Logo

Hello NEw

कर्मचारीतन्त्रको खस्किंदो साख



जुनसुकै देशमा पनि कर्मचारीतन्त्र  सरकारको मुख्य सहयोगीका रूपमा स्थापित छ र विकास र सुशासन दुवैमा कर्मचारीतन्त्र प्रत्यक्ष रूपमा जोडिन्छ।कर्मचारीतन्त्रको स्वरूप, स्वभाव र व्यवहार मुलुकको सर्वाङगिण विकासका मुख्य निर्धारक पनि हुन्।कर्मचारीतन्त्रकै योगदानबाट मुलुकले समृद्धि र सुशासन हासिल गरेका र सामाजिक परिवर्तनमा फड्को मारेको तथा कमजोर कर्मचारीतन्त्रकै कारण मुलुक अविकासको भुमरीमा परेको दुवै दृष्‍टान्त पाइन्छ।

     नेपालको अविकास र कमजोर सुशासनका धेरै कारणहरू मध्ये कर्मचारीतन्त्रलाई पनि लिने गरेको पाइन्छ।यसैका आधारमा कर्मचारीतन्त्र विगतदेखि नै आलोचित छ।मुख्य गरी विकासको सुस्त गति, मौलाउँदो सँस्थागत भ्रष्टाचार, सामाजिक-सांस्कृतिक विचलन र कमजोर सुशासनका विषयमा कर्माचारीतन्त्र आलोचित हुने गरेको छ। पछिल्लो समयमा खास गरी संघीयताको कार्यान्वयनको विषयमा पनि कर्मचारीतन्त्रप्रति आरोप लाग्न थालेको छ।

नागरीक र राजनीति दुवै पक्षबाट कर्मचारीतन्त्रको प्रणाली, संस्कृति र दक्षतामा अविश्‍वास र आशंका बढ्दो छ।नेपालको कर्मचारीतन्त्रमा समकालीन समाजका योग्य व्यक्तिहरू एउटा निश्‍चित बिधि र प्रकृयाबाट सम्मिलित छन् जसले देशको सामाजिक र आर्थिक विकास प्रकृयामा योगदान पुर्‍याउँदै आएका छन्।तर कर्मचारीको योगदानप्रति नागरीकहरूको सन्तुष्टि भन्दा असन्तुष्टि बढ्दो छ।राजनिति र नागरीक दुबैसँग कर्मचारीतन्त्रको सम्वन्ध बिग्रँदो छ।

     कर्मचारीतन्त्रले राजनीति र नागरीक दुवैसँग अन्तरकृया गर्नुपर्ने हुन्छ।सार्वजनिक नीति र सेवाको ढाँचाका सम्वन्धमा राजनीतिक समुदायसँग कर्मचारीतन्त्रको प्रत्यक्ष सम्बन्ध रहन्छ भने नीति कार्यान्वयन र सेवा प्रवाहको विषयमा नागरीकसँग जोडिएको हुन्छ।नेपालको राजनीतिक परिवर्तनमा कर्मचारीतन्त्रको सकारात्मक योगदान रहेको छ भनेर राजनीतिज्ञहरूले खुलेरै यसको प्रशंसा गरेका पनि छन्।तर, जव सुशासनको कुरा आउँछ राजनीति र प्रशासनवीच आरोप प्रत्यारोप शुरू हुन्छ।राजनैतिक विकास र परिवर्तनको प्रकृयामा सकारात्मक योगदान हुँदाहुँदैपनि कर्मचारीतन्त्रले राजनीतिक विश्‍वास आर्जन गर्न र बलियो राजनीतिक सम्बन्ध कायम गर्न नसकेको अवस्था छ।

     त्यसै गरी कर्मचारीहरूले नेपालको ग्रामीण, दूर्गम र विकट क्षेत्रमा पुगेर बिपन्‍न समुदायकै हित, कल्याण र विकासका पक्षमा काम गरेको भनेर नागरीक अभिनन्दन पनि पाएका छन्।तर, जब सेवा प्रवाहको कुरा आउँछ फेरी नागरीक र कर्मचारीबीच दोषारोपण हुनथाल्छ। ग्रामीण, विपन्‍न, कमजोर र बन्चितीकरणमा रहेका समुदायमै बसेर काम गर्दा पनि कर्मचारीतन्त्रले नागरीकको भरोसा बढाउन र नागरीकसँगको सन्‍निकटतालाई उचाईमा पुर्‍याउन सकेको देखिदैन।

