Logo

Hello NEw

सफल तथा व्यावसायिक टिमका लागि ‘नौ’ थरी भूमिका



एक सफल तथा व्यावसायिक टिमका लागि बेलबिन भन्ने विद्वान्ले नौ प्रकारका भूमिका बताएका छन् । तिनलाई यसप्रकार विभाजन गर्न सकिन्छ: 

क. जनकेन्द्रित भूमिका : यसअन्तर्गत तीनवटा भूमिका रहेका छन् : १. समन्वयकर्ता, २. टिम कार्यकर्ता, ३.स्रोतको खोजकर्ता । 

ख. ज्ञानकेन्द्रित भूमिका : यसअन्तर्गत तीनवटा भूमिका छन् : १ . सृष्टिकर्ता वा खोजकर्ता, २. अनुगमनकर्ता वा मूल्यांकनकर्ता, ३. विशेषज्ञ ।

ग. कार्यमुखी भूमिका : १. रूपदाता, २. कार्यान्वयनकर्ता, ३. समापनकर्ता । 

टिममा रहेका यी नौवटा भूमिकालाई संक्षिप्त व्याख्या गर्दा:

१. समन्वयकर्ता परिपक्व तथा दृढ व्यक्ति हुने गर्छ । उसले अध्यक्ष अथवा नेताका रूपमा बैठकको टेबलमा आफ्ना अनुभव प्रस्तुत गर्ने गर्छ । समन्वयकर्ताले लक्ष्य प्रस्ट पार्ने, निर्णय गर्न प्रोत्साहित गर्ने, कार्यहरू प्रत्यायोजित गर्नेजस्ता कार्य गर्छ । तर, कहिलेकाहीँ समन्वयकर्तामा हाकिमी पारा देखिने गर्छ ।

२. टिम कार्यकर्ता सहकार्य गर्छन्, यिनीहरू नरम ग्रहणशील र कूटनीतिक प्रकृतिका हुन्छन् । यिनले सबैसँग सजिलै मित्रता गाँस्न सक्छन् । टिम कार्यकर्ताले सुन्ने कार्य गर्दै द्वन्द्व र असहज अवस्थालाई निस्तेज पार्न सक्छन् । 

३. स्रोतको खोजकर्ता ः यिनीहरू उत्साहप्रेरित र बहिर्मुखी हुन्छन् । अवसरवादी र आशावादी यिनका लक्षण हुन् । यिनीहरू कुनै पनि विषयमा थोरै मात्र चासो देखाउने र शीघ्र रूचि फेर्ने खालका हुन्छन् ।

. सृष्टिकर्ता वा खोजकर्ताहरू सिर्जनशील र कल्पनाशील हुन्छन् । यिनीहरू विवेकी र बुद्धिमान् हुन्छन् । नवीन र फरक धारका विचारले समस्याको निकास निकाल्न सक्षम रहन्छन् । यिनले झिनामसिना कुरा वास्ता गर्दैनन् । 

५.अनुगमनकर्ता मूल्यांकनकर्ताहरूले क्रियाकलापको मूल्यांकन रणनीति बनाउँछन् । उनीहरू संवेदनशील हुन्छन्, तर सही निर्णय गर्न सक्षम हुन्छन् । भइरहेको प्रगतिको कुशल अवलोकन गर्छन् । सबै खालका सम्भावना हेरेर सही निर्णय गर्छन् । कुनै कमीकमजोरी छ भने त्यसलाई सच्याउन अरूलाई प्रोत्साहित गर्छन् । 

६. विशेषज्ञ एकल राख्ने, आफैँ सुरुवात गर्ने र कामप्रति पूर्ण लगाव भएका व्यक्तिहरू हुन् । यिनले विशेष खालको जानकारी तथा सीप हासिल गरेका हुन्छन् । प्राविधिक पक्षमा आइपर्ने आवश्यकता यिनले पूरा गर्न सफल हुन्छन् । 

७. रूपदाता गतिशील, दबाब झेल्ने र चुनौतीपूर्ण कार्य गर्ने खालका हुन्छन् । यिनीहरू बाधाबाट माथि आउन सक्ने र साहसले ओतप्रोत हुन्छन् । कुनै खराब देख्न नसक्ने र सुन्न पनि नसक्ने खालका हुन्छन् । यिनले मानिसलाई गलत बाटोबाट सहीतर्फ डोर्‍याउन भरमग्दुर प्रयास गर्छन् । 

