Logo

Hello NEw

लोक सेवा विशेष : अत्यन्तै महत्वपूर्ण ७ प्रश्नोत्तर



प्रश्न : सामुदायिक स्वास्थ्य भनेको के हो ? नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू पहिचान गरी यिनको समाधानमा व्यक्ति, परिवार र समुदायको के–कस्तो भूमिका हुनुपर्छ ? चर्चा गर्नुहोस् ।

उत्तर : समुदायका व्यक्तिहरूले आफ्नो समुदाय एवम् समाजमा रहेका विभिन्न स्वास्थ्य समस्या यकिन गरी व्यक्ति, परिवार, समाज तथा वातावरणको स्वास्थ्यमा सुधार ल्याउने कार्यलाई सामुदायिक स्वास्थ्य भनिन्छ । यसको मूलभूत उद्देश्य समुदायको स्वास्थ्यस्तर माथि उकास्नु हो । व्यक्तिले आफ्नो स्वास्थ्य सुधार गर्न व्यक्तिगत प्रयासबाट मात्र सम्भव नहुने हुनाले सामुदायिक स्वास्थ्यको अवधारणा अगाडि ल्याइएको हो । त्यसैले समुदायको स्वास्थ्य सुधार गर्न व्यक्ति, परिवार, समुदाय एवम् राष्ट्र सबैको संयुक्त प्रयास हुनुपर्दछ ।

नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्या
भौगोलिक कठिनाइ, स्वास्थ्यसम्बन्धी जनचेतनाको अभाव, औषधिको अभाव, दक्ष स्वास्थ्यकर्मीको अभाव आदि जस्ता कारणले नेपालको सामुदायिक स्वास्थ्य विभिन्न समस्याबाट ग्रसित छ । हिमाल, पहाड, तराई सबैमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी सामुदायिक स्वास्थ्य समस्या छन् ।

समग्रमा नेपालका प्रमुख सामुदायिक स्वास्थ्य समस्याहरू निम्न छन् ;
– सरुवा रोग जस्तै : झाडापखाला, हैजा, आउँ, जुका आदिको प्रकोप हुनु,
– शिशु मृत्युदर, बाल मृत्युदर, मातृ मृत्युदर उच्च हुनु,
– सन्तुलित भोजनबारे जानकारी नहुनु,
– कुपोषण बढ्दै जानु,
– जीवनशैली अस्वस्थकर हुनु,
– स्वास्थ्य सेवाको कमी हुनु,
– स्वास्थ्य शिक्षाको कमी हुनु,
– ग्रामीण बस्तीहरूमा स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तिको
अभाव हुनु,
– धूमपान, मद्यपान एवम् लागूपदार्थको सेवन गर्नेको सङ्ख्या
बढ्दै जानु,
– समग्र स्वास्थ्य सेवा महँगो हुनु, गरिबको पहँुचमा सर्वसुलभ हुन नसक्नु ।
– सामुदायिक स्वास्थ्य समस्या समाधानमा व्यक्ति, परिवार र समुदायको भूमिका
क) व्यक्तिको भूमिका
– सन्तुलित भोजन गर्ने, सुर्ती सेवन, मदिरा सेवनजस्ता बानी हटाउने तथा अरूलाई पनि हटाउन सल्लाह सुझाव दिने,
– नियमित शारीरिक व्यायाम गर्ने, खेलकुदमा संलग्न हुने,
– समय–समयमा स्वास्थ्य परीक्षण गराउने, स्वास्थ्यसम्बन्धी आफूले जानेका कुरा अरूलाई सिकाउने र अरूले जानेका कुरा आफूले सिक्ने,
ख) परिवारको भूमिका
– परिवार पहिलो पाठशाला भएकाले परिवारको खानपिनमा सुधार ल्याउने, बालबच्चालाई स्वास्थ्यसम्बन्धी राम्रो बानीबेहोरा सिकाउने,
– स्वास्थ्य शिक्षाबारे परिवार एवम् समुदायमा जनचेतना बढाउने,
– सामुदायिक स्वास्थ्यमा महिला सहभागिता बढाउन घरपरिवारबाट महिलालाई अनुकूल वातावरण तयार गरिदिने,
– गाउँ, घर, बस्ती, टोलको सरसफाइ गर्न परिवारका सबै सदस्य क्रियाशील हुने, सहयोग गर्ने,
ग) समुदायको भूमिका
– व्यक्ति र परिवारले गर्न नसक्ने काम समुदाय मिलेर गर्ने, जस्तै : खानेपानी आपूर्ति, ढलनिकास, सार्वजनिक सरसफाइ, वृद्धाश्रम, खेलकुद मैदान, पार्क, सार्वजनिक चर्पी आदिको निर्माण गर्ने,
– फोहोरमैला व्यवस्थापनमा सहयोगी एवम् समन्वयात्मक भूमिका निर्वाह गर्ने, द्वन्द्व, झगडा नगर्ने,
– सामुदायिक अस्पतालको स्थापना गर्ने,

