Hello NEw
साँखु मालपोत कार्यालय आधुनिक तथा सुबिधासम्म घोषणा
काठमाडौं, १३ साउन । मालपोत कार्यालय साँखुलाई आधुनिक तथा सुबिधासम्पन्न कार्यालय घोषणा गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आज सोमबार एक कार्यक्रमकाबीच साँखु मालपोत कार्यालयलाई नमुना कार्यालय घोषणा गर्नुभएको हो ।
कार्यालयलाई नमुना तथा आधुनिक घोषणा गर्दै मन्त्री अर्यालले मन्त्री, सचिव र विभागको निर्देशनमा काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । अहिले मन्त्रालय समग्र भूमि प्रशासनलाई व्यवस्थित गर्न लागिरहेको भन्दै त्यो स्पिडमा कर्मचारी तथा समग्र सेवाग्राहीले साथ दिनुपर्ने आग्रह गर्नुभयो । ‘तपाईं कर्मचारीहरू मन्त्री, सचिव, विभागको स्पिडमा हिड्नुस। कार्यालय र सेवालाई नमुना बनाउन तपाई कार्यालय प्रमुख र कर्मचारीहरु प्रतिस्पर्धात्मक तरिकाले लाग्नुस’, मन्त्री अर्यालले भन्नुभयो ।
त्यस अवसरमा मन्त्री अर्यालले नमुना कार्यालयको रूपमा विकास गरिएको मालपोत कार्यालय साँखु र आधुनिकीकरण गरिएको नापी कार्यालय साँखुको अनुगमन निरिक्षण समेत गर्नुभएको थियो । त्यस अवसरमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले मन्त्रालयले थालेको सिस्टमलाई फेल गर्नेगरी जान कुनैपनि कर्मचारीलाई छुट नभएको उहाँले बताउनुभयो ।
भूमि मन्त्रालय अन्तर्गत सुशासनको विषयलाई लिएर केही समस्या रहेको भन्दै मन्त्री अर्यालले सरकारले चालेको शुद्धताको अभियानलाई सबैले सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । ‘सरकारले शुद्धताको अभियान सञ्चालन गरिरहेको छ । यसमा तपाई सेवाग्राही, कर्मचारी सबैले साथ दिनुस । हिजो जे भयो अब सुधार गर्नेगरी जाउ’, मन्त्री अर्यालले भन्नुभयो ।
