Hello NEw
संघीय मामिलाले स्थानीय तहलाई भन्यो– कर्मचारी पद सुरक्षित राख्नू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूले माग गरे अनुसार कर्मचारीका पद सुरक्षित राख्न स्थानीय तहहरूलाई आग्रह गरेको छ । स्थानीय तहबाट प्राप्त विवरणका आधारमा लोकसेवा आयोगबाट परीक्षा लिई स्थायी दरबन्दीमा कर्मचारी पठाउने तयारी भएका बेला पद रिक्त नरहेको भन्ने पत्र स्थानीय तहबाट मन्त्रालयमा आएपछि पद सुरक्षित राख्न मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ बमोजिम मन्त्रालयबाट अनुरोधपछि कर्मचारी विज्ञापन भएको र सोही सेवा समूह तथा तहका पदमा सिफारिस भई आएकालाई स्थायी नियुक्ति दिनु पर्ने व्यवस्था भएकोले पद सुरक्षित राख्न आग्रह गरेको मन्त्रालयले जनाएको छ ।
सो ऐन बमोजिम लोक सेवा आयोगले स्थानीय तहका लागि गत जेठमा करिब नौ हजार कर्मचारी माग गर्दै विज्ञापन गरेको थियो । मन्त्रालयले सातै प्रदेशमा सम्पर्क अधिकृत तोकेर विवरण टिपाउनसमेत स्थानीय तहलाई भनेको छ । स्थानीय तहबाट विवरण संकलन गरेर मन्त्रालयले प्राविधिक र अप्राविधिकतर्फ चौथो, पाँचौं र छैटौं तहमा लोकसेवाबाट कर्मचारी लिएको थियो ।
स्थानीय तहहरूले प्रदेश लोक सेवा आयोग गठन भएको र आफूहरूले पनि कर्मचारी राख्न पाउनुपर्ने दाबी गर्दै पद रिक्त नरहेको उल्लेख गर्ने गरेका छन् । गत चैतमा सकिएको समायोजनबाट एक लाख ३१ हजार कर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिएको थियो । स्थानीय तहमा ६६ हजार नौ सय आठ दरबन्दी स्वीकृत भए पनि अहिले ५० हजार हाराहारीमा मात्रै कर्मचारी छन्।
