापन र सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थालाई इजाजतपत्र दिनुका साथै तिनलाई नियमन– सुपरिवेक्षण गर्ने, सरकारको बैंकका रुपमा कार्य गर्ने, बैंक तथा वित्तीय संस्थालाई आवश्यक पर्दा कर्जा प्रदान गर्ने, भुक्तानी प्रणाली र हिसाब मिलान पद्धतिलाई नियमन तथा व्यवस्थित गर्ने लगायतका कार्यभार प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारहरु:
१) बैंक नोट तथा सिक्का निष्काशन र व्यवस्थापन गर्ने ।
२) मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने ।
३) विदेशी विनिमय नीति निर्माण गर्ने र सो नीति कार्यान्वयन गर्ने गराउने,
४) विनिमय पद्धति निर्धारण गर्ने ।
५) विदेशी विनिमय संचितिको व्यवस्थापन र संञ्चालन गर्ने ।
६) बैंक तथा वित्तीय संस्थालाई वित्तीय कारोबार गर्न अनुमति दिने र त्यस्तो कारोबार कानुन बमोजिम भए वा नभएको सम्बन्धमा नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने ।
७) नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने ।
८) वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने ।
९) भुक्तानी, फछ्र्यौट ९क्लियरिङ० तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने ।
१०) बैंकका निर्धारित उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने गराउने ।

प्रतिक्रिया दिनुहोस्