Logo

Hello NEw

यति प्रकरणबारे उपप्रधानमन्त्री पोखरेलले आज श्वेतपत्र जारी गर्ने



काठमाडौं, १३ फागुन । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले गोकर्ण रिसोर्टको लिज सम्झौताको प्रकरणसहित नेपाल ट्रष्टको देशभरि भएको सम्पत्ति विवरणबारे श्वेतपत्र सार्वजनिक गर्ने भएका छन् ।

मंगलबार दिउँसो ३ बजे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरणबारे पोखरेलले जानकारी दिन लागेका हुन् । पोखरेल अहिले नेपाल ट्रष्टको अध्यक्ष छन् । प्रधानमन्त्री ओलीनिकट व्यापारिक समूह यति होल्डिङलाई लिज अवधि सकिनुअगावै २५ वर्ष गोकर्ण रिसोर्ट जिम्मा लगाएपछि ट्रष्टमाथि प्रश्न उठ्दै आएको छ ।

मन्त्री पोखरेलले सार्वजनिक गर्न लागेको श्वेतपत्रमा गोकर्ण रिसोर्ट र दरबारमार्ग र ताहाचलको लिज भाडा प्रकरणबारे छुट्टाछुट्टै च्याप्टर समावेश गरिएको छ। सरकारले गोकर्ण रिसोर्टको लिज नवीकरण गर्दा एक अर्ब सरकारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कमाइ हुने दाबी गर्दै आएको छ ।

मन्त्रिपरिषद् बैठकले यति प्रकरणमा श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो। त्यस्तै श्वेतपत्रमा मातातिर्थ र थानकोटको मोहीको जग्गा व्यक्तिको नाममा पुर्‍याइएको विषयमा समेत उल्लेख हुने स्रोतले जनायो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र ट्रष्ट अध्यक्ष विजय गच्छदार भएका बेला २०६९ कात्तिक २ गते मन्त्रिपरिषद्को समितिको निर्णयअनुसार थानकोट, मातातिर्थ, सतुंगल र बालाजुको १७२ रोपनी १५ आना जग्गा नेपाल ट्रष्टको जग्गा मोही तथा हकवालाको नाममा नामसारी भएको थियो ।
सेतोपाटी

प्रतिक्रिया दिनुहोस्