Hello NEw
अख्तियारद्धारा एकै साथ १३ जना अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता
अख्तियारद्धारा एकै साथ १३ जना अधिकृत विरुद्ध मुद्धा दर्ताअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धामा एकैसाथ १३ जना अधिकृतहरु विरुद्ध मुद्धा दर्ता गरेको छ ।
श्रम स्वीकृती दिन प्रतिवन्ध लगाएको मुलुकमा गैरकानुनी रुपमा घरेलु कामदार पठाउने मिलेमतोमा संलग्न भएको ठहर गर्दै अख्तियारले उनीहरु विरुद्ध मुद्धा दर्ता गरेको हो । अख्तियारले मुद्धा चलाएको अधिकृतहरुमा कमल प्रसाद पराजुली¸ मनहरी बराल, दिनेश के.एम., तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, जगदिशचन्द्र नेपाली, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाईँ छन् । यस्तै कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपाने विरुद्ध पनि सँगै मुद्धा दायर गरिएको छ ।
उनीहरुले मिलेमतोमा गैरकानुनी रुपमा नेपाली एयरपोर्ट प्रयोग गरेर पटक पटक गरि कम्तिमा २ सय ४८ जनालाई अध्यागन प्रस्थान अनुमति दिएको र उनीहरु विभिन्न मुलुकमा अलपत्र परेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
विचौलियाहरुसंग गैरकानूनी आर्थिक लाभ लिएर मिलेमतोमा ती अधिकृतहरुले गत साउन १५ गते मात्र २० जना महिलाहरुलाई एकैसाथ आवश्यक कागजात विनै अध्यागन प्रस्थान अनुमति दिएका थिए । अख्तियारले गरेको अनुसन्धानमा संकलित प्रमाण तथा तथ्यहरुले मुख्य आरोपी अधिकृत कमल प्रसाद पराजुली भएको भेटिएको अख्यियारले जनाएको छ । पराजुलीले प्रयोग गर्ने मोवाइल सम्पर्क नम्वरहरुको आधारमा उनीहरुले पटक पटक गरि २ सय ४८ जना व्यक्तिहरुलाई प्रस्थान अनुमति दिएको पाइएको हो, अख्तियारले जनाएको छ ।
प्रतिव्यक्ति दश हजार कमीशन
विचौलियाको सेटिङ्गमा प्रतिव्यक्ति दश हजारका दरले कमिशन लिई आरोपित अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल काठमाण्डौका अधिकृतहरुले २४ लाख ८० हजार बाँडिचुँडी लिएको अख्तियारले जनाएको छ । उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) द्वारा परिभाषित कसुर गरी मिलेमतोमा गलत लिखत श्रृजना हुने गरी अध्यागमन प्रस्थान अनुमति दिएर प्रस्थान अनुमति दिने अधिकारीको पहिचान समेत लोप हुने गरी अध्यागमन कार्यालयको अभिलेख समेत लोप गरेको छन् । उनीहरुले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ९ र दफा १२ समेतको कसुर गरी गैरकानूनी लाभ लिएको भन्दै २४ लाख ८० हजार वीगो सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (च) बमोजिम मुद्धा दर्ता गरेको हो । यस्तै अख्तियारले अन्य संलग्न देखिन सक्ने शंकास्पद व्यक्तिहरु उपर थप अनुसन्धान जारी राख्ने जनाएको छ ।
