Hello NEw
चौथोपटक मन्त्रिमण्डल हेरफेर गरिँदै
काठमाडौं, १२ फागुन । सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुन मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएको छ । दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्श अगाडि बढाएका हुन् ।
यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । सरकारका कामलाई प्रभावकारी बनाउन पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरेफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए। उनका अनुसार प्रधानमन्त्रीले यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछ।
अडियो काण्डमा मुछिएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिइएको छ । २५ सदस्यीय ओली नेतृत्वको मन्त्रिमण्डलमा हाल दुई मन्त्रालयमा मन्त्री रिक्त छन् ।
प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्न चौथोपटक मन्त्रिमण्डल हेरफेर गर्न लागेको बताइएको छ ।
