Hello NEw
अख्तियारको रिर्पोट : सुदुरपश्चिमको स्थानीय तहमा भ्रष्टाचार बढ्यो
‘सुदूरपश्चिम’ प्रदेशका स्थानीय तहमा भ्रष्टाचार बढ्दै गएको तथ्य खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश, कञ्चनपुरको तथ्यांक अनुसार पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपलब्ध गराएकोे तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा रहेका ८८ स्थानीय तहका हालसम्म दुई सय ४० उजुरी परेका छन्।
आर्थिक वर्ष २०७५÷०७६ को हालसम्म स्थानीय तहमा भएको अनियमितता सम्बन्धका एक सय १३ उजुरी दर्ता भएका छन्। गत आर्थिक वर्षमा जम्मा ३७ मुद्दा मात्रै अख्तियारमा दर्ता भएका थिए। गत वर्षभन्दा चालु आर्थिक वर्षको हालसम्म उक्त संख्या ३ गुणाले बृद्धि भएर एक सय १३ पुगेको छ। अख्तियारकै उजुरीका आधारमा पनि सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा भ्रष्टाचार बढेको प्रष्ट हुन्छ।
सबैभन्दा बढी कैलाली, कम बाजुरा
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्यांक अनुसार पछिल्लो ६ वर्षको अवधिमा कैलालीका सबैभन्दा बढी एक हजार २ सय ६१ उजुरी दर्ता भएका छन् भने सबैभन्दा कम बाजुराका १ सय २० उजुरी दर्ता भएका छन् । जसमध्ये स्थानीय तहमा भएका अनियमितता सम्बन्धी कैलाली २८ र बाजुराका २ मुद्धा रहेका छन् ।
कैलालीबाट परेका एक हजार ५६ र कञ्चनपुरका ९ सय ४६ उजुरी फछ्र्यौट गरिएका छन्। दार्चुलाका २ सय ६७ मध्ये २ सय १७, बैतडीका ५ सय ५ मध्ये ३ सय ९९, डडेल्धुराका ३ सय ५४ मध्ये, २ सय ९६, बझाङका २ सय ४६ मध्ये, १ सय ८४, बाजुराका १ सय २० मध्ये, १ सय ६, अछामका २ सय १३ मध्ये १ सय ७४ र डोटीका ३ सय ४४ मध्ये ३ सय १२ मुद्दा फछ्र्यौट गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले जनाए।
उनका अनुसार कञ्चनपुरका स्थानीय तह सम्बन्धी १९, डडेल्धुरा ७, दार्चुला १५, बैतडी १०, डोटी ७, अछाम १३ र बझाङ १२ मुद्दा दर्ता भएका छन्। आर्थिक अनियमितता, अनाधिकृत कर्मचारी भर्ना, उपभोक्तासम्बन्धी गठनमा आफ्ना मान्छे राखेर भ्रष्टाचार गरेको, विकास निर्माणमा मापदण्ड विपरित काम गरेको, कामै नभईकन भुक्तानी दिएको लगायतका विषयमा उजुरी परेका हुन । अख्तियारमा पर्ने उजुरी मध्ये ९० प्रतिशत स्थानीय तहमा भईरहेका कमिसन, घुसखोरी र अनियमितताका उजुरी रहेको अख्तियारले जनाएको छ।
चार हजार उजुरी, कारबाही दर न्यून
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश कञ्चनपुरको स्थापनाकालदेखि हालसम्म ६ वर्षको अवधिमा जम्मा ४ हजार ३ सय ९४ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७०÷०७१ देखि चालु वर्ष २०७५÷०७६ को हालसम्म दर्ता भएका उजुरीमध्ये तीन हजार ७ सय ५ मात्रै फछ्र्यौट भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ को हालसम्ममा सबैभन्दा बढी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय अन्तरगत ७ सय २५ उजुरी दर्ता भएका छन्। यसअघि आर्थिक बर्ष २०७४÷०७५ मा शिक्षा मन्त्रालय अन्तर्गत सबैभन्दा बढि १ हजार ४ सय ७४ उजुरी दर्ता भएका थिए। चालु अख्तियारमा उजुरी संख्याका उल्लेख्य भएपनि कारबाही दर भने न्यून देखिएको छ।