    कर्मचारीतन्त्रको यो अवस्था हुनुमा धेरै पक्षहरू जिम्मेवार देखिन्छन्।पहिलो कारण दक्षता हो।निश्‍चय नै, कर्मचारीतन्त्रमा आबद्ध सबै योग्य छन तर योग्य हुनु भनेको दक्ष हुनु होइन।कर्मचारीतन्त्रका सबै सदश्यहरू बहुबिधामा दक्ष हुनु पर्छ।किनभने कर्मचारीतन्त्रले बहुआयामिक भुमिका निर्वाह गर्नु पर्नेहुन्छ।बहुआयामिक भूमिका निर्वाह गर्नुपर्ने व्यक्तिको दक्षता विकासमा ध्यान नदिएकै कारण अहिलेको अवस्था सृजना भएको देखिन्छ।

अप्रजान्त्रिक कार्यप्रणाली दोस्रो कारण हो।कर्मचारीतन्त्रभित्रै विभेद छ र यसका सांगठनिक व्यवहारहरू अनुमानयोग्य छैनन्।कार्यप्रणाली परम्परागत छ। बैज्ञानिक र बस्तुनिष्ठ कार्यप्रणालीमा विश्‍वास कम त छ नै यसको प्रयोगका लागी आवश्यक सीपको पनि अभाव छ जसका कारण नागरीक अन्तरकृया र अन्तरसम्बन्ध कमजोर हुन पुगेको छ। कर्मचारीतन्त्रको संस्थागत सुदृढीकरणमा नेतृत्वको उदासिनता अर्को कारण हो।उच्च राजनीतिक र प्रशासनिक नेतृत्वले समूह, प्रणाली र संस्था भन्दा व्यक्तिलाई महत्व दिन्छन् र सामूहिक अन्तरकृयालाई बेवास्ता गर्छन्।

संस्थागत सम्झना प्रणाली कमजोर छ र सामूहिक कार्यको प्रबर्धन गरिदैंन।नेतृत्वले कर्मचारीतन्त्रको व्यावहारीक सुधारमा खासै चासो र चिन्तन नराखेको कारण नागरीक र राजनीति दुवैसँग कर्मचारीतन्त्रको संस्थागत अन्तरकृया प्रभावकारी हुन सकेको देखिदैन।कर्मचारीको खस्किंदो साखमा अनावश्यक राजनीतिक हस्तक्षेप पनि जिम्मेवार छ।कर्मचारीतन्त्रको प्रणाली र नीतिगत बिषयमा बेवास्ता गर्ने तर प्रशासनिक विषयमा हस्तक्षेप गर्ने राजनीतिक प्रवृत्‍तिले कर्मचारीको कार्यसम्पादनमा असर गरेको छ।

यसले एकातिर असल कर्मचारीको मनोवल कमजोर गरेको छ भने अर्कोतिर खराव कर्मचारीहरूको राजनीतिक संरक्षण भएको छ।कर्मचारीहरूवीच हुने आन्तरिक द्वन्दले कर्मचारीतन्त्रको बाह्य सम्बन्ध प्रभावित भएको छ।नियमित र प्रभावकारी नागरीक खवरदारीको कमीका कारणले पनि नागरीक-कर्मचारीबीचको अन्तर्कृया र सम्बन्ध कमजोर भएको छ।नागरीकले कर्मचारीसँगको अन्तर्कृयालाई बेवास्ता गर्ने र कर्मचारीले नागरीकसँगको अन्तर्कृयालाई उपेक्षा गर्ने गरेका कारण कर्मचारीतन्त्र र नागरीक समाजबीचको संचार र सहकार्य हुन सकेको छैन। कर्मचारीतन्त्रले सामाजिक उत्‍तरदायित्वलाई प्रभावकारी रूपमा निर्वाह नगरेका कारण पनि नागरिक सम्बन्धलाई गहिरो र फराकिलो बनाउन सकिएको छैन।