८. कार्यान्वयनकर्ता अनुशासित, विश्वसनीय, केही पुरानो सोच राख्ने र क्षमतावान् मानिसहरू हुन्छन् । यिनले विचारलाई व्यावहारिक क्रियाकलापमा ढाल्न जानेका हुन्छन् । कुनै कार्य गर्दा यिनीहरू आफ्नो योजनाभन्दा बाहिर जान खोज्दैनन् । त्यसकारण यी केही हठी प्रवृत्तिका पनि मानिन्छन् । 

९. समापनकर्ताहरू मिहीन तरिकाले कार्य गर्ने, सूक्ष्म विश्लेषण गर्ने, समयका पाबन्दी, आफ्नो कार्य–धर्म राम्ररी निभाउने र आफूले सम्पन्न गरेको कार्यको पूर्णता सुनिश्चित गर्ने खालका हुन्छन् । यिनीहरू आफ्ना कार्य समयमा सम्पन्न गर्छन्, तर कहिलेकाहीँ बढी चिन्ता गर्न पुग्छन् । यिनीहरू अरूलाई काम प्रत्यायोजित गर्न हिच्किचाउँछन् । कामको पूर्णता अरूले बुझ्दैनन् भन्ने यिनीहरूको ठम्याइ हुन्छ ।

संगठनमा बन्ने टिमका सदस्यहरूबारे बेलबिनको यो मोडेलअनुसारको भूमिका मिलान त्यतिखेर उपयोगी हुन्छ, जतिवेला विशेष प्रकारका भूमिकाहरूलाई मिलाएर कुनै टिमको कार्यलाई प्रभावकारी बनाउनुपर्ने हुन्छ । यस मोडेलअनुसार कार्य गर्नुभन्दा पहिला यो तय हुनुपर्छ कि कुन सदस्यले कुन खालको भूमिका राम्ररी निभाउन सक्छ । यस्तो मूल्यांकनले सदस्यहरूलाई आफ्ना र अरूका बलिया र कमजोर पक्षबारे जानकारी पनि दिन्छ । यसले सुधारका लागि सहज हुन्छ र टिममा थप एक–अर्काको सहयोगीका रूपमा प्रकट हुन मद्दत पुग्छ ।


यो कसरी गर्ने ?

  • तेस्रो पक्षको निगरानीमा स्वमूल्यांकनका विधि प्रयोग गरी मूल्यांकन गरेर ।
  • कुनै सानो काम वा गेम खेलेर पनि टिमको कार्य मूल्यांकन गर्न सकिन्छ ।
  • कुनै मेन्टर वा गुरुको सहायताले मूल्यांकन गरेर ।

प्रत्येक टिम सदस्यको पूर्ण प्रोफाइल अध्ययन गरी तोकेको भूमिका निभाउने क्षमता पहिचान गरी एक वा बढी भूमिका दिन सकिन्छ । कुन शैलीमा काम गर्दा टिमले बढी प्रभावकारी नतिजा दिन सक्छ, यस मोडेलद्वारा व्यवस्थापनले आकलन गर्न सक्छ । तथापि, टिममा कार्य गर्दा उत्पन्न हुने गतिशीलतातर्फ विशेष ध्यान दिन आवश्यक हुन्छ । साथै, टिममा एकभन्दा बढी व्यक्तिलाई समान किसिमको तर द्वन्द्व सिर्जना हुने खालको भूमिका दिँदा अप्ठ्यारो आउन सक्ने कुरा पनि ध्यान दिनुपर्छ । कहिलेकाहीँ कसैसँग अपेक्षा नै नगरिएको भूमिका माग हुँदा आपत्कालमा त्यस्तो भूमिका निभाई टिमलाई उकास्न सक्ने व्यक्ति पनि प्रकट हुने गर्छन् भन्ने कुरालाई भने यस मोडेलले ध्यान दिएको छैन । 

नेपालको सार्वजनिक प्रशासनमा टिम बनाएर कार्य गर्ने गरेका उदाहरण प्रशस्त देखिन्छन् । समिति, कार्यदल, आयोग आदि बनाएर यो अभ्यास धेरैतिर गरिएको छ । तथापि, यसको अझ प्रभावकारी प्रयोगले सांगठनिक समस्याहरूको विश्लेषण गरी सही हल खोज्न सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्