Hello NEw
अनुगमन र मूल्याङ्कनको अर्थ, भिन्नता र उद्धेश्य
अनुगमन

योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूमा भौतिक, आर्थिक, मानवीय, प्राविधिक र सूचना श्रोत र साधनको परिचालन र उपयोग समुचित ढंगले भएको छ/छैन र कार्य योजना एवं कार्य तालिका अनुसार क्रियाकलापहरूको कार्यान्वयन भई लक्षित प्रतिफल र अपेक्षित प्रभाव वा असर प्राप्त भएको छ \ छैन भनी विभिन्न तहका व्यवस्थापन वा व्यवस्थापनले तोकेको व्यक्ति तथा निकायबाट निरन्तर वा आवधिक रूपमा तथ्यपरक रुपमा निगरानी राख्ने, अभिलेखांकन गर्ने र संचार गर्ने कार्य अनुगमन हो ।
अनुगमनका क्रममा योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूमा निम्न कुराहरूको विश्लेषण गरिन्छ :
(क) स्रोत साधनको प्राप्ति र प्रयोग स्वीकृत बजेट र समय तालिका अनुसार भएको छ / छैन ?
(ख) अपेक्षित प्रतिफलहरू समयमै र लागत– प्रभावकारी रूपमा हासिल भएका छन् / छैनन् ?
(ग) कार्यान्वयन क्षमता के–कस्तो छ ?
(घ) के–कस्ता समस्या र बाधा व्यवधानहरू देखिएका छन् र तिनको समाधानका निम्ति के–कस्ता उपायहरू अवलम्बन गर्नुपर्छ ?
(ङ) जिम्मेवार पक्षले क्षमता र गुणस्तरमा सम्झौता गरेको छ कि छैन र त्यसका कारण लक्ष्य प्रभावित भएको छ वा छैन ?
अनुगमनका क्रममा उपर्युक्त पक्षहरूको बारेमा नियमित, व्यवस्थित र समयबद्धरूपमा तथ्याङ्क / विवरणहरू संकलन, प्रशोधन र प्रतिवेदन गर्ने कार्य गरिन्छ । यसबाट समयमै समस्या पहिचान गरी समाधान गर्न महत्व पूर्ण सहयोग पुग्दछ ।
मूल्याङ्कन
कार्यान्वयन गरिएका योजना, नीति, कार्यक्रम तथा आयोजनाहरू हालको समयमा के–कति सान्दर्भिक, लाभदायी प्रभावकारी छन, तथा के–कस्ता उपलव्धि एवं प्रभावहरू हासिल भएका छन् भन्ने कुराको आन्तरिक र बाह्य मूल्याङ्कनकर्ताबाट उद्देश्यपूर्ण र व्यवस्थित तरिकाले लेखाजोखा गर्ने कार्य मूल्याङ्कन हो ।
योजना, नीति, कार्यक्रम तथा आयोजना कार्यान्वयनका क्रममा भएका सबल तथा दुर्बल पक्षहरूबाट पाठ सिकी भावी योजना, नीति, कार्यक्रम तथा आयोजनाहरू तर्जुमा तथा कार्यान्वयनमा आवश्यक सुधार गर्नु तथा सम्वन्धित निकाय / पदाधिकारी लाई त्यस्ता योजना, नीति, कार्यक्रम / आयोजनाहरूको कार्यान्वयन र नतिजाप्रति जवाफदेही बनाउनु मूल्याङ्कनको उद्देश्य हो ।
अनुगमन तथा मूल्याङ्कन बीचको भिन्नता
अनुगमन तथा मूल्याङ्कन एक अर्कासँग अन्योन्याश्रित छन् । अनुगमन तथा मूल्याङ्कन एउटा व्यवस्थापकीय पद्धति तथा औजार हो जसले योजना, नीति, कार्यक्रम तथा आयोजनाहरूको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण सहयोग पु¥याउँदछ । तर अनुगमन तथा मूल्याङ्कन एउटै विषय भने होइनन् । यिनका आफ्नै विशेषता र विशिष्टताहरू छन् जसलाई निम्नानुसार फरक छुट्ट्याउन सकिन्छ :
