Hello NEw
गृहका हरेक कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता
काठमाडौ २ साउन । नयाँ आर्थिक बर्षसँगै गृह मन्त्रालयले मन्त्रालय र मन्त्रालय अन्तरगतका विभागका अधिकृत तहसम्मका हरेक कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।
कर्मचारीलाई जवाफदेही र परिणाममुखी बनाउन मन्त्रालयले करार सम्झौता सुरु गरेको हो । मन्त्रालयले हरेक कर्मचारीलाई प्रत्येक दिन आफुले गरेको कामको विवरण भर्न कर्मचारी दैनिकी पुस्तिका डायरी उपलब्ध गराएको छ । त्यो डायरी हरेक तीन महिनामा प्रत्येक कर्मचारीले आफ्नो हाकीमलाई दिनुपर्नेछ । डायरीमा प्रत्येक दिन आफुले सम्पादन गरेको प्रमुख काम र परिणाम हुनुपर्नेछ ।
कार्यसम्पादन करार सम्झौता नहुँदा कर्मचारी कामप्रति जवाफदेहि नहुने, फाइल हराउने, लुकाउने जस्ता समस्या बढ्दै गएपछि करार सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । करार सम्झौतासँग कामको गुणस्तरमा वृद्धि हुने मन्त्रालयको विस्वास छ । मन्त्रालयले आन्तरिक रुपमा सचिवले सहसचिवहरुसँग, सहसचिवहरुले आफु अन्तरगतका उपसचिवहरुसँग र उपसचिवहरुले अन्तरगतका शाखा अधिकृतसँग कार्यसम्पादन करार गरेका हुन् ।
मन्त्रालयले कर्मचारीलाई उपलब्ध गराएको कार्यालय समयमा कार्यालय बाहिर निस्कनु परेमा बाहिर निस्किएको समय, कार्यालय फर्किएको समय र के कामको लागि बाहिर निस्किएको हो भन्ने खुलाउनु पर्नेछ । मन्त्रालयले कर्मचारीले आफैँ भरेको कामको सुचकको आधारमा कार्यसम्पादन मुल्यांकन अंक पाउने जनाएको छ ।
