Hello NEw
इरानमा पनि कोरोना भाइरसले २ जनाको ज्यान लियो, २ हजार नाघ्यो ज्यान गुमाउनेको संख्या
काठमाडौ, ८ फागुन । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मध्य–पूर्वमा दुई जनाको ज्यान गएको छ ।
इरानमा दुई जनाको ज्यान गएसँगै मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । बिहीबार तेहरानमा रहेका दुई जना कोरोना सङ्क्रमित वृद्धको ज्यान गएको समाचार संस्था अलजजिराले जनाएको छ ।
यसअघि एसियाको फिलिपिन्स, हङकङ, जापन र यूरोपको फ्रान्समा कोरोना सङ्क्रमितको ज्यान गएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुनेको सङ्ख्या २ हजार १२० पुगेको छ । हालसम्म चीन बाहिर ४ जनाको मृत्यु भइसकेको छ । यो समेत गरि २ हजार १२४ जनाको मृत्यु कोरोनाकै कारण भएको छ । साथै ७५ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।
