Hello NEw
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक गर्न आलटाल
काठमाडौ १६ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चालु आर्थिक बर्ष मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेको छ ।

मन्त्रीहरुले बुझाएको सम्पत्ति विवरण मन्त्रिपरिषदको निर्णयबाट सार्वजनिक गर्ने प्रचलन थियो । तर यस पटक सरकारले सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयलाई चासो नदिएको हो । आर्थिक बर्ष सुरु भएको १० महिना वित्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा मन्त्रीहरुको गतबर्षको सम्पत्ति विवरण राखिएको छ । पुरानो सम्पत्ति विवरणमा मधेसी जनअधिकार फोरमबाट सरकारमा सहभागी मन्त्रीहरुको भने विवरण नै राखिएको छैन ।
प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगरिएको सन्दर्भमा गरिएको प्रश्नमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुवँर भन्छन्, ‘मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने/नगर्ने मन्त्रिपरिषदले निर्णय गर्ने विषय हो । यसबारे मलाई जानकारी भएन ।’ उनले सम्पत्ति विवरण सार्वजनिक गर्ने सम्वन्धि विषयमा थप प्रतिक्रिया दिन चाहेनन् ।
गतबर्ष सार्वजनिक गरिएको मन्त्रीहरुको सम्पत्ति विवरण विवादित बनेको थियो । कतिपय मन्त्रीहरुको आर्थिक स्रोतमा समेत प्रश्न उठेको थियो । गतबर्ष सम्पत्ति विवरणलाई लिएर धेरै प्रश्नको सामना गर्नु परेको मन्त्रिपरिषदले यस पटक भने विवरण नै सार्वजनिक नगरि बसेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार सम्पत्ति विवरणमा उल्लेखित सम्पत्तिको स्रोतमा नागरिकस्तरबाट प्रश्न उठ्न थालेपछि मन्त्रिपरिषदको कार्यालयले यस बर्ष मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक नगरेको हो ।
भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार सार्वजनिक पद धारण गर्ने प्रत्येक पदाधिकारीले हरेक बर्ष आर्थिक बर्ष शुरु भएको ६० दिनभित्र आफु र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था छ ।