प्रश्न : विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ ले के–कस्ता कार्यलाई कम्प्युटरसम्बन्धी कसुरका रूपमा लिई के–कति सजाय हुने व्यवस्था गरेको छ ?

उत्तर : विद्युतीय कारोबारलाई व्यवस्थित गर्न तर्जुमा गरिएको विद्युतीय
(इलेक्ट्रोनिक) कारोबार ऐन–२०६३ ले देहायका कार्यलाई कम्प्युटरसम्बन्धी कसुरका रूपमा लिई देहायबमोजिम सजाय हुने व्यवस्था गरेको छ :
१. कम्प्युटर स्रोत सङ्केतको चोरी, नष्ट वा परिवर्तन गर्ने :
– तीन वर्षसम्म कैद वा दुई लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय,
२. कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच :
– दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय,
३. कम्प्युटर र सूचना प्रणालीमा क्षति पुर्याउने :
– दुई लाख रुपियाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय,
४. विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्ने :
– एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय,
– पटक–पटक गरेमा अघिल्लोपटक भएको सजायको डेढी सजाय,
५. गोपनीयता भङ्ग गर्ने :
– एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय,
६. झुटा व्यहोराको सूचना दिने :
– एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय,
७. झुटा इजाजतपत्र वा प्रमाणपत्र पेस गर्ने वा देखाउने :
– एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय,
८. झुटा व्यहोरा वा झुटा इजाजतपत्र प्रकाशन गर्ने :
– एक लाख रुपियाँसम्म जरिवाना,
९. तोकिएको विवरण वा कागजात दाखिला नगर्ने :
– पचास हजार रुपियाँसम्म जरिवाना,
१०. सुरक्षितसाथ राख्नुपर्ने कुनै किताब, रजिष्टर, स्रेस्ता, लेखा आदि सुरक्षित तथा रीतपूर्वक नराख्ने :
– पचास हजार रुपियाँसम्म जरिवाना,
११. कम्प्युटर जालसाजी गर्ने :
– कम्प्युटर जालसाजी गरी लाभ उठाएमा उठाएको आर्थिक लाभको बिगो कायम गरी सम्बन्धित पक्षलाई कसुर गर्नेबाट भराई त्यस्ता कसूरदारलाई एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय,
१२. कम्प्युटरसम्बन्धी कसुर गर्न दुरुत्साहन गर्ने:
– पचास हजार रुपियाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय,
१३. मतियारलाई सजाय:
– मुख्य कसुरदारलाई भएको सजायको आधा सजाय ।

प्रश्न : अधिकारको निक्षेपणले स्थानीय तहमा चुनौती वहन गर्ने क्षमता बढाउँछ र सेवाप्रदायमा बढी प्रभावकारिता आउँछ भन्ने कुरा तपाईं ठीक ठान्नुहुन्छ ? अधिकारको निक्षेपण केका लागि कसलाई कसरी गरिन्छ ? लेख्नुहोस् ।