     मुलुक राजनितिक स्थिरता मार्फत आर्थिक विकासको मार्गमा छ।सरकारले समृद्ध नेपाल: सुखी नेपाली”को अभियानमार्फत समुन्‍नत नेपाल निर्माणको प्रतिबद्धता पूरा गर्नु पर्ने छ।तिब्र आर्थिक विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरण, सामाजिक न्याय, सुशासन र दिगो शान्ति स्थापना अहिलेका प्रमुख कार्यभार हुन्।यी कार्यभार पूरा गरी नेपाली समाजको जीवनस्तर सुधार गर्न कर्मचारीतन्त्रको अहम् भूमिका रहेको निर्विवाद छ।

विद्यमान अवस्था, सामाजिक-सांस्कृतिक पर्यावरण र कर्मचारीतन्त्रको बाह्‍य अन्तरसम्बन्धका आधारमा कर्मचारीतन्त्रले अहिलेकै अवस्था, प्रणाली र व्यवहारले परिवर्तित चुनौति सामना गरी आफूलाई प्राप्‍त भूमिका र जिम्मेवारी पूरा गर्नेमा पर्याप्‍त आशंका छन्।

कर्मचारीतन्त्रको सामान्य सुधारले वदलिँदो परिवेशका चुनौतिहरूको सम्बोधन र यसको खस्किएको साख उठाउन सक्ने देखिदैंन।कर्मचारीतन्त्रको साख उच्च राख्‍न, मुलुकको विकास प्रकृयालाई व्यवस्थित र प्रभावकारी बनाई समृद्धि प्राप्‍त गर्न कर्मचारीतन्त्रको रूपान्तरण गर्नु अपरिहार्य देखिन्छ।

     कर्मचारीतन्त्रको रूपान्तरण त्यति सहज भने देखिदैन।लामो अभ्यास र प्रणालीबद्ध रूपमा संस्थागत भएको कर्मचारीको व्यवहारको रूपान्तरण चुनौतिपूर्ण छ।मानिसको सोचमा परिवर्तन ल्याई नयाँ मुल्य, मान्यता र आचरणको स्थापनाद्वारा प्रणालीको परिवर्तन गर्नु सजिलो कार्य नभए पनि असम्भव भने छैन।परिवर्तनले अपेक्षा गरेका व्यवहारको विकास र अभ्यासबाट मात्रै परिवर्तनलाई व्यवस्थापन गर्न सकिन्छ।

ठूला र असम्भव प्राय: भनिने परिवर्तन सहजै हुने तर व्यवस्थापन गर्ने कार्यमा अपेक्षित उपलब्धि नभएका कारण संक्रमणकाल लम्बिन गई थप जटिलता आएको हाम्रो आफ्नै अनुभव छ।तसर्थ, समयमै कर्मचारीतन्त्रको रूपान्तरण गरी रूपान्तरित कर्मचारीहरू मार्फत संघीय शासन प्रणालीको विकासमा सघाउ पुर्‍याउन सके कर्मचारीतन्त्रको गिर्दो साखलाई माथि उठाउन सकिन्छ।

     कर्मचारीहरूको मानसिकतामा परिवर्तन कर्मचारीतन्त्र रूपान्तरणको पहिलो र आधारभूत कार्य हो।परम्परागत शासन प्रणालीको मान्यता अनुरूप कर्मचारीले आफूलाई शासक सम्झने मानसिकता हटाउनु जरूरी छ।अहिलेका नागरिकहरू सरकारबाट शासन भन्दा सहजीकरण खोज्छन्।त्यसैले कर्मचारीले आफू सहजकर्ता मात्र भएको मान्यता आत्मसात गर्नुपर्छ।

