Hello NEw
प्रधानमन्त्रीसहित चार जनाविरुद्ध अख्तियारमा मुद्दा
काठमाडौं, १२ फागुन । सेक्युरिटी प्रेस खरिदका लागि कमिसनमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत संलग्न भएको आरोपमा उनीसहित चार जनाविरुद्ध मुद्दा परेको छ । प्रधानमन्त्री ओलीसहित चार जनामाथि उक्त आरोपमा छानबिन गर्न माग गर्दै उजुरी दायर गरिएको हो ।
बाँके जिल्लास्थित नेपालगन्जका प्रेमबहादुर शाही र मकवानपुर जिल्ला हेटौंडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालगायतविरुद्ध सेक्युरिटी प्रेस प्रिन्टिङ खरिद गर्नका लागि भ्रष्टाचार गर्न लागेको उल्लेख गदै अख्तियारमा उजुरी दायर गरेका हुन् ।
उनीहरूले भू–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, अप्टिकल फाइबर विस्तारलगायतमा भ्रष्टाचार गरेको आरोपमा प्रधानमन्त्री ओली, पूर्वसञ्चारमन्त्री बाँस्कोटा, पूर्वसूचना सचिव महेन्द्र गुरुङ र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध छानविन गर्न माग गरेका छन् ।
पूर्वमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि नेपालस्थित एजेन्टसँग ७० करोड रुपियाँ कमिसन चाहिने भन्दै माग गरेको अडियो गत बिहिबार सार्वजनिक भएको थियो ।
त्यस्तो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री ओलीलाई सो अडियोबारे डेढ महिनाअघि नै जानकारी भए तापनि त्यस सम्बन्धमा खासै चासो नदिएको उजुरीमा उल्लेख गरिएको छ । त्यस्तो जानकारी भए तापनि प्रधानमन्त्री ओलीले त्यसलाई लुकाएर मतियारको कार्य गरेको उजुरीमा जनाइएको छ।
पूर्वसञ्चार मन्त्री बाँस्कोटाले प्रेस खरिद गर्दा २७ अर्ब लाग्ने भए तापनि त्यसलाई बढाएर २८ अर्ब बनाउनुपर्ने, सोबापत कमिसन ७० करोड रुपियाँ हुनुपर्नेजस्ता माग राखेको अडियो सार्वजनिक भएको थियो।
अख्तियारले सेक्युरिटी प्रेस खरिद घोटाला प्रकरण, फोरजी प्रकरण, अप्टिकल फाइबर विस्तार प्रकरणमा छानबिन नगरेको भनी आरोप लाग्दै आएको छ। ती भ्रष्टाचार प्रकरणमा शीघ्रातीशीघ्र छानबिन गर्न उजुरीमा माग गरिएको छ।