उत्तर : केन्द्र सरकारले स्थानीय तहलाई कानुनी र संस्थागत व्यवस्थासहित प्रशासनिक, राजनीतिक एवम् वित्तीय अधिकार हस्तान्तरण गर्ने कार्य अधिकार निक्षेपण हो । यसले स्थानीय निकायमा चुनौती वहन गर्ने क्षमता बढाउँछ र सेवाप्रदायमा बढी प्रभावकारिता आउँछ भन्ने कुरा म पूर्ण रूपमा ठीक ठान्दछु किनकि :
– यसले स्थानीय तहलाई स्थानीय जनताप्रति जिम्मेवार एवम् जवाफदेही बनाउन
मद्दत गर्दछ ।
– यसले स्थानीय तहलाई स्वनिर्णय, स्वनियन्त्रण र स्वव्यवस्थापन बनाउँछ ।
– यसले स्थानीय तहको साधन–स्रोतको प्रभावकारी परिचालन गर्न मद्दत गर्दछ ।
– स्थानीय तहको आवश्यकता त्यहीँको निकायबाट पहिचान गरी विकासलाई तल्लो तहबाटै प्रभावकारी बनाउन यसले सहयोग गर्दछ ।
– स्थानीय विकास निर्माण एवम् सेवा प्रवाहमा सहभागिता, पारदर्शिता एवम् प्रभावकारिता अभिवृद्धि गरी स्थानीय तहबाटै सुशासनको प्रवद्र्धन गर्न यसले मद्दत गर्छ ।
– यसले स्थानीय तहलाई स्वायत्त, स्वतन्त्र एवम् आत्मनिर्भर बनाउन सहयोग गर्छ ।

अधिकारको निक्षेपण केका लागि :
– स्थानीय तहलाई राजनीतिक, आर्थिक एवम् वित्तीय अधिकार हस्तान्तरण गर्नका लागि,
– स्थानीय तहलाई स्थानीय जनताप्रति थप जिम्मेवार एवम् जवाफदेही बनाउनका लागि,
– स्थानीय तहबाटै शासनमा सहभागिता अभिवृद्धि गरी तल्लो तहबाट नै सुशासन स्थापना गर्न,
– स्थानीय तहलाई कानुनी र संस्थागत दुवै दृष्टिबाट बलियो बनाउन,

अधिकारको निक्षेपण कसलाई :
अधिकारको निक्षेपण मूलतः स्थानीय तहलाई गरिन्छ । यहाँ स्थानीय निकाय भन्नाले गाउँ विकास समिति, नगरपालिका र जिल्ला विकास समिति बुझ्नुपर्दछ, जहाँ जनताबाट निर्वाचित पदाधिकारी हुन्छन् ।

अधिकारको निक्षेपण कसरी :
अधिकारको निक्षेपण मूलतः निम्नानुसार गर्न सकिन्छ ;
– संविधानमा व्यवस्था गरेर,
– छुट्टै नयाँ कानुन तर्जुमा गरेर,
– संस्थागत व्यवस्था गरेर,

अन्त्यमा, अधिकारको निक्षेपण विकेन्द्रीकरणको तत्व हो । विकेन्द्रीकरण सुशासनको तत्व हो । अतः अधिकारको निक्षेपण सुशासन कायम गर्ने कार्यसँग सम्बन्धित छ । मुलुकमा सुशासन कायम गर्नका लागि स्थानीय तहको अधिकार स्थानीय तहमै हस्तान्तरण गरी स्थानीय तहलाई स्थानीय जनताप्रति जिम्मेवार एवं जवाफदेही बनाई स्थानीय तहदेखि नै सुशासनको स्थापना गर्नु जरुरी छ ।