नेपालको सामाजिक संरचना विविधतामा आधारित छ जसले विविधताको सम्मान गर्ने कर्मचारीको अपेक्षा गरेको छ।विविधतामा आधारित कर्मचारीतन्त्र र विविधतामा आधारित सेवा प्रवाह अहिलेको आवश्यकता हो। कर्मचारीतन्त्रले आन्तरिक र बाह्‍य विविधताको सम्मान गर्ने प्रणालीको विकास र अबलम्वन गर्नु पर्छ।कर्मचारीतन्त्रको स्वरूप, संरचना र प्रणालीमै समस्या भएकोले यसको स्वरूप र संरचनामा समेत पुनरावलोकन जरूरी देखिन्छ।

     कर्मचारीतन्त्रको रूपान्तरणका लागी उसको दक्षता बढाउनु जरूरी छ।निजामती सेवा पुनर्संरचना भइरहेको वर्तमान परिप्रेक्षमा दक्षतालाई पुनर्संरचनाको प्रमुख आधार बनाइनु पर्छ।विद्यमान कर्मचारीको दक्षताको नियमित परीक्षण गर्ने र निर्धारित दक्षता हाँसिल नगर्ने कर्मचारीलाई वैकल्पिक व्यवस्था गर्दा उपयुक्त हुन्छ।आफैमा समावेशी र समन्यायीक चरित्र नभएको कर्मचारीतन्त्रले सामाजिक न्यायमा आधारित समावेशी र समतामूलक समाजको स्थापनामा उल्लेख्य योगदान दिन सक्दैन।तसर्थ कर्मचारीतन्त्र भित्रको विभेदलाई हटाई प्रत्यक्ष सहभागितामा आधारित कार्य प्रणालीको विकास गरेमा आन्तरिक र बाह्‍य सम्बन्ध विस्तारमा टेवा पुग्छ।

     मुलुकको राजनैतिक परिवर्तन कर्मचारीतन्त्र स्वयंका लागी पनि अवसर हो।आफ्नो दक्षता स्थापित गर्न, आफ्नो भूमिका र महत्वलाई विस्तार गर्न, राजनीति र नागरीकवीचको सम्वन्धलाई पुनपरिभाषित गरी दुवैपक्षसँग सन्तुलित र न्यायिक सहकार्यको वातावरण तयार गर्न यो उपयुक्त समय पनि हो।तत्कालीन लाभ भन्दा दीर्लकालीन असर र प्रभावलाई केन्द्रमा राखी कर्मचारीतन्त्रले आफ्ना सदश्य र संगठन दुवैको गरिमालाई थप उचाइमा पुर्‍याउने र यसलाई सम्मानित पेशाको रूपमा स्थापित गराउने कार्यमा कृयाशील हुनु पर्छ।

राज्यको स्रोत, साधन, र अधिकारको प्रयोगको महत्वपूर्ण जिम्मेवारी पाएको कर्मचारीतन्त्र आत्मकेन्द्रित मात्र भएमा यसले मुलुक र कर्मचारीतन्त्र दुवैलाई नकारात्मक प्रभाव पार्ने देखिन्छ।तसर्थ, कर्मचारीतन्त्र स्वयं आफ्नो रूपान्तरणका लागी मानसिक रूपमा तयारी हुनु अहिलेको आवश्यकता र अपरिहार्यता दुवै हो।राजनीतिले पनि दक्षता र विज्ञतामा आधारित कर्मचारीतन्त्र विना आफ्ना प्रतिबद्धता पूरा गर्न नसकिने यथार्थलाई आत्मसात गरी आफूलाई कर्मचारीतन्त्रको उत्प्रेरक संयन्त्रको रूपमा स्थापित गर्नु अहिलको आवश्यकता हो।मुलुकको समृद्धि विकास गरी सबै नेपालीको मुहारमा खुशी ल्याउने अभियान सफल बनाउन कर्मचारीतन्त्रको रूपान्तरणको विकल्प देखिदैन।तर, कर्मचारीतन्त्रको रूपान्तरण भने स्वयं कर्मचारीतन्त्रको उच्च व्यवस्थापकीय नेतृत्व र राजनीतिक नेतृत्‍वको इच्छा शक्तिमा निर्भर रहेको छ।

प्रतिक्रिया दिनुहोस्