अनुगमन तथा मूल्याङ्कनबीच फरक
अनुगमन
– कार्यान्वयन अवधिभर निरन्तर गरिने योजनाको एक प्रक्रिया, हो जसलाई आयोजनाको एउटा आन्तरिक कार्यको रुपमा पनि लिइन्छ ।
– निर्माण चरण र सञ्चालनका अवस्थामा निर्माण चरण र सञ्चालन चरणमा आवश्यक सुधार गर्ने देखिएका तथा कमीकमजोरीहरुलाई सुधार गर्ने संस्थागत प्रक्रिया हो ।
– लगानी, प्रक्रिया र प्रतिफलसँग प्रत्यक्ष रुपमा सम्बन्धित हुन्छ ।
– विकास व्यवस्थापन प्रणालीको एउटा अङ्ग पनि हो ।
– साधारणतया कार्यान्वयन गर्ने निकायबाट गरिन्छ ।
मूल्यांकन
– विभिन्न चरणमा गरिने योजना प्रक्रिया हो । जस्तैः पूर्वमूल्याङ्कन, चालू मूल्याङ्कन , अन्तिम वा सम्पन्न मूल्याङ्कन, र कार्यक्रम पछिको मूल्याङ्कन ।
– कार्यान्वयनका क्रममा भएका कमी कमजोरीहरुबाट पाठ सिकी भविष्यमा त्यस्तै योजना, नीति कार्यक्रम तथा आयोजनाहरुमा सुधार गर्ने साधान हो ।
– पूर्वनिर्धारित लक्ष्य र उपलब्धिको स्थिति तथा प्रभावको अध्ययनसँग सम्बन्धित छ ।
– गरिएका योजना, कार्यान्वयन नीति, कार्यक्रम तथा पाठ सिक्ने कार्यमुखी विकास आयोजनाबाट व्यवस्थापकीय औजार हो ।
– साधारणतया कार्यान्वयन गर्ने निकायभन्दा बाहिरका स्वतन्त्र व्यक्ति तथा संस्थाहरुबाट गराइन्छ ।
विभिन्न प्रकारका अनुगमन तथा मूल्याङ्कनका उदेश्यहरु
१. निरन्तर अनुगमन – कार्यक्रम / आयोजना कार्यान्वयन चरणमा लगानी, क्रियाकलाप, प्रक्रिया र प्रतिफल सूचकहरूको आधारमा कार्यसम्पादन भए नभएको निर्धारण गर्न ।
२. दीगोपना अनुगमन – कार्यक्रम / आयोजनाको कार्यान्वयन चरण सम्पन्न भएपछि उक्त कार्यक्रम / आयोजनाको निर्धारित आयुसम्म निरन्तर सञ्चालनको लागि आवश्यक पर्ने स्रोत साधन तथा मर्मत–सम्भार निश्चित गर्न ।
३. पूर्वमूल्याङ्कन – कार्यक्रम – आयोजनाको आवश्यकता तथा सुनिश्चितता निर्धारण गर्न, कार्यक्रम / आयोजनाको पूर्ण विवरण स्पष्ट गर्न र सूचकहरू निर्धारण गर्न ।
४. चालूमूल्याङ्कन – कार्यक्रम / आयोजनाको प्रगतिको समीक्षा गर्न, पूर्वनिर्धारित कार्ययोजनामा परिमार्जन गर्न वा सञ्चालन ढाँचामा आवश्यक परिवर्तन गर्न ।
५. अन्तिम मूल्याङ्कन – आयोजनाको कार्यक्षमता, प्रभावकारिता र दिगोपनालाई ध्यानमा राखेर समीक्षा गर्न, कार्यक्रम / आयोजना सम्पन्न भएपछि थप कार्य आवश्यक रहेका वा नरहेको निक्र्यौल गर्न ।
६. प्रभाव मूल्याङ्कन – कार्यक्रम / आयोजनाको प्रभाव र दिगोपनालाई ध्यानमा राखेर समीक्षा गर्न, भविष्यमा कार्यक्रम / आयोजनाको तर्जुमा र कार्यान्वयन गर्दा सुधार गर्नका लागि सिकाइ र सुझावहरू प्राप्त गर्न ।