प्रश्न : राजस्व चुहावट नियन्त्रण गर्ने उपायहरू के–के हुन् ? लेख्नुहोस् ।

उत्तर : राजस्वसम्बन्धी प्रचलित ऐन नियमको उल्लङ्घन गरी राजस्व नतिर्ने वा कम तिर्ने कार्य राजस्व चुहावट हो । नेपालमा राजस्व चुहावट रोक्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि राजस्व चुहावट नियन्त्रण व्यवस्थित हुन सकेको छैन । नेपालमा खासगरी नेपाल र भारतबीच सीमा खुला रहनु, करदातामा सहज रूपमा कर तिर्ने बानीको विकास नहुनु, राजस्व सङ्कलन गर्ने र राजस्व चुहावट रोक्ने निकायबीच कार्यगत समन्वयको कमी हुनु, सरकारले जनतालाई राजस्वको सही सदुपयोगको प्रत्याभूति दिन नसक्नुजस्ता कारणले राजस्व चुहावट भएको पाइन्छ । त्यसैले राजस्व चुहावट नियन्त्रण गर्न यी क्षेत्रमा सुधार गर्नु आवश्यक देखिन्छ ।

समग्रमा राजस्व चुहावट नियन्त्रण गर्न निम्न उपायहरू अबलम्वन गर्नुपर्दछ :
– नेपाल र भारत बीचको खुला सीमा व्यवस्थित गर्ने,
– राजस्व प्रहरीको व्यवस्था गर्ने, द्रुत गस्ती र आकस्मिक गस्तीलाई थप क्रियाशील बनाउने,
– दीर्घकालीन राजस्व नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने,
– राजस्वसम्बन्धी ऐन, नियममा समसामयिक परिमार्जन गरी प्रभावकारी पालना गर्ने÷गराउने,
– करदातामा सहज रूपमा कर तिर्ने बानीको विकास गराउने,
– करको दर घटाई करको दायरा फराकिलो बनाउने,
– राजस्व प्रशासनसँग सम्बन्धित निकायबीच कार्यगत समन्वय बढाउने,
– राजस्व प्रशासनलाई जिम्मेवार, जवाफदेही, आधुनिक एवम् उच्च मनोबलयुक्त बनाउने,
– राजस्व चुहावट रोक्ने कार्यलाई प्राथमिकतामा राखेर कार्य गर्ने,
– कानुनी र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्ने, तिनको प्रभावकारी पालना गर्ने, गराउने ।

प्रश्न : लोकतन्त्रमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्दछ ? उल्लेख गर्नुहोस् ।

उत्तर : जनताका प्रतिनिधिद्वारा शासन चलाइने व्यवस्था लोकतन्त्र हो । राजनीतिक दल जनताका प्रतिनिधिहरू पनि हुन् । लोकतन्त्रमा राजनीतिक दलले शासन व्यवस्था चलाउने भएकाले लोकतन्त्रमा यिनको भूमिका बहुआयामिक हुनुपर्दछ  ।

जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ :
– जनताको प्रतिनिधि भई जनहितका कार्यहरू गर्ने,
– जनचाहनाअनुरूप ऐन नियम बनाउने र बनेका ऐन नियमको पूर्ण पालन गर्ने, ऐन नियम कार्यान्वयन गर्न सहयोग गर्ने,
– जननिर्वाचित भएर मुलुकको समग्र शासन व्यवस्थाको नेतृत्व गर्ने,
– देश र जनताप्रति गरेको प्रतिबद्धता पूरा गर्ने,
– लोकतन्त्र र मानवअधिकारको संरक्षण एवम् प्रवद्र्धन गर्ने,
– दलगत र व्यक्तिगत स्वार्थमा नभई राष्ट्रिय स्वार्थमा कार्य गर्ने,
– शान्ति सुरक्षा, स्थिरता, विकास, कानुनी शासन स्थापना गरी मुलुकमा सुशासन कायम गर्ने,
– समग्रमा लोकतन्त्रको स्थापना गर्नेदेखि लोकतन्त्रको सुदृढीकरण गर्नेसम्मको सबै काम गर्ने  ।

प्रश्न : नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू लेख्नुहोस् ।

उत्तर : पर्यटन विदेशी मुद्रा आर्जनको स्रोत हो । रोजगारीको प्रमुख आधार क्षेत्र हो । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहने पर्यटन उद्योगले नेपाललाई अन्तर्राष्ट्रिय सम्पर्कमा वृद्धि गराउनसमेत सहयोग गर्दछ ।

मनोरम प्राकृतिक सौन्दर्य, अतुलनीय साँस्कृतिक सम्पदा एवम् अनगिन्ती विशिष्टताका पर्यटकीय स्थलहरू रहेको नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउने उपायहरू निम्न छन् :
– सङ्ख्यात्मकको साथै गुणात्मक पर्यटनमा पनि जोड दिई पर्यटकहरूको सुरक्षाको प्रत्याभूति दिने,
– नयाँ पर्यटकीय स्थलहरूको पहिचान गर्ने,
– हवाई सेवालाई भरपर्दो, नियमित एवम् सुरक्षित बनाउँदै यसको क्षेत्र विस्तार गर्ने,
– पर्यटन सेवा केन्द्रहरूको विस्तार गर्ने,
– होटल रेस्टुराँहरूको सङ्ख्या बढाउने, होटल सेवाको नियमित अनुगमन गर्ने,
– वातावरण प्रदूषणमा नियन्त्रण र सरसफाइमा जोड दिने,
– कला, संस्कृतिको विकास एवम् सम्वद्र्धनमा जोड दिने,
– नेपालका पर्यटकीय क्षेत्रहरूको अन्तर्राष्ट्रिय जगत्मा व्यापक प्रचार–प्रसार गर्ने,
– पर्यटकहरूमाथि हुने शोषण र ठगीलाई निर्मूल गरिनुपर्ने,
– पर्यटनसम्बन्धी तालिम प्राप्त जनशक्ति उत्पादन गर्नुपर्ने,
– पर्यटन पूर्वाधार र पर्यटन बजार व्यवस्थित गर्नुपर्ने,
– आन्तरिक पर्यटनलाई बढावा गर्ने,
– शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने,
– राजनीतिक कारणले हुने बन्द–हडताल, चक्काजाम, चन्दा, अस्थिरता आदिको अन्त्य गर्ने,
– लगानीको वातावरण तयार गरी यस क्षेत्रमा स्वदेशी र विदेशी लगानी अभिवृद्धि गर्ने  ।

प्रश्न : नेपालमा खेतीयोग्य जमिनको उत्पादकत्व घट्नुको कारणहरू के–के हुन् ? उल्लेख गर्नुहोस् ।

उत्तर : करिब ७८ प्रतिशत जनता कृषिमा आश्रित तथा कुल गार्हस्थ उत्पादनमा करिब ३३ प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्र नेपालमा एकातर्फ भौगोलिक विकटता, बसाइँ–सराइ, बढ्दो सहरीकरण आदिले खेतियोग्य जमिन घट्दै गएको छ भने अर्कोतर्फ भएको खेतियोग्य जमिनको उत्पादकत्व पनि घटिरहेको छ । यसरी खेतियोग्य जमिनको उत्पदकत्व घट्नुका विभिन्न कारण छन्,

जुन निम्न छन् :
– कृषकहरूमा खेती गर्ने आधुनिक उन्नत तरिकाको ज्ञान नहुनु,
– खेतियोग्य जमिनमा सिँचाइ सुविधा नहुनु,
– उन्नत बीउविजन एवम् रासायनिक मलको अभाव हुनु,
– खेतियोग्य जमिनको पूर्ण उपयोग नहुनु,
– कृषि सडक सञ्जालको विकास नहुनु,
– कृषिमा व्यावसायीकरण हुन नसक्नु,
– कृषि क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुनु,
– व्यावसायिक कृषि विकासका लागि निजी क्षेत्रको लगानी आकर्षित नहुनु,
– दीर्घकालीन कृषि योजनाले अपेक्षा गरेअनुसार कृषि क्षेत्रमा लगानी बढ्न नसक्नु  ।

प्रतिक्रिया दिनुहोस्